ग्लोबल


युक्रेनबारे बेलायतमा युरोपेली देशहरूको बैठक

युक्रेनबारे बेलायतमा युरोपेली देशहरूको बैठक

युक्रेनबारे लन्डनमा आयोजित युराेपेली मुलुकहरूको बैठकमा सहभागी नेताहरू।


नेपालखबर
फागुन १९, २०८१ सोमबार ७:१२, काठमाडौँ

बेलायतका प्रधानमन्त्री केयर स्टारमरको आह्वानमा आइतबार लन्डनमा युक्रेन मुद्दामा छलफल गर्न युरोपेली मुलुक र क्यानडाका नेताहरूको बैठक बसेको छ। 

बैठकमा बेलायती प्रधानमन्त्रीले यो युरोपेली सुरक्षाको लागि महत्त्वपूर्ण अवसर भएको बताए।

बैठकलाई सम्बोधन गर्दै स्टारमरले भने, ‘युक्रेनका लागि राम्रो शान्ति सम्झौता यस महादेशका सबै देशहरूको सुरक्षाका लागि महत्त्वपूर्ण छ।’

बीबीसीका अनुसार बैठकमा युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्की, इटालीका प्रधानमन्त्री जर्जिया मेलोनीलगायत अन्य धेरै नेता सहभागी भएका थिए।

केयर स्टारमरसँगको कुराकानीमा मेलोनीले पश्चिम यस विषयमा एकताबद्ध रहनुपर्ने बताए। 

बैठकमा जानुअघि नेटोका महासचिव मार्क रुटले यसबारे आफू ‘अत्यन्तै सकारात्मक’ रहेको बताए।

उनले बैठकका लागि तीनवटा कुरा महत्त्वपूर्ण रहेको बताए-

पहिलो, युरोपले युक्रेनलाई सहयोग गर्न थप योगदान दिन आवश्यक छ।

दोस्रो, सबैजना शान्ति सम्झौता चाहन्छन्।

तेस्रो, नेटोलाई बलियो राख्नुपर्छ र यसका लागि युरोपले आफ्नो रक्षा खर्च बढाउनेछ।

ट्रम्प र जेलेन्स्कीबीचको चर्को बहसपछि केयर स्टारमरले ट्रम्पसँग कुरा गरेको बताएका छन्। यो घटनापछि फ्रान्सेली राष्ट्रपति इमानुएल म्याक्रोनले पनि ट्रम्पसँग कुरा गरेका छन्।

शिखर सम्मेलन सुरु गर्दै बेलायती प्रधानमन्त्री केयर स्टारमरले एजेन्डा जानकारी गराए। 

उनले भने, ‘हालैका दिनमा भएका वार्तामा हामी युद्ध रोक्ने योजनामा ​​युक्रेनसँग काम गर्ने, यसपछि अमेरिकासँग वार्ता गर्ने र यसलाई सँगसँगै अगाडि बढाउने कुरामा सहमत भयौँ।’

‘रुसले शान्तिको बारेमा कुरा गरे पनि ऊ आक्रामक भइरहन्छ। एजेन्डा यही हो र सबैको हितका लागि शक्तिमार्फत शान्तिको योजना बनाउनु आवश्यक छ, जसमा सबै सहमत हुन आवश्यक छ।’

बैठकअघि बीबीसीसँग कुरा गर्दै स्टारमरले रुस-युक्रेन युद्ध रोक्न युक्रेन र फ्रान्ससँग मिलेर काम गर्ने बताए। 

यसअघि शुक्रबार भोलोदिमिर जेलेन्स्की वासिङटन पुगेर अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र उपराष्ट्रपति जेडी भान्ससँग भेटवार्ता गरेका थिए। तर कुनै सहमतिमा पुग्नुको साटो दुई पक्षबीच चर्काचर्की भएको थियो। जसको समाचार संसारभर छाएको छ। 

यसपछि जेलेन्स्की शनिबार लन्डन पुगेका थिए। जहाँ बेलायती प्रधानमन्त्री स्टारमरले उनलाई न्यानो स्वागत गर्दै आफू युक्रेनको साथमा रहेको बताएका थिए। 

स्टारमरकै आह्वानमा आइतबार लन्डनमा आयोजित युरोपेली नेताहरूको बैठकलाई महत्त्वपूर्ण मानिएको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad