ग्लोबल


जापानमा भीषण डढेलो, ८० भन्दा बढी भवनमा क्षति

जापानमा भीषण डढेलो, ८० भन्दा बढी भवनमा क्षति

नेपालखबर
फागुन १५, २०८१ बिहिबार १३:१८, टोकियो

उत्तरी जापानमा लागेको डढेलोका कारण ८० भन्दा बढी भवनमा क्षति पुगेको छ भने सयौँ बासिन्दालाई सुरक्षित स्थानमा सारिएको छ।

सार्वजनिक प्रसारक एनएचकेमा प्रसारण गरिएको फुटेजमा इवाते क्षेत्रको ओफुनातोको जङ्गली क्षेत्रमा आगोले धेरै घर जलेको फ्रेममा परिणत भएको देखाइएको छ।

स्थानीय नगरपालिकाले दिएको जानकारीअनुसार नजिकैका करिब ६०० बासिन्दालाई सुरक्षित स्थानमा सारिएको छ।

बिहीबार बिहानसम्म सहरका अधिकारीहरूले आगोबाट कम्तीमा ८४ वटा भवनमा क्षति पुगेको अनुमान गरेका छन्। सेल्फ डिफेन्स फोर्सेजले डढेलोलाई आकाशबाट निभाउने प्रयास गरिरहेको तर अझै नियन्त्रणमा लिन नसकिएको बताएको छ।

ओफुनातोका मेयर कियोशी फुचिगामीले बुधबार साँझ भएको आगलागीलाई ’ठूलो परिमाणको’ भन्दै मोनाकोभन्दा तीन गुणा बढी ६०० हेक्टर (१,५०० एकड) जमिन जलेर नष्ट भएको बताएका छन्। 

आगलागीको कारण भने खुल्न नसकेको उनले बताए। 

सन् २०२३ फेब्रुअरीदेखि अप्रिलको अवधिमा जापानमा करिब एक हजार ३०० वटा बढी डढेलो लागेको थियो।

फुचिगामीका अनुसार इवातेमा लागेको पछिल्लो डढेलोको अवस्थामा पश्चिमबाट आएको तीव्र बतासले सोही क्षेत्रमा ससाना डढेलोको शृङ्खला फैलाउन मद्दत गरेको छ।

उद्धार गरिएकी ४५ वर्षीया एक महिलाले एनएचकेसँग आफू कामबाट फर्किँदा आगो आफ्नो घरनजिक आइरहेको बताइन्। उनले भनिन्, ‘मेरा बच्चाहरू सुरक्षित छन् भन्ने जानकारी प्राप्त गरेपछि मलाई राहत महसुस भयो।’ 

अर्का ३२ वर्षीय व्यक्तिले एनएचकेसँग भने, ‘यति तीव्र गतिमा डढेलो लागेको मैले पहिलोपटक देखेको हुँ।’ रासस/एएफपी

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad