आज (फागुन ८ गते) देखि दिल्लीमा 'रेखा सरकार' बनेको छ।
दिल्ली विधानसभा चुनावअन्तर्गत शालिमार बाग सिटबाट पहिलोपटक विधायक बनेकी रेखा गुप्ता (५०) ले बिहीबार दिल्लीको रामलीला मैदानमा मुख्यमन्त्रीको शपथ खाएकी हुन्।
उनी दिल्लीकी नवौँ र चौथो महिला मुख्यमन्त्री बनेकी छन्।
रेखाभन्दा अगाडि दिल्लीमा सुषमा स्वराज, शीला दीक्षित र आतिशी महिला मुख्यमन्त्री बनेका थिए।
बिहीबार मुख्यमन्त्री रेखा गुप्तासँगै एलजीले प्रवेश वर्मा, मन्जिंदर सिंह सिरसा, रवीन्द्र इन्दराज सिंह, आशिष सुद, कपिल मिश्रा र पंकज कुमार सिंहले मन्त्री पदको शपथ खाए।
शपथ कार्यक्रममा प्रधानमन्त्री मोदी र अमित शाहलगायत भाजपा शासित सहित २१ राज्यका मुख्यमन्त्री र उपमुख्यमन्त्री उपस्थित भएका थिए। तर आम आदमी पार्टीका नेता अरविन्द केजरीवाल र आतिशी रेखाको शपथमा सहभागी भएनन्।
रेखाले भनिन्- म सिसाको महलमा बस्दिनँ
शपथ खानुअघि रेखा गुप्ताले बिहीबार बिहान मिडियालाई भनिन्, 'यो एउटा ठूलो जिम्मेवारी हो। मलाई विश्वास गरेकामा म प्रधानमन्त्री मोदी र पार्टी हाइकमान्डलाई धन्यवाद दिन्छु। मैले कहिल्यै सोचेको थिइनँ कि म दिल्लीको मुख्यमन्त्री बन्छु। म ‘शीशमहल’ (सिसाको महल) मा बस्ने छैन।’
दिल्लीका मुख्यमन्त्रीको आधिकारिक निवासलाई भाजपाले ‘शीशमहल’ नाम दिएको थियो।
यो भवन अरविन्द केजरीवालले निर्माण गराएका थिए।
भाजपाले केजरीवालले नियम उल्लंघन गर्दै करोडौँ रुपैयाँ खर्च गरेर यो भवन बनाएको आरोप लगाएको छ।
भाजपाले यसलाई चुनावी मुद्दासमेत बनाएको थियो।
Shares

प्रतिक्रिया