जनमुक्ति सेनासम्बन्धी अन्तिम निर्णय गर्ने चिनियाँ कम्युनिस्ट पार्टीको केन्द्रीय सैन्य आयोग (सीएमसी) नेतृत्व हेरफेरको संघारमा छ। सो आयोगका अध्यक्ष राष्ट्रपति सी चिनफिङ हुन्। जो अझै एक कार्यकाल पदमा रहने स्पष्ट भइसकेको छ।
तर, जारी बीसौँ महाधिवेशनबाट उनले सीएमसीमा ककसलाई लैजान्छन् भन्नेमा सबैको नजर अडिएको छ। जसले जनमुक्ति सेनाको आगामी दिशा र आधुनिकीकरणको लक्ष्यमाथि प्रकाश पार्नेछ।
के हो सीएमसी?
सीएमसी सेनासम्बन्धी निर्णय गर्ने चीनको सर्वोच्च निकाय हो। सेनाको नेतृत्व यसैको हातमा हुन्छ। सेना मात्र होइन, चीनमा रहेका सबै सशस्त्र फौज सीएमसीकै मातहत हुन्छन्। सीएमसीले नै तिनको रणनीति निर्धारण गर्छ, कारबाही तय गर्छ, तिनको विकास, जनशक्ति, उपकरण, हतियार, बजेटसम्बन्धी निर्णय गर्छ।
सीएमसीमा जोइन्ट स्टाफ डिपार्टमेन्ट, लजिस्टिकल सपोर्ट डिपार्टमेन्टजस्ता १६ विभाग छन्। यसले जनमुक्ति सेनाका पाँच थिएटर कमान्डको मुख्यालय, ६ सैन्य शाखा र यससँग सम्बन्धित अनेकौँ अनुसन्धान संस्था र रेखदेख गर्ने गर्छ।
यी सबैको नेतृत्व सात सदस्यीय आयोगले गर्छ। जसमा अध्यक्ष सीबाहेक सबै (दुई उपाध्यक्ष र चार सदस्य) बर्दीधारी हुन्छन्। र, ती प्रत्येकले सीएमसीको एकएक पक्षको जिम्मेवारी लिएका हुन्छन्।
एक हिसाबले अन्य मुलुकमा रक्षा मन्त्रालयले गर्ने धेरैजसो काम चीनमा सीएमसीले गर्छ। छन त चीनमा पनि रक्षा मन्त्रालय छ। तर, त्यसले मुख्यगरी कूटनीतिक र सार्वजनिक सम्बन्धलाई लक्षित गरी काम गर्छ। तथापि, रक्षामन्त्री सधैँ सीएमसीकै सदस्य हुने गर्छन्।
सीएमसीका अध्यक्ष र सदस्यहरु हरेक पाँच वर्षमा कम्युनिस्ट पार्टीको महाधिवेशनले चयन गर्ने गर्छ। यही साताको अन्त्यमा महाधिवेशनबाट सी सीएमसीको अध्यक्षमा पुनः चयन हुँदैछन्।
दुई वटा सीएमसी!
माथि चर्चा गरिएको सीएमसी चिनियाँ कम्युनिस्ट पार्टीको सैन्य आयोग हो। चीनमा अर्को पनि केन्द्रीय सैन्य आयोग (सीएमसी) छ। त्यो चाहिँ जनवादी गणतन्त्र चीन अर्थात् राज्यको सीएमसी हो।
संविधानअनुसार देशको सम्पूर्ण सशस्त्र सैन्य शक्तिको नेतृत्व गर्ने जिम्मेवारी राज्यको सीएमसीको हो। यो सीएमसी राष्ट्रिय जनकंग्रेस (संसद)प्रति उत्तरदायी हुन्छ। संसदले नै त्यसका सदस्यहरु चुन्छ र हटाउँछ।
तर, रोचक कुरा के छ भने राज्यको सीएमसी र पार्टीको सीएमसी व्यवहारिक रुपमा एउटै हो। वास्तवमा यी दुवै ‘फरक ब्रान्ड भएका एउटै संगठन’ हुन्। दुवैका सदस्य उही हुन्छन्। उनीहरुको भूमिका पनि उही हुन्छ।
सेनामा पार्टीको निर्विकल्प पकड कायम गर्न यस्तो व्यवस्था र संरचना बनाइएको हो।
सीएमसी किन शक्तिशाली?
माओ चेतुङले लाल सेनाको स्थापना गर्दै गर्दा ‘बन्दुक पार्टीको नियन्त्रणमा हुनुपर्छ’ भन्ने सिद्धान्त अघि सारे। लामो समयसम्म सीएमसीको नेतृत्व माओ आफैँले गरे। जुन युद्धको समयमा शक्ति अभ्यास गर्ने आधार थियो।
लाल सेना जनमुक्ति सेनामा बदलियो। र, जनमुक्ति सेनाले अन्ततः गृहयुद्ध जित्यो। त्यसपछि यो सिद्धान्त जनवादी गणतन्त्र चीनको संविधानको हिस्सा बन्यो।
आजभोलि जनमुक्ति सेना र अन्य सशस्त्र फौजको सम्पूर्ण नेतृत्व पार्टीको हातमा हुन्छ। सीएमसीमा पछिल्लो समय भएको ठूलो सुधार २०१५ मा सुरु भएको हो। राष्ट्रपति सीले त्यतिबेला आयोगको संरचना बदलेर अहिलेको जस्तो बनाए। सेनामाथि पार्टीको मजबुत पकड भएकैले सीएमसीको अध्यक्ष सैन्य शक्तिको पनि सर्वोच्च कमान्डर हो।
‘राजनीतिक सत्ता बन्दुकको नालबाट जन्मिन्छ’ भन्ने माओले दशकौँसम्म सीएमसी वा सेन्ट्रल रिभोलुसनरी मिलिट्री कमिसनजस्ता त्यसका पूर्ववर्ती समितिहरुको नेतृत्व गरे। १९३० को दशकदेखि १९७६ मा आफ्नो मृत्युसम्म उनी सेनाको सर्वोच्च कमान्डर थिए।
त्यसपछिका चिनियाँ नेताहरुले पनि सीएमसी अध्यक्षको पद आफैँले लिए। १९८० को दशकमा सर्वोच्च नेता रहेका तेङ स्याओपिङ सरकारका अन्य कुनै पद नबसे पनि सीएमसी अध्यक्ष पद चाहिँ आफैँले लिए।
तेङको नेतृत्वमा बनेको १९८२ को संविधानले सेनासम्बन्धी अन्तिम निर्णयको अधिकार सीएमसीको अध्यक्षलाई दियो। र, सो पदलाई सेनाको संगठनात्मक संरचनाको शीर्षमा राखिदियो।
सीको नेतृत्वमा २०१७ को १९ औँ महाधिवेशनले संशोधन गरेपछि गरेपछि संविधानमा ‘केन्द्रीय सैन्य आयोगको अध्यक्षले आयोगको समग्र कामको जिम्मेवारी लिन्छ’ भन्ने उल्लेख छ।
(साउथ चाइना मर्निङ पोस्टबाट)
प्रतिक्रिया