अमेरिकाले इरानी आणविक केन्द्रहरूमा बमबारी गरेपछि अब के होला भन्ने चासो सर्वत्र छ। सँगसँगै अर्को प्रश्न पनि अनुत्तरित छ– के अमेरिकी आक्रमणबाट इरानको आणविक क्षमता नष्ट भयो?
अमेरिकी अधिकारीहरूले यसबारे स्पष्ट जवाफ अझै दिन सकेका छैनन्।
अमेरिकी उपराष्ट्रपति जेडी भान्सले एक अन्तर्वार्तामा इरानका तीन आणविक केन्द्र ध्वस्त भयो भनेर ठोकुवा गर्न सकेनन्। तर, उनले आणविक हतियार बनाउने इरानको क्षमता निकै घटेको बताए।
‘हामी इरानसँग युद्धमा छैनौँ। इरानको आणविक कार्यक्रमसँग मात्र युद्धमा छौँ,’ उनको भनाइ थियो।
यो हमलालाई अमेरिकाले ‘अप्रेसन मिडनाइट ह्याम्मर’ नाम दिएको रक्षामन्त्री पिट हेगसेथ र ज्वइन्ट चिफ्स अफ स्टाफ जनरल ड्यान केइनले पत्रकार सम्मेलन गरेर जानकारी दिएका छन्। जसमा १४ बंकर बस्टर बम सहित ७५ वटा बम प्रहार गरिएको थियो।
‘हामीले इरानको आणविक कार्यक्रम ध्वस्त पार्यौँ। यो कारबाही सत्ता परिवर्तनका लागि थिएन,’ उनले भने, ‘लडाइँको क्षतिको मूल्यांकन जारी छ। तर, हाम्रो सुरुवाती मूल्यांकन के छ भने हाम्रो अचुक हतियार हामीले चाहेकै निसानमा प्रहार गरेर चाहेकै नतिजा हात पार्यौँ।’
अब इरानसँग आणविक क्षमता छ कि छैन त भन्ने प्रश्नमा जनरल केइनले अहिले नै त्यसबारे भन्न हतार हुने बताए।
यसअघि डोनाल्ड ट्रम्पले भने इरानको आणविक कार्यक्रमको नामोनिसान मेटाएको दाबी गरेका थिए।
उता एक वरिष्ठ अधिकारीलाई उधृत गर्दै न्युयोर्क टाइम्सले जनाएअनुसार १२ वटा बंकर बस्टर बम खसाइएको फोर्डो आणविक केन्द्र पूर्ण रुपमा ध्वस्त भएको छैन। यद्यपि, त्यसमा गम्भीर क्षति भने पुगेको छ।
इजरायली सैन्य अधिकारीहरूले पनि सो स्थान पूर्ण रूपमा नष्ट नभएको र इरानले त्यहाँबाट युरेनियमसहित विभिन्न उपकरण सारेको देखिएको बताएका छन्। एजेन्सी
Shares

प्रतिक्रिया