ग्लोबल


चीनमा ब्राजिली राष्ट्रपतिको आह्वान : व्यापारमा डलरको बर्चस्व अन्त्य गरौँ

‘विश्वको भूराजनीति सन्तुलित गरौँ, अमेरिकाले युद्धबाट फाइदा लिन छाडोस्’
चीनमा ब्राजिली राष्ट्रपतिको आह्वान : व्यापारमा डलरको बर्चस्व अन्त्य गरौँ

नेपालखबर
बैशाख २, २०८० शनिबार १९:१,

ब्राजिलका राष्ट्रपति लुइ इनासियो लुला दा सिल्भाले विश्वको भूराजनीति सन्तुलित पार्न आफूले चीनसँग सहकार्य गर्न चाहेको बताएका छन्। चीनको तीन दिने भ्रमण टुंग्याउँदै उनले यस्तो बताएका हुन्।

‘हामी हाम्रा दुई मुलुकबीचको रणनीतिक साझेदारीको स्तरोन्नति गर्न चाहन्छौँ। व्यापार विस्तार गर्न चाहन्छौँ र चीनसँग मिलेर विश्वको भूराजनीति सन्तुलित पार्न चाहन्छौँ,’ जेलबाट निस्केर तेस्रो कार्यकालका लागि राष्ट्रपति बनेका लुलाले भने।

लुलाले ब्राजिललाई फेरि विश्वमञ्चमा फर्काउने कोसिस गरिरहेका छन्। यी ७७ वर्षीय नेता बहुध्रुवीय विश्वको पक्षपाती हुन् भने बहुपक्षीय संस्थाहरुको भूमिका ब्युँताउने उनको कोसिस जारी छ।

लुलालाई बेइजिङमा न्यानो स्वागत गरिएको थियो। राष्ट्रपति सी चिनफिङले उनलाई ‘असल र पुराना मित्र’ भनेर सम्बोधन गरे। 

दुई पक्षबीच १० अर्ब डलर बराबरका एक दर्जनभन्दा बढी सम्झौताहरुमा हस्ताक्षर भएको छ। जसमा पूर्वाधार, स्याटेलाइट निर्माणदेखि व्यापार सहजीकरणसम्मका विषय छन्।

ब्राजिल र चीन दुवै ब्रिक्सका सदस्य हुन्। जसलाई सक्रिय पार्ने इच्छा लुलाले व्यक्त गरेका छन्। चीनमा छँदा उनले डलरको बर्चस्व अन्त्य गर्न पनि आह्वान गरे।

‘प्रत्येक रात म आफैँलाई सोध्छु, सबै मुलुकले आफ्नो व्यापार किन डलरकै आधारमा गर्नुपरेको होला,’ लुलाले बिहीबार सांघाइमा भने, ‘हामी हाम्रै मुद्रामा व्यापार गर्न किन सक्दैनौँ?’

उनले त्यसो भनिरहँदा ब्राजिली र चिनियाँ अधिकारीहरु रहेको दर्शकदिर्घामा ताली गड्गडाहट सुनिएको थियो।

उनको यो भनाइले वासिङ्टनका नीति निर्माताहरुको कान ठडिएको छ।

अझ सीका साथमा सम्बोधन गर्दै उनले अमेरिकाले अनेक प्रतिबन्ध लगाएको हुवावे भ्रमण गरेको समेत बताए।

‘हिजो हामीले हुवावे भ्रमण गर्यौँ। हामी विश्वलाई भन्न चाहन्छौँ, चिनियाँहरुसँगको हाम्रो सम्बन्धमा कुनै पक्षपात छैन र कसैले पनि चीनसँग सम्बन्ध सुधार गर्नबाट ब्राजिललाई रोक्न सक्दैन,’ उनले भने।

शुक्रबार सी र लुलाले संयुक्त वक्तव्य जारी गर्दै युक्रेन युद्ध अन्त्यको एउटै उपाय वार्ता भएको बताएका छन्। 

चीन भ्रमणअघि लुलाले युद्धमा सामेल नभएका मुलुकहरुको एउटा ‘शान्ति क्लब’ गठन गर्नुपर्ने बताएका थिए। शनिबार पनि लुलाले सोही कुरा बताए।

‘अर्को महत्वपूर्ण मुलुक अमेरिका हो। अमेरिकाले युद्धबाट फाइदा लिन छाड्नुपर्छ र शान्तिका बारेमा कुरा गर्न थाल्नुपर्छ,’ लुलाले भने। फाइनान्सियल टाइम्सबाट

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad