बंगलादेशमा बिहीबार हुने चुनावको सम्पूर्ण तयारी पूरा भएको छ। मंगलबार रातिदेखि प्रचारप्रसार बन्द गरिएको छ।
२०२४ मा १४ सय जनाको ज्यान जानेगरी भएको आन्दोलन र शेख हसिना सरकारको पतनपछि पहिलो पटक हुन लागेको चुनावमा सबैको नजर छ। ३ सय ५० सिटको संसदमा प्रत्यक्ष निर्वाचित हुने ३०० जनाका लागि चुनाव हुँदैछ। जसमा १२ करोड ७७ लाख मतदाताले भाग लिने छन्। देशबाहिर भएकाका हकमा हुलाकमार्फत पहिलो पटक मतदानको व्यवस्था गरिएको छ।
र, यसपालिको चुनावमा मुख्यगरी दुई शक्ति प्रतिस्पर्धामा छन्। अग्रस्थानमा देखिएको बंगलादेश नेसनालिस्ट पार्टी (बीएनपी)लाई जमात–ए–इस्लामीले टक्कर दिँदैछ। लामो समय सत्ता चलाएकी हसिनाको पार्टी अवामी लिग भने प्रतिबन्धित छ।
संसदीय चुनावका अलावा गत वर्षको जुलाईमा अन्तरिम सरकारले आन्दोलनकारी विद्यार्थीहरूसँग गरेको सम्झौतामाथि जनमतसंग्रह पनि हुँदैछ। जसमा संविधान संशोधन, नयाँ कानुन निर्माण लगायतको मार्गचित्र कोरिएको छ।
जितको प्रमुख दाबेदार मानिएको गठबन्धन बीएनपीमा १० वटा पार्टी सामेल छन्। यसका मुख्य नेता हुन् तारिक रहमान। जो पूर्वप्रधानमन्त्री बेगम खालिदा जियाका छोरा हुन्। ६० वर्षीय रहमान १७ वर्ष लन्डनमा निर्वासित जीवन बिताएर देश फर्केका हुन्।
बीएनपी उनकै पिता अर्थात् खालिदा जियाका पति जियाउर रहमानले स्थापना गरेका थिए। जो बंगलादेश स्वतन्त्रताका बेला मुख्य सैन्य कमान्डरमध्ये एक थिए।
दक्षिणपन्थतर्फ ढल्केको यो पार्टीको मुख्य सिद्धान्त राष्ट्रवाद हो। पहिले यो पार्टीले अवामी लिगसँग मुख्य प्रतिस्पर्धा गर्थ्यो र पालैले या त सत्ता या प्रतिपक्षको नेतृत्व सम्हाल्थ्यो।
१९८१ मा जियाउर रहमानको हत्यापछि उनकी पत्नी खालिदा जिया पार्टी प्रमुख भइन् र दुई कार्यकाल प्रधानमन्त्री पनि चलाइन्। त्यतिबेला अवामी लिगविरुद्धको स्पर्धामा बीएनपीलाई साथ दिने मुख्य शक्ति जमात–ए–इस्लामी थियो।
हसिना २००९ मा सत्तामा फर्केपछि भने बीएनपी दबाबमा पर्यो। २०१८ मा भ्रष्टाचार आरोपमा दोषी ठहर गरी खालिदालाई नजरबन्दमा राखियो। हसिनाको सत्ता ढलेपछि मात्रै उनी मुक्त भइन्।
उनका छोरा रहमान भने २००८ मै भागेर बेलायत पुगेका थिए।
हसिनाको पतनलगत्तै बीएनपी पुनः प्रमुख राजनीतिक शक्तिका रूपमा स्थापित भएको छ र यसका नेता रहमान लामो निर्वासनपछि सत्तामा पुग्ने योजना लिएर देश फर्केका छन्।
जमात–ए–इस्लामी
जमात भनेर पनि चिनिने यो गठबन्धनमा ११ वटा पार्टी सामेल छन्। जसमा २०२४ को आन्दोलनको नेतृत्व गरेको विद्यार्थीहरूले खोलेको नेसनल सिटिजन पार्टी (एनसीपी) पनि छ। यसको नेतृत्व भने ६७ वर्षीय सफिकुर रहमानले गरिरहेका छन्।
जमातको स्थापना सिंगो भारत उपनिवेश रहँदै १९४१ मा भएको थियो। १९७१ मा जमातले पाकिस्तानबाट बंगलादेश स्वतन्त्रताको विरोध गरेको थियो। त्यसैले यसलाई स्वतन्त्रतापछि प्रतिबन्ध लगाइएको थियो। तर, १९७९ मा बीएनपी सरकारले उसको प्रतिबन्ध फुकुवा गरेको थियो।
१९९१ र २००१ मा खालिदा जियाको सरकार बन्दा जमातले महत्वपूर्ण सहयोग गरेको थियो।
हसिनाको शासनमा २००९ यता जमातका ५ नेतालाई १९७१ को युद्ध अपराधमा दोषी ठहर गरी मृत्युदण्ड दिइयो। २०१३ मा चुनाव लड्नबाट पनि प्रतिबन्ध लगाइयो। गत वर्ष मात्र सर्वोच्च अदालतले उसलाई चुनाव लड्न अनुमति दिएको छ।
तर, यसपटक जमातले बीएनपीलाई सघाइरहेको छैन, बरु टक्कर दिइरहेको छ। यो मुस्लिम कट्टरपन्थी दलका रूपमा चिनिन्छ। हिन्दु मतदाताको मन जित्न इतिहासमै पहिलो पटक जमातले खुलना क्षेत्रबाट एक हिन्दु उम्मेदवार उठाएको छ।
जमातको सहयोगी दल एनसीपीको नेता २७ वर्षी नहिद इस्लाम छन्, जो आन्दोलनका अगुवा थिए।
कतै नलागेका दलहरू पनि छन्। पहिले जमातको सहयोगी रहेको इस्लामी आन्दोलन बंगलादेश र यसअघि अवामी लिगलाई सघाएको जातीय पार्टी अलगअलग मैदानमा छन्।
हालसम्मको सर्वेक्षणहरूमा झिनो अन्तरले बीएनपी अगाडि देखिएको छ। गत डिसेम्बरको एउटा सर्वेक्षणले बीएनपीको समर्थन ३३ प्रतिशत र जमातको समर्थन २९ प्रतिशत देखिएको थियो।
यो चुनावले बंगलादेशको आन्तरिक राजनीति मात्र होइन, विदेश नीतिको बाटो पनि तय गर्नेछ। खासगरी भारतसँगको सम्बन्धमा।
‘नतिजा जे भए पनि यो चुनावले बंगलादेशको राजनीतिक दिशामा गम्भीर प्रभाव पार्नेछ,’ इन्डिपेन्डेन्ट युनिभर्सिटीका लेक्चरर खन्डाकर तहमिद रिजवान भन्छन्, ‘बीएनपीको जितले भारतसँगको कूटनीतिक तनावलाई सहमतिको मार्गमा लैजानेछ। त्यस्तै बाह्य साझेदारहरूसँगको सम्बन्ध पनि सन्तुलित हुनेछ र कुनै एक भूराजनीतिक शक्तिसँग टाँस्सिने सम्भावना हुने छैन। तर, जमातको सरकार बने उसले अलग बाटो लिनेछ। उसले पाकिस्तान र टर्कीसँग निकट भएर भारतलाई टक्कर दिनसक्छ। त्यस्तै, चीन र अमेरिकामध्ये एकसँग वा दुवैसँग सम्बन्ध बनाउनेछ।’
बंगलादेशमा पनि आन्दोलनपछि युवा आवाजको प्रभाव ज्यादा देखिएको छ। त्यससँगसँगै कट्टर इस्लामिक पार्टीहरू धमाधम उदाउँदै छन्। राजनीतिमा मात्र होइन, सार्वजनिक जीवनमा पनि यस्ता शक्तिहरूको प्रभाव बढ्दो छ भने अल्पसंख्यक हिन्दुहरूमाथि साम्प्रदायिक हमलाको चिन्ता पनि वृद्धि भइरहेको छ।
‘निष्पक्ष चुनावको माग, अभूतपूर्व रूपमा राज्यको संवैधानिक र संरचनात्मक परिवर्तनको सम्भावना, जेनजी मतदाताको निर्णायक उपस्थिति, इस्लामिक पार्टीहरूको बढ्दो लोकप्रियता जस्ता सबै कुरालाई एकै ठाउँमा राखेर हेर्दा यो चुनाव बंगलादेशको राजनीतिक इतिहासकै महत्त्वपूर्ण चुनावमध्ये एक हुने देखिन्छ,’ रिजवान भन्छन्।
छवि सुधार्दै रहमान
१९६५ मा जन्मेका रहमानले युनिभर्सिटी अफ ढाकामा अन्तर्राष्ट्रिय सम्बन्ध विषयमा अध्ययन सुरु गरेका थिए। तर, पढाइ छाडेर उनी कपडा र कृषि उत्पादनको व्यापारमा लागे।
उनकी आमा सत्तामा हुँदा रहमानले समानान्तर सरकार चलाएको आरोप लाग्ने गर्थ्यो। यद्यपि, उनले कहिल्यै सरकारी पद भने लिएनन्।
हसिनाको शासनमा उनी मुद्दाको मुख्य निसाना बनेका थिए। अनुपस्थितिमै अनेक पटक उनलाई दोषी ठहर गरेर सजाय सुनाइएको थियो। २००४ मा हसिनाको र्यालीमा ग्रिनेड हानेर कयौँको ज्यान लिएको आरोप लगाउँदै उनलाई २०१८ मा जन्मकैदको सजाय सुनाइएको थियो। उनले सधैँ यी आरोपहरूको खण्डन गर्दै आएका छन्।
निर्वासनबाट फर्केयता उनले आफूलाई राजनेताको रुपमा उभ्याउने कसरत गरिरहेका छन्। उनले हसिना निकटहरूमाथि बदला नलिने पनि बताएका छन्। र, चर्काे भाषण दिन पनि उनले बन्द गरेका छन्।
उनले राज्यमा जनताको स्थापना गर्ने, संस्थाहरू पुनर्निर्माण गर्ने कुरामा जोड दिएका छन्। उनको बिरालो पनि भाइरल बनेको छ, जसले उनको छवि सुधार्न अझै मद्दत पुगेको छ।
बीएनपीभित्र उनको पकड निकै बलियो भएको बताइन्छ। उम्मेदवारहरू पनि उनी आफैँले छानेको पार्टीका नेताहरू बताउँछन्। त्यस्तै, पार्टीको रणनीति, गठबन्धन निर्माणको वार्ता सबै उनैले सम्हालेका छन्। पहिले उनी लन्डनमा बसेरै यी काम गर्थे।
आफू राजनीतिक वंशको उत्तराधिकारी भए पनि उनले लोकतन्त्रको वास्तविक अभ्यासमा जोड दिँदै आएका छन्। एजेन्सी
Shares

प्रतिक्रिया