यौन अपराधमा दोषी अमेरिकी जेफ्री एपस्टाइनसँग सम्बन्धित सोह्र फाइल शनिबार राति एक वेबसाइटबाट गायब गरिएका छन्।
रोयटर्सका अनुसार, ती फाइलमा महिलाका साथ अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्प, जेफ्री एपस्टाइन, मेलानिया ट्रम्प र गिजलेन म्याक्सवेल (एपस्टाइनकी प्रेमिका) सँगै थिए।
न्याय विभागले ती फाइल हटाउनुको कारणबारे अहिलेसम्म कुनै स्पष्टीकरण दिएको छैन। साथै ती फाइल जानाजानी मेटाइए वा प्राविधिक त्रुटिका कारण भन्ने पनि स्पष्ट पारिएको छैन।
यसअघि अमेरिकी न्याय विभागले जेफ्री एपस्टाइन अनुसन्धानअन्तर्गत शुक्रबार राति ३ लाख दस्तावेज जारी गरेको थियो।
जसमा अमेरिकाका पूर्वराष्ट्रपति बिल क्लिन्टन र पप गायक माइकल ज्याक्सनजस्ता प्रमुख व्यक्तिहरू थिए।
तर डोनाल्ड ट्रम्पको नाम रेकर्डमा लगभग देखिएन। जबकि फेब्रुअरीमा जारी एपस्टाइनको निजी जेटको उडान लगमा उनको नाम थियो।

नयाँ दस्तावेजमा विशेष गरी न्युयोर्क र यूएस भर्जिन आइल्यान्डमा रहेका एपस्टाइनका घर तथा केही सेलिब्रेटी र राजनीतिकर्मीका तस्बिर थिए।
तर धेरै पीडितहरूसँगको एफबीआई अन्तर्वार्ता र यौन बेचबिखन आरोपको सट्टा कम राज्यस्तरीय अपराधमा मात्र एपस्टाइनलाई सजाय दिने न्याय विभागको निर्णयका प्रतिलिपिजस्ता महत्त्वपूर्ण कागजात जारी गरिएनन्।
यिनको कमीले सन् २००० को दशकमा अभियोजकले मुद्दा कसरी सम्हाले र एपस्टाइनलाई किन हल्का सजाय दिइयो भन्नेबारे नयाँ प्रश्न उठाएको छ।
बेलायतका पूर्वराजकुमार एन्ड्रयुजस्ता अन्य प्रमुख व्यक्तिको नाम पनि ती कागजातमा विरलै उल्लेख गरिएका छन्।
यसैबीच हाउस ओभरसाइट कमिटीका डेमोक्र्याटिक सदस्यहरूले ट्रम्पसँग सम्बन्धित तस्बिर गायब पारिएकामा प्रश्न उठाउँदै सोधेका छन्, ‘अरू के-के लुकाइँदै छ?’
उनीहरूले न्याय विभागलाई ढाकछोप गरेको आरोप लगाउँदै अमेरिकी नागरिकलाई यथार्थ देखाउन माग गरेका छन्।
यौन दुर्व्यवहारका पीडितहरू भन्छन् : हामीप्रति अन्याय भयो
एपस्टाइनबाट पीडित र सांसदहरूले लामो समयदेखि यस विषयमा पारदर्शिता माग गरिरहेका छन्। तर जारी गरिएका दस्तावेजमा धेरै भाग मेटाइएको उनीहरूको भनाइ छ।
११९ पृष्ठको दस्तावेज पूर्ण कालो बनाइएको छ।
अमेरिकी न्याय विभागले लाखौँ पृष्ठको रेकर्ड रहेको र पीडितहरूको पहिचान लुकाउन समय लागेको जिकिर गर्दै बाँकी दस्तावेज बिस्तारै जारी गरिने आश्वासन दिएको छ।
एपस्टाइनबाट पीडितमध्ये एक जेस माइकल्सले भनेकी छन्, ‘न्याय विभागले फाइल जारीमा भ्रष्टाचार र ढिलाइ गर्नुले केही लुकाइरहेको प्रमाणित गर्छ।’
अर्की पीडित मारिना लार्सेडाले भनेकी छन्, ‘तस्बिरहरू प्रायः बेकारका छन्। हामीलाई धोका दिइएको छ। हामी सरकारले संरक्षण गरिरहेकाहरूको नाम खुलासा हुनेमा प्रतीक्षारत छौँ।’
ट्रम्पद्वारा आरोप अस्वीकार
ट्रम्पले निरन्तर रूपमा एपस्टाइनको अपराधमा आफ्नो संलग्नता अस्वीकार गर्दै यस विषयमा आफूविरुद्ध आरोप नलगाइएको दाबी गरिरहेका छन्।
मिडिया रिपोर्टहरूले भने ट्रम्पले एपस्टाइनको निजी जेटमा सातपटक सँगै यात्रा गरेको दाबी गरेका छन्।
न्युयोर्क टाइम्सका अनुसार ट्रम्पले ती यात्रा १९९३ र १९९७ को बीचमा गरेका थिए।
तर ट्रम्पले कहिल्यै एपस्टाइनसँग यात्रा नगरेको र आफूबाट कुनै गलत काम नभएको जिकिर गरिरहेका छन्।

एपस्टाइनका घनिष्ठ मित्र थिए ट्रम्प
ट्रम्प र एपस्टाइनबीच एक पार्टीमा भेट भएको थियो। सन् २००२ मा एक पत्रिकासँगको अन्तर्वार्तामा ट्रम्पले भनेका थिए, ‘म जेफलाई १५ वर्षदेखि चिन्छु। उनी एक अद्भुत मानिस हुन्। हामी दुवैलाई सुन्दर युवतीहरू मन पर्छ।’
जुन भनाइ ट्रम्पका लागि पासो बनेको थियो।
सन् १९९२ मा ट्रम्पले फ्लोरिडाको आफ्नो मार-ए-लागो रिसोर्टमा एपस्टाइन र चियरलिडरहरूसँग एक पार्टी आयोजना गरेका थिए।
२०१९ मा एनबीसीले कार्यक्रमको फुटेज जारी गर्यो, जसमा ट्रम्पले एक महिलातिर इसारा गर्दै एपस्टाइनसँग भनेका छन्, ‘हेर, उनी कति हट छिन्!’
तर सम्पत्तिका विषयमा विवाद भएपछि ट्रम्प र एपस्टाइनबीचको मित्रता टुटेको बताइएको छ।
ट्रम्पले पछि सन् २०१९ मा एपस्टाइनसँग झगडा भएको र १५ वर्षदेखि उनीसँग कुराकानी नभएको बताएका थिए।
उनले यसो पनि भनेका थिए, ‘अब म एपस्टाइनलाई साथी मान्दिनँ।’
‘बिल क्लिन्टनलाई बलिको बोको बनाइँदै छ’
एपस्टाइन फाइलमा अमेरिकाका पूर्वराष्ट्रपति बिल क्लिन्टनका तस्बिर पनि देखापरेपछि अमेरिकी राजनीतिमा हलचल मच्चिएको छ।
क्लिन्टनका प्रवक्ताले ह्वाइट हाउसले जानाजानी उनलाई ‘बलिको बोका’ बनाइरहेको दाबी गरेका छन्। वास्तविक मुद्दाबाट ध्यान मोड्न त्यस्तो गरिएको जिकिर उनले गरेका छन्।
संसद्को आदेशमा जारी फाइलका तस्बिरमा एपस्टाइन र उनका सहयोगी घिसलेन म्याक्सवेलका साथ क्लिन्टन पनि छन्।
जसमा क्लिन्टन म्याक्सवेल र स्विमिङ पुलमा एक युवतीसँग देखिएका छन्। तर महिलाको अनुहार छोपिएको छ।
Shares

प्रतिक्रिया