ग्लोबल


ओमानको तेल भण्डारमा ड्रोन प्रहार, भीषण आगलागी

ओमानको तेल भण्डारमा ड्रोन प्रहार, भीषण आगलागी

नेपालखबर
फागुन २८, २०८२ बिहिबार ७:१०, काठमाडौँ

ओमानको दक्षिणी सहर सलालाह बन्दरगाहमा रहेको तेल भण्डारण ट्याङ्कहरूमा ड्रोन आक्रमण भएको छ।

ओमानको सरकारी सञ्चारमाध्यमका अनुसार ड्रोन आक्रमणपछि बन्दरगाहको इन्धन भण्डारण ट्याङ्कहरूमा आगो लागेको छ।

यद्यपि अहिलेसम्म कुनै हताहतको रिपोर्ट आएको छैन।

आक्रमणको पछाडि कसको हात छ भन्ने कुरा अझै स्पष्ट भएको छैन। समुद्री सुरक्षा कम्पनी एम्ब्रेयरले घटनामा बन्दरगाहमा रहेका कुनै पनि व्यापारिक जहाजलाई क्षति नभएको बताएको छ।

घटनापछि ओमानका सुल्तान हैथम बिन तारिक अल-सैदले इरानका राष्ट्रपति मसुद पेजेस्कियानसँग फोनमा कुरा गर्दै ओमानी भूभागमा भएका आक्रमणप्रति असन्तुष्टि जनाएका छन्।

उनले ओमानले आफ्नो सुरक्षा र स्थिरता कायम राख्न सबै आवश्यक कदम चाल्ने पनि बताएका छन्।

अमेरिका-इजरायले गत फेब्रुअरी २८ मा संयुक्त हवाई हमला गरी इरानका सर्वोच्च नेता अयातोल्लाह अली खामेनीको हत्या गरेयता हानाहान जारी छ। 

जवाफमा इरानले इजरायल र अमेरिकी अड्डा रहेका खाडीका देशमा ड्रोन/क्षेप्यास्त्र प्रहार गरिरहेको छ।

यसैबिच अमेरिका-इजरायको आक्रमणबाट अहिलेसम्म १ हजार ३०० भन्दा बढी मानिस मारिएको र ८ हजार घर ध्वस्त भएको इरानले बताएको छ। 

संयुक्त राष्ट्रसंघका लागि इरानका राजदूत अमिर सइद इरावनीका अनुसार देशका ९ हजार ६०० वटा आवासीय क्षेत्रमा आक्रमण गरिएको छ। हमलामा घर, बजार, अस्पताल, चिकित्सा केन्द्र र विद्यालय परेका छन्।

यस्तै इरानले आफूले पनि इजरायलका हाइफा, जेरुसेलम र तेल अभिभमा क्षेप्यास्त्र आक्रमण गरेको दाबी गरेको छ।

युद्धले अमेरिकी सेनालाई पनि असर गरेको छ। इरानको आक्रमणबाट अहिलेसम्म अमेरिकी सेनाका ७ जनाको मृत्यु र १४० जना घाइते भएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन्।

 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad