ग्लोबल


भेनेजुएलामा अमेरिकाको भन्दा ५ गुना ज्यादा तेल : जसले निम्त्यायो आक्रमण

भेनेजुएलामा अमेरिकाको भन्दा ५ गुना ज्यादा तेल : जसले निम्त्यायो आक्रमण

नेपालखबर
पुस २०, २०८२ आइतबार १३:१३,

जनवरी ३ मा निकोलस मदुरो र उनकी पत्नी सिलिया फ्लोरेसलाई निवासबाटै कब्जा गरेर अमेरिका ल्याएपछि डोनाल्ड ट्रम्पले भेनेजुएलामा सत्ता हस्तान्तरण नहुन्जेल सो मुलुक अमेरिकाले नै चलाउने बताएका छन्। उनले भेनेजुएलाको तेल उद्योगलाई ‘पुनर्निर्माण’ गर्ने पनि बताए।

मदुरोसँग वर्षौंदेखि चल्दै आएको अमेरिकाको झगडाको एउटा प्रमुख पक्ष तेल हो। २०१९ मा अमेरिकाले भेनेजुएलाको तेल उद्योगमा विभिन्न प्रतिबन्ध लगाएको थियो भने हालै पूर्ण नाकाबन्दी। 

भेनेजुएला तेल उत्पादकका रूपमा पहिले जति शक्तिशाली थियो, अहिले त्यति छैन। तर, यो मुलुकको विशाल तेल भण्डार ट्रम्पको यो आक्रमणको कारक भएको विश्लेषण भइरहेको छ।

विश्वबजारमा भेनेजुएलाको तेल
२०२३ को अनुमानअनुसार भेनेजुएलामा ३०३ अर्ब ब्यारेल तेल भण्डार छ। अहिलेसम्म पत्ता लागेको यो सबैभन्दा ठूलो तेल भण्डार हो। दोस्रो स्थानमा साउदी अरब छ, जोसँग २६७ अर्ब ब्यारेल छ भने तेस्रो स्थानमा १६३ अर्ब ब्यारेल तेल भएको इरान।

अमेरिकामा आफैँ भने नवौँ स्थानमा पर्छ, जोसँग ५५ अर्ब ब्यारेल तेल भण्डार छ। अर्थात् अमेरिकाको भन्दा पाँच गुना ज्यादा तेल भेनेजुएलासँग छ।

तर, २०१५ यता विश्वबजारमा यहाँको तेल उत्पादनको हिस्सा घट्दै गएको छ। अहिले भेनेजुएलाले प्रतिदिन १० लाख ब्यारेल तेल उत्पादन गर्छ। त्यो भनेको विश्वको उत्पादनको १ प्रतिशतभन्दा कम हो। र, भेनेजुएलाले १९९० को दशकमा उत्पादन गर्नेभन्दा एक तिहाइ मात्र हो। 

अमेरिकी आक्रमणले भेनेजुएलाका मुख्य तेल प्रशोधन केन्द्रहरूमा कुनै क्षति नपुगेको बताइएको छ। र, हालैको अमेरिकी नाकाबन्दीले पनि तेलको मूल्यमा कुनै फरक पारेको थिएन। तर, भेनेजुएलाको तेल निर्यात र उत्पादनमा भने असर परेको थियो। 

ट्रम्पले भनेझैँ भेनेजुएलाको तेल उद्योग पुनर्निर्माण गर्न वर्षौंको समय र अर्बौंको लगानी चाहिन्छ।

के अमेरिकाले भेनेजुएलाको तेल उद्योग कब्जा गर्छ?
मदुरोलाई कब्जा गरिसकेपछिको पत्रकार सम्मेलनमा ट्रम्पले भेनेजुएलाको तेल भण्डार नियन्त्रण गर्ने र अमेरिकी तेल कम्पनीहरूलाई भेनेजुएला पठाउने बताए। 

‘हाम्रो संसारकै ठूला तेल कम्पनीहरू त्यहाँ जानेछन्, अर्बौं डलर लगानी गर्नेछन् र नराम्ररी भत्किएको पूर्वाधार ठिक गर्नेछन्। अनि पैसा कमाउन थाल्नेछन्,’ ट्रम्पले भने।

यसअघि सो क्षेत्रमा अमेरिकी सैन्य कारबाही लागुऔषध तस्करी नियन्त्रणका लागि गरिएको दाबी अमेरिकाले गर्दै आएको थियो। भेनेजुएलाका लागुऔषध तस्करहरूको आम्दानी रोक्न सो कदम चालिएको अमेरिकी अधिकारीहरूको तर्क थियो। तर, अहिले उनीहरूले बोली फेरेका छन्।

मदुरोलाई सत्ताच्युत गर्ने निर्णय गर्नुको कारण दिँदा ट्रम्पले सोझै तेलको नाम लिए।

‘हामीले भेनेजुएलाको तेल उद्योग निर्माण गर्‍यौँ। अमेरिकी प्रतिभा, लगाव र सीपले। तर, अघिल्ला प्रशासनको समयमा समाजवादी शासनले हामीबाट त्यो चोर्‍यो। बलप्रयोग गरेर। यो हाम्रो देशको इतिहासमै अमेरिकी सम्पत्तिको सबैभन्दा ठूलो चोरीमध्ये एक हो,’ ट्रम्पको दाबी छ।

भेनेजुएलामा अमेरिकी तेल कम्पनीको भूमिका
एक शताब्दीअघि भेनेजुएलाको तेल उद्योग सुरु गर्नमा अमेरिकी कम्पनीहरूको मुख्य भूमिका थियो। उनीहरूले भेनेजुएलालाई अमेरिकामा तेल निर्यात गर्ने प्रमुख आपूर्तिकर्ता बनाएका थियो। १९६० मा भेनेजुएला ओपेकको संस्थापक सदस्य बन्यो।

१९७० को दशकमा तेल उद्योग राष्ट्रियकरण गरियो। १९९० को दशकमा फेरि विदेशी लगानी भित्र्याइयो। मदुरोअघिका शक्तिशाली नेता ह्युगो चाभेजले २००७ मा प्रमुख अमेरिकी तेल कम्पनीहरूको सम्पत्ति जफत गरे। एक्सोन र कोनोकोफिलिप्स जस्ता कम्पनी त्यसपछि पछि हटे।

भेनेजुएलामा रहेको एउटा मात्र अमेरिकी कम्पनी सेभोर्न थियो। यही कम्पनीले भेनेजुएलाको तेल उत्पादनको एक चौथाइ हिस्सा ओगटेको छ।

चीनको भूमिका
भेनेजुएलाको कम्पनीसँगको ज्वइन्ट भेन्चरमा चीनको सरकारी सीएनपीसीले तेल उत्पादन गर्दै आएको छ। भेनेजुएलाले अधिकांश तेल चिनियाँहरूलाई नै बेच्छ। तर, सोझै होइन, मध्यस्थकर्ताको माध्यमबाट। 

चीनले भेनेजुएलालाई अर्बौं डलर ऋण दिएको छ। धेरैजसो तेल त्यसैको भुक्तानीमा खर्च हुन्छ। हालै अमेरिकी चिनियाँ कम्पनीहरूमा पनि प्रतिबन्ध लगाएको छ। तर, चिनियाँ कम्पनीहरूले भेनेजुएलामा आफ्नो उपस्थिति विस्तार गरेका छैनन्। 

मदुरोलाई अमेरिकाले सत्ताच्युत गरेपछि बेइजिङले कडा प्रतिक्रिया दिएको छ। 

‘अमेरिकाको यस्तो दादागिरी अन्तर्राष्ट्रिय कानुन र भेनेजुएलाको सार्वभौमसत्ताको गम्भीर उल्लंघन हो। यसले ल्याटिन अमेरिका र क्यारिबियन क्षेत्रको शान्ति सुरक्षालाई खतरामा पारेको छ। चीन यसको कडा विरोध गर्छ,’ चीनले भनेको छ।

रुसको सरकारी तेल उत्पादक रोजनेफ्टले आफ्नो सम्पत्ति प्रतिबन्ध नलागेको कम्पनी मातहत सारेको छ। भारतको रिलायन्स भेनेजुएलाको प्रमुख ग्राहकमध्ये एक थियो। तर, अमेरिकी प्रतिबन्धको डरले पछिल्लो समय सो कम्पनी पछि हटेको छ।

भेनेजुएलाको तेल उद्योगको अवस्था के छ?
१९९० बाट अहिलेसम्ममा भेनेजुएलाको तेल उत्पादन ७० प्रतिशतले घटिसकेको छ। त्यतिबेला यो मुलुकले दैनिक ३२ लाख ब्यारेल कच्चा तेल उत्पादन गर्ने गर्थ्यो। अहिले विश्वका उत्पादकमध्ये भेनेजुएला २१ औँ स्थानमा छ। उसलाई गुयना र अर्जेन्टिनाले उछिन्ने अवस्था थियो।

उत्पादन घटे पनि भेनेजुएलाको विदेशी मुद्रा आम्दानीको ९५ प्रतिशत हिस्सा तेलले नै ओगटेको छ।

यसरी भेनेजुएलाको तेल उद्योग धराशायी हुनुमा चाभेजलाई कारक मान्ने गरिन्छ। समाजवादी क्रान्ति गरेका चाभेजले तेलमा राज्यको नियन्त्रण बलियो बनाए र सरकारी कम्पनीका अनुभवी व्यवस्थापकलाई हटाएर विदेशी लगानी रोक्का गरिदिए। सो कम्पनीमा उनले बफादारहरूलाई नियुक्त गरे। 

पाइपलाइन र उत्पादन केन्द्रहरूमा अनेकौँ दुर्घटनाहरू पनि भए। जसले गर्दा उद्योग कमजोर हुँदै गयो। 

यसो हुनुमा अमेरिकी नाकाबन्दीको भूमिका पनि छ। एजेन्सी 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad