ग्लोबल


संकटमा इजरायल-हमास युद्धविराम, आगोमा घ्यु थप्दै ट्रम्प

संकटमा इजरायल-हमास युद्धविराम, आगोमा घ्यु थप्दै ट्रम्प

नेपालखबर
माघ २९, २०८१ मंगलबार २०:६,

इजरायल र हमासबीचको युद्धविराम गम्भीर संकटमा परेको छ। इजरायली पक्षले युद्धविराम सम्झौताका सर्तहरू उल्लंघन गरेको आरोप लगाउँदै हमासले बन्धक रिहा प्रक्रिया रोकेको छ।

युद्धविरामका बेला पनि इजरायली सेनाले गोली चलाएर गाजाबासीको ज्यान लिइरहेको छ। त्यस्तै गाजामा सेनाको संख्या बढाएको, आफ्नो स्थानमा फर्किन लागेका गाजाबासीलाई अवरोध गरेको लगायतका आरोप पनि हमासले इजरायलमाथि लगाएको छ।

त्यसपछि इजरायल र अमेरिकाले हिंसाको चेतावनी दिएका छन्। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले शनिबारसम्ममा सम्पूर्ण बन्धक रिहा नभए सम्झौता भंग गर्नुपर्ने बताएका छन्। 

ट्रम्पले इजरायली प्रधानमन्त्री बेन्यामिन नेतन्याहुसँगको भेटपछि गाजापट्टी अमेरिकाले कब्जा गर्ने बताएका थिए। गाजाका बासिन्दालाई त्यहाँबाट अन्यन्त्र पठाउनुपर्ने उनको भनाइ छ।

ट्रम्पको यस्तो अभिव्यक्तिलाई इजरायलले अनुमोदन गरेको छ। इजरायली सेनालाई गाजाका नागरिकलाई सो ठाउँ छाड्न उत्प्रेरित गर्न आदेश दिइएको छ। 

नाजुक युद्धविराममाथि संकट पैदा भएसँगै इजरायलले युद्धको तयारी पनि थालेको संकेत देखिन्छ। इजरायली सेनाले सैनिकका लागि छुट्टी रद्द गरेको छ भने गाजावरिपरि सैन्य संख्या पनि वृद्धि गरेको छ।

हमासले भने इजरायलले युद्धविरामका सर्त पालना गरे मात्रै बन्धक घर फर्किने बताएको छ। उसले धम्कीको भाषा प्रयोग नगर्न पनि चेताएको छ।

ट्रम्पको उत्तेजक अभिव्यक्तिले परिस्थितिलाई झनै गम्भीर तुल्याइरहेको छ। गाजाबासीलाई हटाउने ट्रम्पको अभिव्यक्ति र त्यसलाई अनुमोदन गर्ने इजरायली कदमका कारण सम्भवतः हमासले युद्ध अवश्यंभावी देखेको हुनुपर्छ।

सोही त्रासका कारण उसले बन्धक रिहा रोकेको अनुमान कतिपय विश्लेषकले गरेका छन्। एजेन्सी

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad