ग्लोबल


ट्रम्प–पुटिन भेटभन्दा महत्त्वपूर्ण छ, ट्रम्प–जेलेन्स्की वार्ता : विज्ञ

ट्रम्प–पुटिन भेटभन्दा महत्त्वपूर्ण छ, ट्रम्प–जेलेन्स्की वार्ता : विज्ञ

फ्र्याङ्क गार्डनर, बीबीसी
भदौ २, २०८२ सोमबार २१:२२, काठमाडौँ

यस वर्षको सुरुमा दोस्रोपटक अमेरिकाको राष्ट्रपतिको पदभार ग्रहण गरेको केही हप्तापछि डोनाल्ड ट्रम्पले युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीलाई ‘तानाशाह’ भने। 

साथै उनले जेलेन्स्कीका कारण संसार तेस्रो विश्वयुद्धको संघारमा रहेको बताए। 

त्यसपछि फेब्रुअरी २८ मा अमेरिकाका राष्ट्रपति ट्रम्प र उपराष्ट्रपति जेडी भान्सले जेलेन्स्कीलाई ओभल अफिसमा भेट गर्दै उनीप्रति धेरै कठोर व्यवहार गरे र क्यामेराका अगाडि उनी युक्रेन युद्ध बन्द होस् भन्ने चाहँदैनन् भनेर आरोप लगाए। 

ट्रम्पले जेलेन्स्कीले अमेरिकाको सहयोग नपाएको भए उनले युक्रेन रुससँग गुमाउने थिए भने।

यसको ६ महिनापछि आज जेलेन्स्की र ट्रम्प फेरि भेटवार्ता गर्दै छन्। जहाँ बेलायतका प्रधानमन्त्री किअर स्टारमर, फ्रान्सका राष्ट्रपति इमानुएल म्याक्रोन र जर्मन चान्सलर फ्रेडरिक मेर्ट्जसहित धेरै जना ठूला युरोपेली नेता जेलेन्स्कीको बचाउ र समर्थनका लागि उपस्थित हुनेछन्। 

अगस्ट १५ मा अलास्कामा रुसका राष्ट्रपति भ्लादिमिर पुटिन र ट्रम्पबीचको भेट अनिर्णीत रहँदा रुसी मिडियाले त्यसलाई 'पुटिनको विजय' भने, किनभने ट्रम्पले भेटपछि सामाजिक सञ्जाल साइट ट्रुथमा लेखे, ‘सबैले निर्णय गरे कि रुस र युक्रेनबीच चलिरहेको भयानक युद्ध अन्त्य गर्ने उत्तम तरिका भनेको सिधै शान्ति सम्झौतामा पुग्नु हो, युद्धविराम सम्झौता मात्र होइन, जुन प्रायः लामो समयसम्म टिक्दैन।’

विज्ञहरू के विश्वास गर्छन् भने पुटिनलाई युद्धविरामका लागि मनाउन असफल भएका ट्रम्पले अब जेलेन्स्कीलाई युद्ध रोक्न दबाब दिन सक्छन्। विज्ञहरूले युक्रेनको भविष्य र युरोपको सुरक्षालाई ध्यानमा राख्दै सोमबार हुने ट्रम्प-जेलेन्स्की भेट, ट्रम्प र पुटिनबीचको भेटवार्ताभन्दा बढी महत्त्वपूर्ण साबित हुन सक्ने पनि बताएका छन्।

पुटिन-ट्रम्प बैठक अपेक्षाअनुसार भएन। जसमा न युद्धविराम सम्झौता भयो न कुनै घोषणा। 

दुई ठूला आणविक शक्ति (अमेरिका र रुस) ढोका पछाडिबाट युरोप र युक्रेनको हितमा सम्झौता गर्न लागेका छन्?

युक्रेन र यसका युरोपेली सहयोगी यसलाई रोक्न सक्षम छन् भने त्यस्तो सम्झौता हुने सम्भावना छैन।

कियर स्टारमर, इमानुएल म्याक्रोन, चान्सलर फ्रेडरिक मेर्ट्ज र अन्य युरोपेली नेता जेलेन्स्कीलाई फेब्रुअरीमा जस्तो व्यवहार नहोस् भनेर वासिङ्टनमा उपस्थित छन्। 

यी नेताहरू युक्रेन प्रत्यक्ष रूपमा संलग्न नभएको कुनै पनि शान्ति सम्झौता नहोस् र जुनसुकै सम्झौता भए पनि युक्रेनका लागि बलियो सुरक्षा ग्यारेन्टी सुनिश्चित गर्न प्रयास गर्नेछन्।

युरोपेली नेताहरू पनि पुटिनप्रति ट्रम्पको नरम दृष्टिकोणले शान्ति सम्झौतालाई असर नगरोस् भन्ने चाहन्छन्।

र, यहीँबाट किअर स्टारमरको कूटनीतिक सिप काममा आउन सक्छ। ट्रम्पलाई स्टारमर मन पर्छ। उनी उनको कुरा ध्यानपूर्वक सुन्छन्।

ट्रम्प अर्को महिना बेलायतको राजकीय भ्रमणमा पनि जाँदै छन्।

ट्रम्पलाई नेटो महासचिव मार्क रुट पनि मन पर्छ। उनलाई ट्रम्पको विश्वासपात्र पनि मानिन्छ।

यद्यपि ट्रम्पलाई यस समयमा वासिङ्टनमा उपस्थित अर्का ठूला युरोपेली नेता इमानुएल म्याक्रोन मन पर्दैन। हालै अमेरिकाले प्यालेस्टाइनलाई राष्ट्रका रूपमा मान्यता दिने फ्रान्सको घोषणाप्रति कडा आपत्ति जनाएको छ।

तर युक्रेनले रुससँगको युद्ध रोक्न केही मूल्य चुकाउनुपर्नेछ।

युरोपेली नेताहरूले बारम्बार भनेका छन्- अन्तर्राष्ट्रिय सिमानाहरू बलपूर्वक परिवर्तन गर्न सकिँदैन। जेलेन्स्कीले पनि पटकपटक के भनेका छन् भने उनी आफ्नो भूमि रुसलाई दिन चाहँदैनन्। 

तर पुटिन सम्पूर्ण डोनबास कब्जा गर्न चाहन्छन्, जसको ८५ प्रतिशत भाग अहिले रुसले कब्जा गरेको छ। अनि उनी क्रिमिया युक्रेनलाई फिर्ता गर्ने पनि चाहँदैनन्।

इस्टोनियाका पूर्वप्रधानमन्त्री एवं युरोपका शीर्ष कूटनीतिज्ञ काया कालिसका अनुसार युक्रेनको जितको अर्थ गुमाएको भूमि फिर्ता पाउनु होइन, यदि उसले बलियो सुरक्षा ग्यारेन्टी पाउँछ भने। यदि रुसबाट भविष्यमा कहिल्यै युक्रेनमा आक्रमण नगर्ने र स्वतन्त्र देशका रूपमा सम्मान गर्ने वाचा गर्छ भने यो युक्रेनको जित हुनेछ।

शान्ति सम्झौताका विषयमा प्रश्न
अमेरिका र रुसले एउटा प्रस्तावमा काम गरिरहेको थाहा भएको छ, जसमा युक्रेनले आफ्नो केही जमिनको सट्टामा सुरक्षा ग्यारेन्टी पाउनेछ र भविष्यमा उसले आफ्नो जमिनको कुनै पनि भाग रुसलाई दिनु पर्दैन।

तर यसमा पनि ठूलो प्रश्न छ। आफ्नो जमिन बचाउन हजारौँ सैनिकको बलिदान दिने युक्रेन यो प्रस्तावमा सहमत होला?

सम्पूर्ण डोनेट्स्क रुसलाई सुम्पियो भने यसले भविष्यमा युक्रेनको सुरक्षालाई असर गर्दैन?

युरोपले एकपटक युक्रेनका तर्फबाट रुसविरुद्ध लड्न आफ्ना हजारौँ सैनिक पठाउने वाचा गरेको थियो। तर त्यो योजना हाल अलपत्र छ। 

अब कुरा युक्रेनको जमिन र आकाश सुरक्षित बनाउने विषयमा आएको छ। साथै युरोपले युक्रेनलाई आफ्नो सेना पुनर्निर्माणमा मद्दत गर्ने भनिरहेको छ।

यदि अहिले यस क्षेत्रमा शान्ति स्थापना भयो भने पनि यसलाई खतरनाक क्षेत्र भनिनेछ। 

मैले एक सैन्य विज्ञसँग कुरा गरेँ। उनले शान्ति सम्झौतापछि पनि पुटिन नरोकिने बताए। उनले आफ्नो सेना पुनर्निर्माण गर्नेछन्। नयाँ हतियार बनाउनेछन्। र, आगामी तीन-चार वर्षमा युक्रेनको थप भूमि कब्जा गर्न तयार नभएसम्म उनी हतियार बनाइरहनेछन्।

यदि यस्तो भयो भने युक्रेनतर्फ अगाडि बढिरहेका रुसी सेना रोक्न कुनै शक्तिशाली एफ-३५ विमानले पहिलो मिसाइल प्रहार गर्नेछ। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad