ad ad

ग्लोबल


उन्माद र भयका साथ राम मन्दिरको प्राणप्रतिष्ठा पर्खिरहेको भारत

उन्माद र भयका साथ राम मन्दिरको प्राणप्रतिष्ठा पर्खिरहेको भारत

नेपालखबर
माघ ६, २०८० शनिबार २१:३,

एक महिनायता मध्य भारतको यवतमाल जिल्लाका सर्पजस्ता नागबेली सडकमा मिनिट्रक दौडिरहेका देखिन्छन्।

महाराष्ट्र राज्यको यवतमाल जिल्ला निकै ठूलो कृषि संकटबाट गुज्रिरहेको छ। गत दुई दशकमा यहाँका ५ हजार ८०० भन्दा बढी किसानले आत्महत्या गरिसकेका छन्। 

तर, ट्रकका लस्करले यी किसानका लागि कुनै राहत सामग्री ल्याएको होइन। बरु भगवान रामको तस्बिर टाँसिएका यी ट्रक अन्नदान गर्न आग्रह गर्दै किसानको घरघर पुगिरहेका छन्।

त्यो अन्न अयोध्या पुर्‍याइँदैछ। जहाँ जनवरी २२ का दिन प्रधानमन्त्री नरेन्द्र मोदीले राममन्दिरको प्राणप्रतिष्ठा गराउँदैछन्। र, त्यो अन्न सो समारोहमा सहभागी हुने लाखौँ भक्तजनलाई खुवाइनेछ।

र, यी ट्रक विश्व हिन्दु परिषदले सञ्चालन गरेको हो। 

यवतमालको संविधान चोकमा कामदारहरू हतारहतार ट्रकमा अन्न भरिरहेका छन्। ‘हामीले दानमा पाएको अन्नले तीन वटा ट्रक भरिसक्यौँ, यो चौथो हो,’ परिषदका विधर्भ प्रान्तका अध्यक्ष राजु निवाल भन्छन्। किसानहरूलाई परिचालन गर्न र राममन्दिर उद्घाटनमा सहभागी भएको महसुस गराउन अन्न उठाइएको परिषदका कार्यकर्ताको भनाइ छ।

मोदी सरकार र उसका सहयोगीहरू मुलुकभर यही भाव फैलाउन सफल भएका छन्।

धर्मशास्त्रहरूमा अयोध्यालाई राम जन्मभूमि भनिएको छ। सो स्थानमा १९९० को दशकसम्म मस्जिद थियो। सो मस्जिद भएको स्थानमा राम मन्दिर निर्माणका लागि सात दशकयता भएका प्रयासहरू हिंसा र तिक्त आरोप्रत्यारोपको चरणबाट गुज्रिएका थिए। सो क्रममा २ हजारभन्दा बढीको ज्यान गएको आकलन छ।

तर, मन्दिर उद्घाटनको दिन नजिकिँदै गर्दा ठूलो धुमधाम भइरहेको छ, जसले यसको दुखद विगतलाई बेवास्ता गर्छ।

मन्दिरको प्राणप्रतिष्ठाको चर्चा जहाँसुकै छ। सामाजिक सञ्जालदेखि स्कुलसम्म। म्युजिक प्लाटफर्म ‘राम फर्किंदैछन्’ भनेर मानिसहरूलाई खुसी हुन जोड गरिरहेका गीतले भरिएका छन्। रामको जीवनकथामा आधारित नयाँ टीभी शोहरू बनेका छन्। रियालिटी टीभी शोहरूले पनि रामको प्रशस्ति गर्नमा सिंगो एपिसोड नै खर्चिएका छन्। तिनले स्टुडिओमै अस्थायी मन्दिर बनाएका छन्। 

न्युज टीभी च्यानलका गाडीहरूले ठुल्ठूला रामको स्टिकर टाँसेका छन्। समाचार स्टुडिओहरूमा भइरहेका बहसको पृष्ठभूमिमा रामको ठूला कटआउट राखिएका छन्। भारतको सबैभन्दा ठूलो एयरलाइन इन्डिगोले अहमदाबादबाट अयोध्यासम्मको पहिलो उडानमा चालक दलका सदस्यलाई राम, सीता र लक्ष्मणको भेषमा विमान चढायो।

शुक्रबार भारतको सबैभन्दा ठूलोमध्येको सिनेमा चेन पीभीआरले आजतक च्यानलसँगको सहकार्यमा सिनेमा हलमा मन्दिर उद्घाटनको दृश्य प्रत्यक्ष प्रसारण गर्ने बताएको छ। सो अवसरमा हलमा रहेका सबैलाई निशुल्क ‘पपकर्न कम्बो’ वितरण गर्ने पनि जनाएको छ।

ह्वाट्सएप र इन्स्टाग्राममा मन्दिर उद्घाटनसम्बन्धी भिडिओ र रिल भाइरल भइरहेका छन्। एउटा तस्बिरमा विशाल आकृतिका मोदी रामलाई मन्दिरतर्फ डोर्‍याउँदैछन्।

यी सबै गतिविधिलाई मोदीले अनुमोदन गरेका छन्। उनको ट्विटर गतिविधि नियाल्दा देखिन्छ– यो महिना उनले रामसम्बन्धी १६ गीत ट्विट गरेका छन्। उनले यस्ता ६२ वटा गीतका प्लेलिस्ट नै बनाएर पोस्ट गरेका छन्। जनवरीयता उनले ह्वाट्सएप च्यानलमा गरेका १४ मध्ये ५ वटा पोस्ट राम मन्दिर उद्घाटनसँग सम्बन्धित छन्।

यसबाट उत्साहित भएका कयौँ ठूला गायकगायिकाले पछिल्ला केही सातामा यस्तै गीत लिएर आएका छन्। जसमा सोनु निगम, जुबिन नौटियाल, शान, उदित नारायण, अल्का याग्निक, कैलाश खेर, अमित त्रिवेदी र अनु मल्लिकसम्म छन्। यी म्युजिक भिडिओमध्ये धेरैमा मोदीको तस्बिर छ। 

तर, यो खुसियालीका माझ राममन्दिर निर्माण अभियानसँग जोडिएको रक्तरञ्जित विगतलाई भुलेको थुप्रैको भनाइ छ।

फेरि १९४७?
१६ औँ शताब्दीमा निर्मित बाबरी मस्जिद विध्वंसको रिपोर्टिङ गरेका लेखक निलञ्जन मुखोपाध्याय अहिलेको उल्लासमा १५ अगस्ट १९४७ कै स्थिति झल्किने बताउँछन्। त्यो दिन भारतले बेलायती उपनिवेशबाट स्वतन्त्रता प्राप्त गरेको थियो। अर्कोतिर त्यही समय भारत धार्मिक घृणामा डुब्दै थियो, जसले यो देशलाई दुई भागमा विभाजन गरेको थियो।

‘जनवरी २२ र १५ अगस्ट १९४७ का बीचमा आश्चर्यजनक समानता छन्। स्वतन्त्रतालाई लिएर मनाइएको उल्लासका सम्बन्धमा होइन विभाजनका बेला भएका दुखान्तका सम्बन्धमा,’ उनी भन्छन्।

उनी हालै एक मुस्लिम मित्रसँगको संवाद सम्झिन्छन्। ती मित्रले मुस्लिमहरूले एकअर्कालाई जनवरी २२ मा सार्वजनकि यातायातमा यात्रा नगर्न र मुसलमानको परिचय नखोल्न सुझाएको बताएको मुखोपाध्यायले सुनाए। 

‘अर्कोतिर, विजयोन्मत्त हिन्दुहरू यो डरबाट आनन्द लिइरहेका छन्। धेरैमा सामूहिक विजयभाव छ,’ मुखोपाध्याय भन्छन्।

तर, यो डर र भय चर्चाबाट लुकेको छ।

युवा लक्षित उत्सव
केही सहरमा गर्भवतीहरूले मन्दिर उद्घाटनकै दिन सन्तान जन्माउन शल्यक्रियाको आग्रह गरेका छन्। भारतको बार काउन्सिलले सर्वोच्च अदालतका प्रधानन्यायाधीश डीवाई चन्द्रचुडसँग जनवरी २२ का दिन मुलुकभरका अदालत बन्द गरिदिन आग्रह गरेको छ। ताकि वकिल र कर्मचारी सो समारोहमा सहभागी हुन सकून्। सोमबार सेयर बजार समेत बन्द हुनेछ। त्यसको सट्टा जनवरी २० अर्थात् शनिबार सेयर बजार खुल्नेछ।

यस्तो उत्सव भारतको युवा जनसंख्यालाई लक्षित गरेर मनाइएको धेरैको भनाइ छ। देशको आधा जनसंख्या २५ वर्षमुनिको छ। ती सबै बाबरी मस्जिदमा भएको हिंसाको एक दशकपछि जन्मिएका हुन्।

‘आजका युवाहरूलाई बाबरी मस्जिदबारे केही थाहा छैन। उनीहरूलाई यसको इतिहास बताइएको छैन,’ समाजशास्त्री नन्दिनी सरदेसाइ भन्छिन्, ‘धर्म अब एउटा संस्था मात्र होइन। यो लोकप्रिय संस्कृतिको हिस्सा बनेको छ। त्यसैले संगीत, नृत्यदेखि फिल्मसम्म धर्मको तत्व छ।’

मुम्बईमा भाजपाका मन्त्री मंगल प्रभात लोधाले सार्वजनिक स्कुलका विद्यार्थीहरूलाई रामबारे निबन्ध, कविता, नाटक लेख्न र उनको तस्बिर बनाउन आह्वान गरेका छन्। सरकारी च्यानल दुरदर्शनमा रामकथा प्रसारण गरिरहेको छ। मोदी सरकारले जनवरी २२ का दिन सबै सरकारी कर्मचारीलाई आधा दिनको छुट्टी दिएको छ। भाजपाको सत्ता रहेका पाँच राज्यले पनि सोमबार सार्वजनिक छुट्टी दिएका छन्। कतिपयले त त्यो दिन मदिरा बेच्न पनि प्रतिबन्ध लगाएका छन्।

मुस्लिमहरूको अवस्था
मुम्बई ४४ वर्षीय अब्दुल वहिद शेखलाई यो खुसियालीले पीडा मात्र याद दिलाउँछ। 

मुम्बईका सडक गेरुवा रङका पताका र रामको तस्बिरले सिँगारिएका छन्। बिलबोर्डहरूमा पनि नयाँ वर्षको अभिवादनका साथमा रामकै तस्बिर राखिएको छ।

बाबरी मस्जिद ध्वस्त पारिँदा शेख १३ वर्षका थिए। पूर्वी मुम्बईमा त्यसपछि फैलिएको घृणाको साक्षी उनी थिए। उनको छिमेकमा हिन्दु दक्षिणपन्थीहरूले मुस्लिमका घरहरूमा आक्रमण गरे।

‘ती दिनमा मुस्लिमहरू आफैँ कर्फ्यु लगाएसरह भएर बसे,’ शेख भन्छन्।

तर, त्यो हिंसालाई यसै बिर्सिएको उनको भनाइ छ।

‘जब सरकार तपाईंको पक्षमा हुन्छ, अपराध समेत उत्सव बन्छ,’ उनी भन्छन्।

ती दिनमा उनले भोगेको डर अझै समाप्त भएको छैन।

‘जनवरी २२ नजिकिँदै गर्दा थुप्रै मुस्लिमहरू आपसमा त्यो दिन घरै बस्ने र हिन्दु राष्ट्रवादीहरूको उक्साहटमा नपर्ने सल्लाह गर्दैछन्,’ उनले भने।

शेखजस्ता मुस्लिमहरूका लागि जनवरी २२ पनि फेरि आफैँले लगाएको कर्फ्यु हुनेछ। अल जजिराबाट

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .