इरानको एक विद्यालयमा ‘गलत निसाना लागेका कारण’ टोमाहक क्षेप्यास्त्र खसेको र यसमा अमेरिका जिम्मेवार रहेको द न्युयोर्क टाइम्सले अमेरिकी अधिकारीलाई उद्धृत गरी बुधबार जनाएको छ।
उक्त पत्रिकाले २८ फेब्रुअरीमा इजरायलसँग मिलेर गरिएको संयुक्त आक्रमणको अनुसन्धान जारी रहेको तर यसमा अमेरिका जिम्मेवार रहेको प्रारम्भिक निष्कर्ष आएको उल्लेख गरेको हो।
'अमेरिकी सेनाले नजिकैको इरानी बेसमा आक्रमण गर्ने क्रममा पुरानो तथ्यांक प्रयोग गरेर लक्ष्य तय गरिएका कारण क्षेप्यास्त्र विद्यालय भवनमा परेको हो',रिपोर्टमा अमेरिकी अधिकारीहरूको भनाइ उल्लेख गरिएको छ।
यसै हप्ताको सुरुमा विद्यालय आक्रमणमा इरान नै जिम्मेवार हुन सक्ने अमेरिकाका राष्ट्रपति डोनल्ड ट्रम्पले बताएका थिए तर पछि अनुसन्धानले जे निष्कर्ष निकाल्छ, त्यो स्वीकार्ने भनेका थिए।
अमेरिका–इजरायलले संयुक्त रूपमा गरेको सुरुवाती आक्रमण इरानको दक्षिणी सहर मिनाबको प्राथमिक विद्यालयमा भएको थियो। उक्त घटनामा परी १५० भन्दा बढी व्यक्तिको मृत्यु भएको बताइएको छ।
अमेरिका-इजरायले गत फेब्रुअरी २८ मा संयुक्त हवाई हमला गरी इरानका सर्वोच्च नेता अयातोल्लाह अली खामेनीको हत्या गरेयता हानाहान जारी छ।
जवाफमा इरानले इजरायल र अमेरिकी अड्डा रहेका खाडीका देशमा ड्रोन/क्षेप्यास्त्र प्रहार गरिरहेको छ।
यसैबिच अमेरिका-इजरायको आक्रमणबाट अहिलेसम्म १ हजार ३०० भन्दा बढी मानिस मारिएको र ८ हजार घर ध्वस्त भएको इरानले बताएको छ।
संयुक्त राष्ट्रसंघका लागि इरानका राजदूत अमिर सइद इरावनीका अनुसार देशका ९ हजार ६०० वटा आवासीय क्षेत्रमा आक्रमण गरिएको छ। हमलामा घर, बजार, अस्पताल, चिकित्सा केन्द्र र विद्यालय परेका छन्।
यस्तै इरानले आफूले पनि इजरायलका हाइफा, जेरुसेलम र तेल अभिभमा क्षेप्यास्त्र आक्रमण गरेको दाबी गरेको छ।
युद्धले अमेरिकी सेनालाई पनि असर गरेको छ। इरानको आक्रमणबाट अहिलेसम्म अमेरिकी सेनाका ७ जनाको मृत्यु र १४० जना घाइते भएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन्।
Shares

प्रतिक्रिया