अलास्कामा युक्रेन युद्धबारे ३ घण्टा लामो बैठकपछि रुसका राष्ट्रपति पुटिन र अमेरिकी राष्ट्रपति ट्रम्पले केवल १२ मिनेट पत्रकार सम्मेलन गरेका छन्।
यस क्रममा पुटिनले रुसको सुरक्षा सर्वोपरि रहेको बताए। उनले अर्को बैठक मस्कोमा गर्ने सुझाव दिए।
अमेरिकाका राष्ट्रपति ट्रम्पले केही मुद्दामा कुनै सहमति नभएको तर समग्रमा कुराकानी सकारात्मक रहेको बताए।
अन्तर्राष्ट्रिय सञ्चारमाध्यमका अनुसार पत्रकार सम्मेलनमा ट्रम्प र पुटिनले कुन-कुन बुँदामा सहमति भएको भन्ने कुरा पनि बताएनन्।
आफ्ना कुरा भनिसकेपछि दुवै नेता तुरुन्तै मञ्चबाट बाहिरिए र पत्रकारहरूको प्रश्नको जवाफ पनि दिएनन्।
भेटवार्ता अलास्काको सबैभन्दा ठूलो सहर एन्कोरेजमा भएको थियो। जसमा दुवै देशका प्रतिनिधिमण्डल उपस्थित थिए।

ट्रम्पसँग भेटवार्ता गर्न रुसका राष्ट्रपति पुटिन १० वर्षपछि शनिबार (नेपाली समयअनुसार शुक्रबार राति १ बजेपछि) अमेरिका पुगेका थिए।
जहाँ उनलाई बी-२ बमवर्षक विमानले स्वागत गरिएको थियो। रातो कार्पेटमा पुटिन आइपुग्दा ट्रम्पले ताली बजाएका थिए।

Shares

प्रतिक्रिया