अमेरिका इरानसँगको युद्धमा प्रवेश गर्ने अड्कलबाजी चलिरहेको छ। यदि ऊ युद्धमा सहभागी भयो भने इरानका भूमिगत युरेनियम सम्बर्द्धन केन्द्रहरूलाई ध्वस्त पार्न अमेरिकाले भूमिका खेल्ने बताइँदै छ।
र, त्यो काम अमेरिकाको पनि जुन पायो त्यही बमवर्षक विमानले गर्न सक्दैन। १३ टनभन्दा बढी तौल भएको म्यासिभ अर्डिनेन्स पिनेट्रेटर (एमओपी) नामक बम बोक्न सक्ने सीमित विमानले मात्र त्यो काम गर्न सक्छ। यो गैरआणविकमध्येमा विश्वकै शक्तिशाली बम मानिन्छ।
यो बम अमेरिकाको बी२ स्टिल्थ बमवर्षक विमानले खसाउँछ। यो ६ मिटर लामो बम विस्फोट हुनुअघि नै चट्टान र माटोले बनेको जमिनमा ६० मिटर भित्रसम्म भासिन पुग्छ। त्यसपछि बल्ल विस्फोट हुन्छ।
र, यो बम सटीक निसाना लगाएर प्रहार गर्न सकिन्छ। त्यसैले सिद्धान्तत: एकै ठाउँमा अनेकपटक बम खसाउन सकिन्छ।
त्यसकारणले इरानका आणविक केन्द्रहरूलाई यसले ध्वस्त पार्न सक्छ भन्ने अनुमान छ।
किनकि इरानको नतान्ज आणविक केन्द्र जमिनबाट २० मिटरमुनि रहेको बताइन्छ।
तर, इरानको अझ गहिरो सुरुङमा रहेको फोर्डो केन्द्र भने यसले पनि नष्ट गर्न कठिन छ। जबकि एमओपी बनाएकै यस्तै निसानाका लागि हो। फोर्डो जमिनभन्दा ८० मिटरमुनि छ।
इन्टरनेसनल एटोमिक इनर्जी एजेन्सीका प्रमुख राफेल ग्रोसी फोर्ड केन्द्रका संवेदनशील क्षेत्रहरू त अझ गहिरो र जमिनबाट ८ सय मिटरमुनि रहेको बताउँछन्।
‘म त्यहाँ धेरैपटक पुगेको छु,’ उनले फाइनान्सियल टाइम्ससँग भनेका छन्, ‘त्यहाँ पुग्न घुम्तीलो सुरुङमा तलतलतल जानुपर्छ।’
बम खसाउँदा समृद्ध युरेनियम सबै ध्वस्त हुन्छ भन्ने ग्यारेन्टी छैन। त्यसकारण अमेरिकाले विगतकै जस्तो द्विविधा बेहोरिरहेको छ।
१९६२ मा सोभियत संघले क्युबा पुर्याएको आणविक हतियारमा अमेरिकाले आक्रमण गर्ने योजना बनाएको थियो। तर, सबै आणविक हतियार नष्ट नहोला भन्ने भयका कारण राष्ट्रपति केनेडीले नाकाबन्दी र कूटनीतिको विकल्प रोजेका थिए।
‘त्यतिबेला ८५ प्रतिशत निसाना मात्र ध्वस्त पार्न सकिन्छ भन्ने विश्वास अमेरिकी वायु सेनालाई थियो,’ अमेरिकी सैन्य इतिहासकार रोबर्ट पेप भन्छन्, ‘इरानको हकमा सबैथोक नष्ट गर्न सकिन्छ भनेर अमेरिकी राष्ट्रिय सुरक्षा परिषद् कसरी ढुक्क हुन सक्छ? मुख्य कुरा यो हो।’
बोइङले बनाएको एमओपी न्यु मेक्सिकोमा परीक्षण गरिएको थियो। तर, लडाइँमा यसको उपयोग भएको छैन। त्यसले अर्को समस्या खडा गर्छ।
‘फोर्डो ध्वस्त पार्न कम्तीमा दुईवटा बम एउटै निसानामा हान्न सक्नुपर्छ,’ पेप भन्छन्, ‘सायद त्यो काम सम्भव छ। अमेरिकी वायु सेनाको प्राविधिक क्षमतामा मलाई शंका छैन। तर, यो काम साँच्चैको युद्धमा यसअघि कहिल्यै गरिएको छैन।’
यो बमको पूर्ववर्ती करिब १० हजार किलोको मदर अफ अल बम पनि भनिने एमओएबी भने २०१७ मा अफगानिस्तानमा प्रहार गरिएको थियो। जसले नानगारहार प्रान्तमा भयानक विनाश गरेको थियो।
२००२ मा बनाउन थालिएको एमओपी २०११ मा तयार गरिएको थियो। त्यसयता यसमा सुधार गरिँदै आएको छ।
अमेरिकासँग यस्तो बम २० वटा रहेको बताइन्छ। यस्तो एउटा बमको मूल्य करिब ४० लाख डलर पर्न जान्छ।
यसलाई बी२ बमबर्षक विमानले मात्र बोक्न सक्छ। अमेरिकासँग २० वटा बी२ बमवर्षक विमान छ। प्रत्येकले दुईवटा एमओपी बोक्न सक्छ।
यो विमान एकपटक इन्धन भरेकै भरमा ११ हजार किमि उड्न सक्छ भने एकपटक आकाशमै इन्धन भर्न पाए १९ हजार किमि उड्न सक्छ। जसका कारण यो विमान विश्वको जुनसुकै स्थानमा पुग्न सक्छ।
विमान र बमको यत्रो क्षमताका बाबजुद फोर्डो केन्द्रलाई ध्वस्त पार्न अरु कठिनाइ पर्न सक्ने पेप बताउँछन्।
पहिलो त, एकभन्दा बढी बम खसाउन बी२ बमवर्षक विमान एकै ठाउँमा केहीबेर घुमिरहनु पर्ने हुन्छ। त्यसो हुँदा हवाइ प्रतिरक्षा प्रणालीको निसाना बन्न सक्छ।
‘बी२ स्टिल्थ बमवर्षक हो। तर, यो रेडारलाई छल्नेगरी बनाइएको छ। तलपट्टिबाट भने यसलाई प्रस्ट देख्न सकिन्छ। जसका कारण हवाइ प्रतिरोधी क्षेप्यास्त्रका अघि यो यात्रुवाहक विमानजत्तिकै कमजोर हुन्छ।’
दोस्रो चुनौती भनेको यो बमवर्षक विमानलाई निसानासम्म सुरक्षित पुर्याउनु हो।
(फाइनान्सियल टाइम्सबाट)
Shares

प्रतिक्रिया