ad ad

ग्लोबल


अमेरिकाको कोरोना केन्द्र न्युयोर्कमा ४ नेपालीको मृत्यु

अमेरिकाको कोरोना केन्द्र न्युयोर्कमा ४ नेपालीको मृत्यु

नेपालखबर
चैत २३, २०७६ आइतबार १५:२,

अमेरिकामा कोरोना भाइरस (कोभिड—१९) बाट सर्वाधिक मान्छे प्रभावित भएको न्युयोर्कमा ४ जना नेपालीको मृत्यु भएको छ। न्युयोर्कस्थित क्विन्स निवासी सोनाम लामा, ज्याक्सन हाइट निवासी थोक्मे विष्ट, न्युयोर्ककै अजयमान छोँचु र निङ्मा तेम्बा शेर्पाको निधन भएको हो।

न्युयोर्कमा कोरोनाका कारण आइतबारसम्म ३ हजार ५६५ जनाको मृत्यु भएको छ। यो भनेको अहिलेसम्म अमेरिकामा कोरोनाका कारण मृत्यु जम्मा संख्याको करिब आधा हो। 

विश्व स्वास्थ्य संगठनका अनुसार आइतबारसम्म अमेरिकामा ३ लाख १२ हजार ८९ जना कोरोना संक्रमित छन्। ८ हजार ४९९ जनाको ज्यान गएको छ। न्युयोर्कमा १ लाख १४ हजार १७४ संक्रमित छन्।

वासिङ्टन डिसीस्थित नेपाली दूतावास स्रोतले न्युयोर्कमा ४ नेपाली मृत्यु भएको घटना पुष्टि गरेको छ। ‘न्युयोर्कमा शुक्रबार र शनिबार गरी ४ नेपालीको मृत्यु भएको प्रारम्भिक सूचना पाएका छौं। पूर्ण विवरण आउन बाँकी छ’, दूतावास स्रोतले नेपालखबरसँग भन्यो।

पुर्ख्याैली घर मुस्ताङ भएर न्युयोर्क बसोबास गर्दै आएका सोनाम लामा करिब ४० वर्षका थिए। शनिबार उनको आफ्नै कोठामा मृत्यु भएको न्युयोर्क निवासी मिङ्मार लामाले जानकारी दिए।

उनकाअनुसार सोनाम अस्वस्थ भएर केही दिनदेखि घरमै आराम गरिरहेका थिए। ‘फोन कल गर्दा सम्पर्क हुन नसकेपछि घरमा गएर हेरेका थियौं। त्यहाँ मृत्यु भइसकेको रहेछ’, मिङ्मारले नेपालखबरसँग भने। उनको मृत्युको कारण कोरोना संक्रमण वा अरु केही हो खुल्न सकेको छैन। त्यो यकिन हुन मेडिकल रिपोर्ट पर्खिनु पर्ने हुन्छ। त्यसका लागि केही दिन अझै लाग्ने लामाले जनाए। सोनाम १९ वर्षदेखि अमेरिका बसोबास गर्दै आएका थिए। उनको परिवार नेपालमै छन्।

उपल्लो मुस्ताङ लोमाङथाङ पुख्र्यौली घर भएका थोक्मे विष्टको ज्याक्सन हाइटस्थित आफ्नै अपार्टमेन्टमा मृत्यु भएको हो। ४८ वर्षीय विष्ट श्वास फेर्न गाह्रो हुने, टाउको दुख्ने एवं फोक्सोमा समस्या देखिएपछि अस्पताल भर्ना भएका थिए। यी लक्ष्यणहरु कोरोनासँग मिल्ने भए पनि उनको मेडिकल परीक्षणको रिपोर्ट आउन बाँकी छ। उनको परिवार नेपालमै छन्।

अजयमान छोँचुको उपचारका क्रममा मृत्यु भएको हो। निमोनिया देखिएपछि एल्महस्र्ट अस्पताल भर्ना भएका उनको त्यहीँ मृत्यु भएको हो। केही अघिको परीक्षणमा उनमा कोरोना संक्रमण देखिएको थिएन।

पुख्र्यौली घर सोलुखुम्बु भएका निङ्माको शनिबार दिउँसो निधन भएको हो। कलाकारितामा समेत संलग्न उनी न्युयोर्कमा उबर चलाउथे। उनको मृत्यु कारण कोरोना हो होइन भन्ने रिपोर्ट आइसकेको छैन।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .