ग्लोबल


हमासलाई ट्रम्पपछि नेतन्याहुको चेतावनीः शनिबारसम्म बन्धक नछाडे फेरि लडाइँ

हमासलाई ट्रम्पपछि नेतन्याहुको चेतावनीः शनिबारसम्म बन्धक नछाडे फेरि लडाइँ

इजरायली प्रधानमन्त्री बेन्जामिन नेतन्याहु


नेपालखबर
माघ ३०, २०८१ बुधबार १२:४१, काठमाडौँ

इजरायली बन्धकहरूको रिहाइ रोक्ने घोषणा गरेको हमासलाई अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पपछि इजरायली प्रधानमन्त्री बेन्जामिन नेतन्याहुले चेतावनी दिएका छन्।

बीबीसीका अनुसार नेतन्याहुले शनिबारसम्म हमासले बन्धक बनाइएका नागरिक नछाडे युद्धविराम अन्त्य गरी फेरि लडाइँ सुरु गर्ने चेतावनी दिएका हुन्। 

नेतन्याहूले भने, ‘हमासले शनिबार दिउँसोसम्म हाम्रा बन्धकहरू रिहा गरेन भने, हामी गाजामा युद्धविराम अन्त्य गर्नेछौँ र फेरि लडाइँ सुरु गर्नेछौँ।’

नेतन्याहुले शनिबारसम्ममा बाँकी सबै ७६ बन्धक रिहाइको कुरा गरेका हुन् वा ३ जनाको मात्र रिहाइको कुरा गरेका हुन्, स्पष्ट पारेनन्।

किनभने हमासले यसअघि एकपटकमा प्राय: ३ बन्धक मात्र छाडेको छ।  

तर नेतन्याहुका एक मन्त्रीले उनको भनाइको अर्थ ‘सबैजना’ भएको बताएका छन्। 

नतन्याहुले हमासले बन्धकहरूको रिहाइ रोक्ने बताएपछि इजरायली सेनालाई गाजा र वरपर केन्द्रित हुन आदेश दिएका छन्।

हमासले सोमबार विज्ञप्ति जारी गरी इजरायलले युद्धविराम सम्झौता उल्लंघन गरेका कारण अब बन्धक रिहाइ रोक्ने बताएको थियो। 

यसपछि अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले शनिबारसम्म बन्धक बनाइएका सबै नागरिक रिहा नगरे इजरायलले युद्धविराम सम्झौता रद्द गर्नुपर्ने बताएका थिए।

तर पछि हमासले स्थितिमा सुधार आए आफू शनिबार बन्धकहरू रिहा गर्न तयार नै रहेको बताएको छ। 

हमास र इजरायलबीच जनवरी १९ देखि युद्धविराम छ। 

त्यसयता हमासले पाँच खेप गरेर १६ जना इजरायली र ५ जना थाई बन्धक रिहा गरिसकेको छ। बदलामा इजरायलले ५६६ प्यालेस्टिनी कैदी छाडिदिएको छ। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad