ग्लोबल


२४ वर्षअघि गरेको यौन शोषणको आरोपले खोसियो बेलायती राजकुमारको उपाधि

२४ वर्षअघि गरेको यौन शोषणको आरोपले खोसियो बेलायती राजकुमारको उपाधि

पहिलो तस्बिरमा राजकुमार एन्ड्रयुले १७ वर्षीया भर्जिनिया गिफ्रेको कम्मरमा हात राखेका छन्। यो तस्बिर २००१ मा लन्डनमा रहेको म्याक्सवेलको घरमा खिचिएको थियो। अर्को तस्बिरमा एन्ड्रयु (बायाँ) आफ्ना दाइ राजा चार्ल्ससँग।


नेपालखबर
कात्तिक १४, २०८२ शुक्रबार १४:३३, काठमाडौँ

बेलायतका राजा चार्ल्सले यौन शोषणको आरोप लागेका आफ्ना भाइ एन्ड्रयुको ‘राजकुमार’सहित सबै शाही उपाधि र सुविधा खोसेका छन्।

उनलाई विन्डसरमा रहेको आफ्नो विलासी निवास ‘रोयल लज’बाट हट्न आदेश दिइएको छ।

पीडित भर्जिनिया गिफ्रेले आफू १७ वर्षको छँदा सन् २००१ मा राजकुमार एन्ड्रयुले यौन शोषण गरेको आरोप लगाएकी थिइन्।

बकिङ्घम दरबारले बिहीबार विज्ञप्ति जारी गर्दै भनेको छ, ‘राजाले आज राजकुमार एन्ड्रयुको उपाधि र सम्मान हटाउने औपचारिक प्रक्रिया सुरु गर्नुभएको छ।’

६५ वर्षीय एन्ड्रयु स्वर्गीय महारानी एलिजाबेथका दोस्रो छोरा हुन्। एन्ड्रयुको नाम लामो समयदेखि अमेरिकी अपराधी जेफ्री एपस्टाइनसँग जोडिएको छ, जसविरुद्ध नाबालिगहरूको यौन शोषण गरेको गम्भीर आरोप लागेको थियो। 

यस महिनाको सुरुमा एन्ड्रयुलाई योर्कको ड्युक उपाधि प्रयोग गर्नबाट पनि प्रतिबन्ध लगाइएको थियो।

बकिङ्घम प्यालेसले शाही उपाधिहरू खोसिएपछि राजकुमार एन्ड्रयु अब 'एन्ड्रयु माउन्टबेटन-विन्डसर' भनेर चिनिने बताएको छ। अहिलेसम्म राजकुमार एन्ड्रयुलाई 'प्रिन्स एन्ड्रयु, ड्युक अफ आर्क' भनेर चिनिन्थ्यो।

रोयल लज छाडेर निजी निवासमा बस्नुपर्नेछ
बेलायतको बकिङ्घम दरबारले राजकुमार एन्ड्रयुको सबै शाही उपाधि र सम्मान खोसिएको घोषणा गरेको छ र उनलाई आफ्नो लामो समयदेखिको निवास रोयल लज पनि खाली गर्न आदेश दिइएको छ।

राजकुमार एन्ड्रयु २००३ देखि रोयल लजमा बसिरहेका छन्। विन्डसरको मैदानमा अवस्थित यो विशाल ३० कोठाको हवेली पहिले उनका आमा रानी एलिजाबेथ द्वितीय (रानी आमा) को निवास थियो।

उनकी आमा सन् २००२ मा बितेकी थिइन्। एन्ड्रयुकी पूर्वपत्नी सारा फर्ग्युसन पनि उनीसँगै त्यहाँ बस्छिन्। तर १९९६ मा उनीहरूको सम्बन्धविच्छेद भयो। फर्ग्युसनले पनि रोयल लजबाट हट्नुपर्नेछ।

आरोप लगाउने भर्जिनिया गिफ्रेको मृत्यु
राजकुमार एन्ड्रयुलाई यौन शोषणको आरोप लगाउने भर्जिनिया गिफ्रेको गत अप्रिलमा मृत्यु भइसकेको छ। उनले आत्महत्या गरेको अनुमान गरिएको छ। सन् २०११ मा ४१ वर्षीया भर्जिनियाले संयुक्त राज्य अमेरिकामा एक हाई-प्रोफाइल वेश्यावृत्ति सञ्जालको पर्दाफास गरेर संसारलाई चकित पारेकी थिइन्।

भर्जिनियाले आफूले भोगेको यौन शोषण र बेचबिखनको खुलासा गरिन्। उनले आफू १५ वर्षको उमेरमा एपस्टाइनको सञ्जालमा फसेको बताएकी थिइन्। जसले धेरै प्रभावशाली र हाई-प्रोफाइल व्यक्तिहरूसँग यौन सम्बन्ध राख्न बाध्य पारेको उनको आरोप थियो। त्यही अन्तर्वार्तामा भर्जिनियाले बेलायतका राजकुमार एन्ड्रयुसँग भएको भेटघाट पनि उल्लेख गरेकी थिइन्।

भर्जिनिया धेरै वर्षसम्म अस्ट्रेलियामा बसेकी थिइन् र यौन दुर्व्यवहार भोगेका महिलाका पक्षमा वकालत गरेकी थिइन्।

यही अक्टोबर २१ मा भर्जिनिया गिफ्रेको संस्मरण, ‘नो बडिज गर्ल’ प्रकाशन भयो, जसले यो विवादलाई पुनः चर्चामा ल्यायो। 

भर्जिनियाले आफ्नो मृत्यु हुनुभन्दा अघि यो पुस्तक पूरा गरेकी थिइन्। यसमा उनले आफूले सामना गरेको शोषण र न्यायका लागि आफ्नो लडाइँको कथा सुनाएकी छन्। एजेन्सी

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad