अमेरिकाको रक्षा मन्त्रालय पेन्टागनले गत फेब्रुअरी २८ मा इरानसँग युद्ध सुरु भएयता अहिलेसम्म १४० अमेरिकी सैनिक घाइते भएको बताएको छ।
पेन्टागनका प्रवक्ता सन पार्नेलले विज्ञप्ति जारी गरी धेरैजसो घाइतेलाई सामान्य चोट लागेको र १०८ सैनिक ड्युटीमा फर्किसकेको जानकारी गराएका छन्।
उनले भनेका छन्, ‘आठ सैनिक गम्भीर घाइते भएका छन् र उनीहरूलाई उन्नत उपचार सुविधा उपलब्ध गराइएको छ।’
तर अमेरिकाले अहिलेसम्म कति सैनिक मारिए भन्ने कुरा खुलाएको छैन। जबकि यसअघि इरानको आक्रमणमा ६ सैनिक मारिएको खबर सार्वजनिक भएको थियो।
अमेरिका र इजरायलले गत फेब्रुअरी २८ मा इरानमा आक्रमण गरेयता मध्यपूर्वका देशमा द्वन्द्व फैलिएको छ।
अमेरिका-इजरायल-इरान युद्ध आज (मार्च ११ तारिख) १२औँ दिनमा प्रवेश गरेको छ।
अमेरिका-इजरायले गत फेब्रुअरी २८ मा संयुक्त हवाई हमला गरी इरानका सर्वोच्च नेता अयातोल्लाह अली खामेनीको हत्या गरेयता हानाहान जारी छ।
जवाफमा इरानले पनि इजरायल र अमेरिकी अड्डा रहेका खाडीका देशमा ड्रोन/क्षेप्यास्त्र प्रहार गरिरहेको छ।
यसैबिच अमेरिका-इजरायको आक्रमणबाट अहिलेसम्म १ हजार ३०० भन्दा बढी मानिस मारिएको र ८ हजार घर ध्वस्त भएको इरानले बताएको छ।
संयुक्त राष्ट्रसंघका लागि इरानका राजदूत अमिर सइद इरावनीका अनुसार देशका ९ हजार ६०० वटा आवासीय क्षेत्रमा आक्रमण गरिएको छ। हमलामा घर, बजार, अस्पताल, चिकित्सा केन्द्र र विद्यालय परेका छन्।
यस्तै इरानले आफूले पनि इजरायलका हाइफा, जेरुसेलम र तेल अभिभमा क्षेप्यास्त्र आक्रमण गरेको दाबी गरेको छ।
Shares

प्रतिक्रिया