गैरआवासीय नेपाली संघ (एनआरएनए) का उपाध्यक्ष कुल आचार्य वेलायत आधारित व्यवसायी हुन्। नेपालमा उनको होटल, रियल स्टेट, हाइड्रो, बैंक, फाइनान्स, लघुबित्त, बीमा तथा सिमेन्ट उद्योगमा लगानी छ। एनआरएनए ओमनको राष्ट्रिय अधिवेशनमा सहभागी भई शुक्रबार राति बर्मा उड्नुअघि उनी काठमाडौं ट्रान्जिटमा थिए। एनआरएनएमा डेढ दशकदेखि सक्रिय उनीसँग गैरआवासीय नेपालीको लगानी र एनआरएनएको आगामी निर्वाचनमा केन्द्रित भएर नेपालखबरले गरेको सम्वादः
तपाइँसहितको गैरआवासीय नेपाली संघको टोलीले राज्य व्यवस्था समिति र कानुनमन्त्रीलाई भर्खरै भेट्यो नि। खास के प्रसंगमा हो?
राज्य व्यवस्था समितिमा नागरिकतासम्बन्धी विधेयक विचाराधीन छ। त्यसमा गैरआवासीय नेपालीलाई सर्वसुलभ तरिकाले नागरिकता पाउने व्यवस्था गर्नुपर्छ भनेर हामी सम्बन्धित निकायमा छलफलका लागि गएका हौं।
सर्वसुलभ भन्नुभयो। यसको अलिकति व्याख्या गरिदिनु न कसरी पाउनुपर्छ भन्न खोज्नुभएको हो?
राजनीतिक अधिकार बाहेकको नागरिकता दिइनेछ भनिएको छ। त्यसमा केही व्यवधानहरु छन्। गृह मन्त्रालयबाट त्यस्तो नागरिकता लिने भन्ने छ। हामीले नेपाली दूतावासबाट पनि पाउने व्यवस्था गरियोस् भनिरहेका छौं। नेपालीपन, नेपालीत्व हुनुपर्छ भन्ने कुरामा दुईमत छैन। तर नेपाली भाषा बोल्न लेख्न सक्नेलाई मात्र भनियो भने त्यो अप्ठ्यारो हुनसक्छ। पछिल्लो पुस्ताका गैरआवासीय नेपालीले यो गर्न कति सक्छन् भन्ने कुरा अहिले नै सोचिनु पर्छ। गैरआवासीय नेपाली नागरिकता तीन पुस्तासम्म मात्र दिने भनिएको छ हामीले यसलाई बढाउनुपर्छ भनिरहेका छौं।
केही समय अघि भएको लगानी सम्मेलन अवसरमा एनआरएनले १० अर्बको लगानी कोष खडा गर्ने भनेर एमओयु भएको थियो। यसको लगानी मोडालिटी के हो?
नेपाल सरकारले आयोजना गरेको लगानी सम्मेलनमा गैरआवासीय नेपालीले १० अर्ब रुपयाँ लगानी गर्ने भनेर एमओयु भएको हो। यसका लागि हामीले एक जना फोकल पर्सन चयन गरेका छौं। लगानी मोडालिटीभन्दा पहिला यसको संरचनागत कुराहरु मिलाउनु पर्नेछ। त्यसमा हामीले नेपाल सरकारलाई केही विषयमा अनुरोध गरिरहेको अवस्था हो।
त्यो अनुरोध भनेको के हो?
यहाँ बुझ्नु पर्ने कुरा के छ भने एनआरएनले लगानी गर्ने भनेको सिधै संस्थाले लगानी गर्ने होइन। विभिन्न देशमा छरिएर रहेका गैरआवासीय व्यक्तिले लगानी गर्ने कुरा हो। त्यसैले यो कम्पनीलाई सिधै साधारण सेयर जारी गर्न दिनुपर्छ भन्ने हाम्रो माग छ। त्यस्तो साधारण सेयरमार्फत् गैरआवासीय नेपालीले लगानी गर्छन्। हामीले यो कम्पनीमा थोरै सरकार पनि हिस्सेदार हुनुपर्छ भनिरहेका छौं।
एनआरएन लगानीको कम्पानीमा सरकार किन हिस्सेदार हुनु पर्ने नि?
यसको विशेष अर्थ छ। १० अर्ब लगानी गर्न गैरआवासीय नेपाली सक्षम छन्, पैसा अभावको कुरा होइन। सरकारको लगानी भएमा त्यसले विश्वास र भरोसा बढाउनेछ, संसार भर छरिएर रहेका नेपालीहरूलाइ नेपाल सरकार साझेदार रहने कम्पनीमा हाम्रो लगानी छ भन्ने सन्देश जानेछ। त्यही भएर हामीले यो चाहेको हो। प्रधानमन्त्री केपी शर्मा ओली वेलायत जाँदा पनि मैले यो कुरा उहाँ समक्ष अनुरोध गरेको थिएँ।
सरकारलाई कति प्रतिशत हिस्सेदार बनाउन चाहनुभएको हो?
मैले भनेँ नि त्यो संकेतिक र विशेष अर्थका लागि मात्रै हो। हामीले ५ प्रतिशत हिस्सा रहोस् भन्ने चाहेका छाैं।
दश अर्बको कम्पनीले लगानी कुन क्षेत्रमा गर्ने भनेर परियोजना छान्ने काम भएको हो?
परियोजना छान्ने काम भइसकेको छैन। अहिले त कम्पनी स्थापनाको चरणमै छ। सरकार हिस्सेदार बन्ने निर्णय आउन बाँकी रहेका कारण प्रक्रियागत रुपमा ढिलाइ भइरहेको छ। हामी छिटै यी चरणहरु पार गरेर अघि बढ्छौं।
गैरआवासीय नेपालीको चर्चा धेरै हुने तर त्यो अनुपातमा लगानी थोरै आउने गरेको भन्ने सुनिन्छ। यसमा कुन पक्षले काम गरेको हो?
गैरआवासीय लगानी गैरआवासीय नेपाली संघले गर्ने होइन। त्यो संस्थामा रहेका वा नरहेका व्यक्तिले गर्ने हुन्। यस हिसाबले हेर्दा चर्चा बढी भएको हो कि भनेजस्तो पर्न गएको होला। सानो ठूलो परियोजनामा आ आफ्नो क्षमताअनुसार लगानी भइरहेकै छ। पछिल्लो समय अझ संयुक्त लगानीको मोडलमा थुप्रै लगानी भएका छन्। होटल, हाइड्रो, बैंक, बीमासहितका क्षेत्रमा गैरआवासीय नेपालीले लगानी गरेका छन्।
संयुक्त कोष बनाएर लगानी गर्ने मोडल कति सफल देखिएको छ?
कोपनहेगेन बैठकबाट हामीले १ अर्ब रुपैयाँको कोष खडा गरी संयुक्त लगानी गर्ने भनेर प्रतिबद्धता पारित गरेका थियौं। मेरै नेतृत्वमा भएको त्यो पहलमा बोलेको भन्दा बढी रकम संकलन भयो, मलाई लाग्छ त्यही बेसमा २ अर्बभन्दा बढी लगानी भइसकेको छ। अर्को एनआरएनए माइक्रो फाइनान्स भन्ने नेपालमा स्थापना भएको छ। दुई तीन वटा कम्पनी मर्ज गरेर ग्रामीण क्षेत्रमा त्यसले काम गरिरहेको छ। यसमा मसहित करिब १ सय गैरआवासीय नेपालीको संयुक्त लगानी छ। अरु साथीहरुले पनि समूह बनाएर लगानी गर्नुभएका उदाहरण थुप्रै छन्। त्यसैले संयुक्त कोष बनाएर लगानी गर्ने शैली सफल नै देखिएको छ।
तपाइँको आफ्नै लगानी चाहिँ नेपालमा कुन कुन क्षेत्रमा भएको छ?
मेरो एकल स्वामित्वमा नेपालमा लगानी छैन। अधिकांश लगानी साझेदार वा संयुक्त लगानी नै हो। त्यसमा होटल, रियल स्टेट, हाइड्रो, बैंक, फाइनान्स, लघुबित्त, बीमा, सिमेन्ट उद्योग क्षेत्रमा लगानी गरेको छु।
नेपाली कम्पनीहरुको प्रतिफलबाट सन्तुष्ट हुनुहुन्छ?
विश्वसनीय समूहसँग काम गरेकाले पनि होला नेपाली कम्पनीहरुले राम्रो प्रतिफल दिइरहेका छन्। यहाँ लगानी अवसर छ तर केही समस्या पनि छन्।
एउटा लगानीकर्ताको रुपमा भन्नुपर्दा नेपालमा के के समस्या छन्?
हामीलाई यहाँको कानुन थाहा छ, नियम थाहा छ र व्यापार कसरी चल्छ भन्ने डाइनामिक्स थाहा छ। यसले गर्दा लगानी गर्न सजिलो छ। प्रक्रियागत हिसाबले केही समस्या देखिन्छन्। सरकारले ती कुराहरु विस्तारै सुधार गर्दै लैजानु पर्छ।
अब अलिकति प्रसंग बदलौं। गैरआवासीय नेपाली संघको साधारण सभा नजिक आइरहेको छ। आगामी साधारण सभाले नयाँ नेतृत्व चयन गर्छ अथवा वर्तमान अध्यक्ष भवन भट्टलाई निरन्तरता दिन्छ। के छ अवस्था?
गैर आवासीय नेपाली संघमा आगामी महाधिवेशनले नयाँ नेतृत्व चयन गर्नेछ। पछिल्लो अवस्थामा यसका लागि विभिन्न पदमा विभिन्न आकांक्षीहरु देखिएका छन्। अहिले विभिन्न देशमा राष्ट्रिय अधिवेशन चलिरहेका छन्। त्यसपछि मात्र केन्द्रीय नेतृत्वमा कसरी जाने भन्ने विषयमा छलफल होला। सम्वाद र सहमतिबाट यो पटकको एनआरएनए नेतृत्व चयन हुनेछ भन्ने मरो विश्वास छ। यो विषयमा अहिले नै धेरै बोल्नु छिटो हुन्छ।
तपाइँहरु तिनैजना अकांक्षी हुने अनि सहमतिमै नेतृत्व चयन गर्ने भन्ने कुरा एक आपसमा मिल्दो देखिएन नि?
पहिला सहमतिको प्रयास हुन्छ भन्ने लाग्छ। सहमति बन्न सकेन भने एनआरएनएको परम्परा, मूल्य मान्यताअनुसार विधि प्रक्रिया अघि बढ्छ। प्रजातान्त्रिक पद्धतिअनुसार निष्पक्ष निर्वाचनबाट सशक्त नेतृत्व चयन हुन्छ।
एनआरएनए आगामी अधिवेशनमा तपाइँ पनि अध्यक्ष उम्मेदवार हो?
मलाई पनि धेरै साथीहरुले उठ्नुपर्छ भनिरहनु भएको छ। डेढ दशकदेखि यो संस्थासँग जोडिएको मेरो इतिहास छ। विभिन्न किसिमका जिम्मेवारही बहन गर्दै अहिले उपाध्यक्ष छु। संस्थाभित्र विभिन्न खाले समूह विभाजन हुँदा पनि मसँग सबै क्षेत्र, भेग र राजनीतिक आस्था राख्ने साथीहरु निकट हुनुहन्छ। उहाँहरुले मलाई अघि बढ्नुपर्छ भनिरहनुभएको छ। फेरि उपाध्यक्ष भइसकेको हुनाले अरु विकल्प पनि छैनन्। त्यसैले म अध्यक्षको स्वभाविक उम्मेदवार हुँ।
उपाध्यक्ष पदमा दोहोर्याउने गरेका दृष्टान्तहरु पनि छन् नि?
यो विषयमा बोल्नु एकदम छिटो हुन्छ। सहमतिको अवस्थामा अथवा अरु नै विशेष कारणबस त्यो अभ्यास भएको देखिन्छ। यो पटक के हुन्छ भनेर अहिलै भन्न सकिँदैन।
गैरआवासीय नेपाली संघ भन्नासाथ पूर्व अध्यक्षहरु उपेन्द्र महतो, जीवा लामिछाने र शेष घलेलाई बिर्सन सकिँदैन। कतिपय अवस्थामा अहिले पनि उहाँहरुको प्रभाव संस्थामा छ। तपाइँले पनि चुनाबका लागि उहाँहरुसँग सहयोगको अपेक्षा गर्नुभएको होला नि?
संस्थापक अध्यक्ष, पूर्व अध्यक्षज्यूहरुसँग म नजिक रहेर काम गरेको मान्छे हुँ। संस्थाभित्र मैले नेतृत्व गरेका सबै परियोजना सफल भएको उहाँहरुलाई राम्रैसँग थाहा छ। चाहे शंखमूल पार्क निर्माणको काम होस् अथवा संयुक्त लगानी कोष खडा गर्ने काम। अर्को कुरा उहाँहरुसँग सुमधुर सम्बन्ध रहेका कारण पनि उहाँहरुको समर्थन, शुभेच्छा पाउनेमा म ढुक्क छु।
एनआरएनको निर्वाचनमा यो पटक राजनीति ध्रुवीकरणको पनि असर देखिन्छ भन्ने आँकलन भइरहेका छन् नि?
यो आँकलन कसले किन गरे भन्ने मलाई थाहा भएन। हामीले भन्ने गरेका छौ एनआरएनएमा आउने हो भने राजनीतिक जुत्ता फुकालेर मात्र भित्र आउनोस्। यसका लागि हामीले प्रयास गरिरहेका छौं।
केही अघि कोपनहेगेनमा भएको जनसम्पर्क समिति बैठकमा दुई तिहाइको सरकारको ज्याजदती बढेकाले एनआएनए नेतृत्वमा एकजुट हुनुपर्छ भन्ने प्रस्ताव पारित गरियो भन्ने पनि सुनियो नि?
उहाँहरुको निर्णय, परिस्थिति विश्लेषणबारे मैले टिप्पणी गर्ने कुरा आएन। त्यो मेरो दायराको कुरा पनि होइन। हाम्रो यता एनआरएनएको स्थिति हेर्ने हो भने राजनीति गर्नु हुँदैन भन्दै गर्दा पनि कतै कतै राजनीति भएको देखिएको छ। जसले राजनीति गर्नु हुँदैन भने बोल्छ व्यवहारमा सबैभन्दा बढी राजनीति उसैले गरेको पनि देखिएको छ। तर हामी मन, वचन कर्मले हाम्रो संस्थालाई गैर राजनीतिक बनाएर पवित्र राख्न प्रयासरत छौं। यसको साख र गरिमालाई अझ उँचो बनाउनु पर्छ भन्ने मेरो बुझाइ हो। व्यक्तिगत रुपमा कसैको राजनीतिक चेतना र आस्था हुनसक्छ, त्यसलाई अन्यथा मान्ने कुरा पनि भएन। तर संस्थागत रुपमा त्यो आउनु हुँदैन भन्ने नै हो।
तपाइँ अध्यक्षको उम्मेदवार हुँ भनिसक्नुभयो। चुनाबी रणनीति बनाउने काम पनि सुरु गरिसक्नुभयो होला?
त्यो तहमा पुगिसकेको छैन।
अहिले चुनाबमा तपाइँसहित अध्यक्षका लागि वर्तमान अध्यक्ष भवन भट्ट र अर्का उपाध्यक्ष कुमार पन्त आकांक्षी देखिएका छन्। भोलि सहमति बन्ने अवस्था भयो भने तपाइँको झुकाब कता रहला?
दुवै जना मेरा निकट साथीहरु हुनुहुन्छ। उपाध्यक्षको नाताले वर्तमान अध्यक्ष भवन भट्टलाई मैले सघाउँदै आएको छु। पदीय हिसाबले उहाँको कार्यक्रमहरु अघि बढाउन, कार्यकाल सफल पार्नु लाग्नु मेरो जिम्मेवारी पनि हो। शंखमुल पार्कदेखि संयुक्त लगानी कोष निर्माणसम्मका परियोजना सफल पार्न म सधैँ खटेको कुरा सबैलाई थाहा छ। अर्का आकांक्षी कुमार पन्त पनि मेरो राम्रो साथी हुनुहुन्छ। कतिपय परियोजनामा हामी साझेदार पनि छौं। संस्थाको हित हुने गरी सहमति बन्छ भने त्यसका लागि म तयार नै छु। तर कसैले ‘चान्स’ उठाउन खोज्छ भने सामना गर्न म तयार छु। कता झुकाब बन्छ भन्ने कुरा केही पक्षहरूले निर्धारण गर्नेछन्।
गत चुनाबमा उपाध्यक्ष निर्वाचित भएर तपाइँले त ठूलो फड्को मार्नुभएको हो नि होइन ?
युरोप संयोजकपछि म उपाध्यक्ष भएको हुँ। कसै कसैले यसलाई ठूलो फड्को भन्ने गर्नुभएको छ। तर म १२ वर्षदेखि एनआरएनएका विभिन्न तहका कार्यकारिणी समितिमा जिम्मेवारी बहन गर्दै आएको हुँ। कामको हिसाबले ठूलो फड्को होइन, पदको हिसाबले भन्न सकिएला। त्यसमा सबै साथीहरुको सहयोग रह्यो।
कतिपयले एनआरएनएको चुनाबमा दुई फ्याक्टरलाई सबैभन्दा निर्णायक मानेको देखिन्छ, राजनीति र जनजाति। तपाइँलाई के लाग्छ?
यी मात्र पक्ष हुँदैनन्। अरु धेरै कुराहरु रहन्छन्। राम्रो नेतृत्व आवस् भन्ने सबैको चाहना हुन्छ। केही अघि पूर्व अध्यक्ष शेष घलेसँग पनि छलफल भएको थियो। उहाँहरु पनि सवल नेतृत्वको पक्षमा हुनुहुन्छ। गत चुनाबमा संस्थाका लागि लामो समयदेखि काम गरेका जनजाति साथी पराजित भएपछि मैले सबैभन्दा पहिले जितेका साथीहरु मात्तिनु हुँदैन, सबैलाई समेटेर अघि बढ्नुपर्छ भन्ने कुरा राखेका थिएँ। संस्थामा योगदान हुने उनीहरुलाई समेट्नुपर्छ भनेर केन्द्रीय कमिटीमै कुरा उठाएको थिएँ। अहिले पनि भन्छु, सोनाम लामा, त्रिलोक गुरुङ, दिल गुरुङ, डम्बर घले, पुष्प थापासहितका साथीहरु संस्थामा लामो समयदेखि सकारात्मक रुपमा काम गर्दै आउनुभएको छ। उहाँहरुलाई सम्मानस्वरुप अननरी काउन्सिलमा राख्नुपर्छ भनेर मैले जोडदार माग गरेको थिएँ तर म अल्पमतमा परेँ। संस्थाभित्र विभेदको स्थिति बन्नु हुँदैन। जातीय हिसाबले विभेदको स्थिति बन्ने वातावरण आउनै दिनु हुँदैन। योगदानको कुरा गर्नुहुन्छ भने भूकम्पपछिको राहतमा तमुधी युकेले १ करोड ११ लाख रुपैयाँ सहयोग गरेको थियो। त्यो सबैभन्दा बढी रकम संकलन गर्ने संस्था हो। यस्ता अरू थुप्रै उदाहरणहरू छन्। यो पक्षलाई कसैले नजरअन्दाज गर्नु हुँदैन, मिल्दैन। आउने नेतृत्वले पनि यो तथ्य बुझ्न जरूरी छ।
अध्यक्षमा उम्मेदवार हुनेहरुले टिम बनाउने गरेको उदाहरण छन्। तपाइँको टिम बन्यो त?
अहिले छलफल र भेटघाटकै अवस्थामा छु। त्यो चरणमा पुगिसकेको छैन।
प्रतिक्रिया