बंगलादेशको अन्तरिम सरकारका सूचना सल्लाहकार तथा विद्यार्थी आन्दोलनका प्रमुख नेता नाहिद इस्लामले सल्लाहकार परिषद्बाट राजीनामा दिएका छन्।
नाहिद इस्लामले बंगलादेशको अन्तरिम सरकारका प्रमुख मोहम्मद युनुससमक्ष मंगलबार राजीनामा बुझाएका छन्। नाहिद इस्लामले राजीनामा दिनुको नयाँ राजनीतिक दलमा प्रवेश रहेको बताएका छन्।
नाहिद इस्लामले आफ्नो राजीनामा पत्रमा लेखेका छन्, ‘प्रदर्शनपछि विद्यार्थी र जनताको अपीलमा नयाँ बंगलादेश निर्माणको जिम्मेवारी लिनुभएकोमा म तपाई (मोहम्मद युनुस) प्रति धेरै आभारी छु। सल्लाहकार परिषद्मा मलाई हुलाक, दूरसञ्चार तथा सूचना प्रविधि मन्त्रालय, सूचना तथा प्रसारण मन्त्रालयको जिम्मेवारी दिइएको थियो। विभिन्न चुनौतीका बाबजुद पनि तपाईको नेतृत्वमा मैले आफ्नो जिम्मेवारी पूरा गर्ने प्रयास गरेको छु। तर वर्तमान परिस्थितिमा देशको बृहत्तर हितमा विद्यार्थी र जनताको बीचमा उपस्थित रहनुपर्छ भन्ने मलाई लाग्छ, त्यसैले पदबाट राजीनामा दिनु उचित ठान्छु।’
गत वर्ष बंगलादेशमा विद्यार्थीहरूको नेतृत्वमा सरकारविरुद्ध विरोध प्रदर्शन भएको थियो।
त्यसपछि तत्कालीन प्रधानमन्त्री शेख हसिना देश छाडेर भारत भागिन्। अहिले उनी भारतकै शरणमा छिन्।
Shares

प्रतिक्रिया