ग्लोबल


उत्तर कोरियाद्वारा ब्यालेस्टिक क्षेप्यास्त्र प्रहार

उत्तर कोरियाद्वारा ब्यालेस्टिक क्षेप्यास्त्र प्रहार

फाइल तस्बिर


नेपालखबर
फागुन २६, २०७९ शुक्रबार ६:४, काठमाडौँ

उत्तर कोरियाले छोटो दूरीको ब्यालेस्टिक क्षेप्यास्त्र प्रक्षेपण गरेको छ। 

दक्षिण कोरिया र संयुक्त राज्य अमेरिकाले संयुक्त सैन्य अभ्यास सुरु गर्नुभन्दा केही दिनअघि बिहीबार उत्तर कोरियाले ब्यालेस्टिक क्षेप्यास्त्र प्रहार गरेको सियोलस्थित सैनिक स्रोतले जनाएको छ। 

आणविक शक्ति सम्पन्न उत्तर कोरियाले थप उत्तेजक प्रतिबन्धित हतियार परीक्षण गरिरहेको छ। जवाफमा सियोलले वासिङ्टनसँग सुरक्षा सहयोग बढाउन कदम चालेपछि दुई कोरियाबीचको सम्बन्ध दशकौँ यताकै सबैभन्दा खराब बिन्दुमा पुगेको छ। 

गत वर्ष किम जोङ उनको सरकारले उत्तर कोरियालाई ‘अपरिवर्तनीय’ आणविक शक्ति घोषणा गरेको थियो। 

सहयोगी सियोलको रक्षाका लागि अमेरिकाले यस क्षेत्रमा थप सम्पत्ति स्थानान्तरण गर्न खोजिरहेको छ। उसले सामरिक आणविक हतियारको उत्पादनमा तीव्र वृद्धि गर्ने प्रतिबद्धता व्यक्त गरेको थियो। 

सियोलको ‘ज्वाइन्ट चिफ अफ स्टाफ’ले उत्तर कोरियाको पश्चिमी बन्दरगाह शहर नाम्पोबाट स्थानीय समयअनुसार साँझ ६ः२० बजे छोटो दूरीको ब्यालेस्टिक क्षेप्यास्त्र प्रक्षेपण भएको पत्ता लगाएको जनाएको छ। 

 ‘हामीले निगरानी र सतर्कता लाई मजबुत बनाएका छौँ। हाम्रो सेनाले अमेरिकासँग नजिकबाट सहकार्य गर्दै प्रतिवादको पूर्ण तयारी गरेको छ,’ उत्तर कोरियाले जारी गरेको विज्ञप्तिमा भनिएको छ। 

उत्तर कोरियाले लामो समयदेखि आफ्नो आणविक हतियार र क्षेप्यास्त्र कार्यक्रम आत्मरक्षाका लागि भएको दाबी गर्दै आएको छ र अमेरिका र दक्षिण कोरियाको सैन्य अभ्यासलाई आक्रमणको पूर्वाभ्यासको संज्ञा दिँदै आएका छन्। 

यसै साताको सुरुमा उत्तर कोरियाले अमेरिकाले ‘जानाजानी’ तनाव बढाएको आरोप लगाएको थियो। किमकी शक्तिशाली बहिनीले प्योङयाङको क्षेप्यास्त्र परीक्षणलाई अमेरिकाले रोकेमा यसलाई ‘युद्धको स्पष्ट घोषणा’ का रूपमा हेर्ने चेतावनी दिएकी छन्। 

सन् २०१९ मा किम र तत्कालीन अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पबीचको वार्ता असफल भएपछि कूटनीतिक सम्वाद अवरुद्ध भएको छ। त्यसयता उत्तर कोरियाले सैन्य विकासमा दोब्बर वृद्धि गरेको छ। 

प्योङयाङको बढ्दो खतराको सामना गर्दै दक्षिण कोरियाका राष्ट्रपति युन सुक योलले टोकियो र वासिङ्टनसँग कूटनीतिक सम्बन्ध र सुरक्षा सहयोग बढाउन कदम चालेका छन्। 

अमेरिकी राष्ट्रपति जो बाइडेनले अप्रिल २६ मा युनलाई राजकीय भ्रमणका लागि स्वागत गर्ने छन् भने दक्षिण कोरियाली नेताले अर्को हप्ता टोकियोको पनि भ्रमण गर्ने उनको कार्यालयले जनाएको छ। 

यसै महिना अमेरिका र दक्षिण कोरियाली सेनाले पाँच वर्षयताकै सबैभन्दा ठूलो संयुक्त सैन्य अभ्यास गर्ने भएका छन्।  ‘फ्रिडम शिल्ड’ नाम दिइएको उक्त सैन्य अभ्यास मार्च १३ देखि कम्तीमा १० दिनका लागि तय गरिएको छ। 

उक्त अभ्यासअघि मित्रराष्ट्रहरूले यसै साता आणविक क्षमता भएको अमेरिकी बी–५२ हेभी बमवर्षक विमानसहितको हवाई अभ्यास गरेका थिए। 

उत्तर कोरियाले अमेरिका र दक्षिण कोरियाको सैन्य अभ्यासपछि आफ्नो क्षेप्यास्त्र परीक्षण र सैन्य अभ्यासलाई न्यायोचित प्रतिकारको रूपमा प्रस्तुत गरेको छ। 

गत हप्ता उसले संयुक्त राष्ट्रसङ्घलाई यी अभ्यासहरू रोक्न आग्रह गरेको थियो। आफ्नो आणविक हतियारले यस क्षेत्रमा शक्ति सन्तुलन सुनिश्चित गरेको उसको दाबी छ। एजेन्सी
 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad