ad ad

ग्लोबल


बेइजिङमा ३७० नेतालाई सीको ब्रिफिङ– अन्तिम माइल खतराले भरिपूर्ण छ

बेइजिङमा ३७० नेतालाई सीको ब्रिफिङ– अन्तिम माइल खतराले भरिपूर्ण छ

बुधबार ग्रेट हल अफ द पिपुलमा कर्मचारीहरुको एक समारोहमा सहभागी हुँदै सी (तस्बिर: सिन्ह्वा)


एम्बर वाङ
असोज २४, २०७९ सोमबार २०:४३, बेइजिङ

चिनियाँ कम्युनिस्ट पार्टीको २०औँ राष्ट्रिय सम्मेलनको तयारी चलिरहेको छ। सम्मेलनअघिको अन्तिम ब्रिफिङमा सहभागी हुन पार्टीका नेताहरु बेइजिङमा भेला भएका छन्। 

आइतबार पार्टीको सातौँ विस्तारित बैठकको सुरुमा राष्ट्रपति सी चिनफिङले केन्द्रीय समितिका सदस्य र वैकल्पिक सदस्यगरी करिब ३७० जनालाई ब्रिफिङ दिए। अर्को सप्ताहन्तमा सुरु हुने सम्मेलनमा सीले प्रतिवेदन पेस गर्नेछन्।

पार्टीको वैचारिक मामिला प्रमुख तथा सात सदस्यीय स्थायी समितिका एक सदस्य वाङ हुनिङले पनि केन्द्रीय सदस्यहरुलाई पार्टीको घोषणा पत्र संशोधनको योजनाका विषयमा व्याख्या गरेका छन्। सम्मेलनमा हुने सो संशोधनले सीको विरासतलाई थप बलियो बनाउँदै पार्टीमा उनको हैसियत वृद्धि गर्ने अपेक्षा गरिएको छ।

केन्द्रीय समितिको सातौँ विस्तारित बैठक सम्मेलनअघि हुने अन्तिम ठूलो जमघट हो। सम्मेलनले सीको अभूतपूर्व तेस्रो कार्यकाललाई अनुमोदन गर्ने र पार्टीको शीर्षमा व्यापक परिवर्तन गर्ने अपेक्षा गरिएको छ। सीले यो अवसरलाई आफ्ना सहयोगीहरु परिवर्तन गर्न र आउँदो पाँच वर्षका लागि नयाँ नेतृत्व टोली निर्माण गर्न उपयोग गर्नेछन्।

सम्पूर्ण निर्णयहरु बन्द ढोकाभित्र लिइन्छ। र, परिवर्तनको तयारी प्रक्रियाको सुरुवात महिनौँअघि भइसकेको छ।

चिनियाँ राजनीतिमा वास्तविक निर्णय औपचारिक बैठकअघि नै लिइने गरिन्छ। औपचारिक भेला भने त्यस्ता निर्णयलाई वैधता दिन र अरुलाई सुनाउने मौका बन्छ।

शीर्ष नेतृत्वले सम्मेलनमा आफ्ना निर्णयहरुबारे विस्तृत व्याख्या गर्नेछ। बदलामा प्रतिनिधिहरुले औपचारिक मतदानमार्फत अनुमोदन गर्नेछन्। 

प्रतिनिधिहरुले पार्टी केन्द्रको सन्देश आआफ्नो क्षेत्रमा पुर्याउने महत्वपूर्ण काम पनि गर्नेछन्।

हरेक विस्तारित बैठक सामान्यतः चार दिनसम्म चल्ने गर्छ। आइतबार सो बैठक सुरु हुनुको अर्थ नेतृत्वमा हुने परिवर्तनबारे सबै निर्णयहरु भइसकेको छ र घोषणा पत्र संशोधनको कामले पनि पूर्णता पाइसकेको छ। 

अब सम्मेलनमा केन्द्रीय समितिका अलावा देशभरका २ हजारभन्दा धेरै प्रतिनिधि पनि भेला हुनेछन्।

नेता परिवर्तन र घोषणा पत्र संशोधनका अलावा यो सम्मेलनले आगामी पाँच वर्ष र त्यसपछिको नीति/रणनीति पनि टुंगो लगाउनेछ।

पार्टीको भ्रष्टाचारविरोधी समिति सेन्ट्रल कमिसन फर डिसिप्लिन इन्स्पेक्सनको प्रतिवेदनमाथि पनि विस्तारित बैठकमा छलफल हुनेछ र त्यसलाई सम्मेलनमा पेस गरिनेछ।

हरेक पाँच वर्षमा पार्टीको सम्मेलन हुने गर्छ। यसपालिको २० औँ राष्ट्रिय सम्मेलनमा शीर्ष तहमा थुप्रै परिवर्तन हुनेछ। किनभने अहिले पदमा बहाल थुप्रै नेताहरुले अवकाश पाउँदैछन्।

यो सम्मेलनले ६९ वर्ष पुगिसकेका सीलाई पार्टीको महासचिवमा तेस्रो कार्यकालका लागि चुन्नेछ। सी यसअघि नै माओ चेतुङ र तेङ स्याओपिङयताको सबैभन्दा शक्तिशाली नेता मानिन्छन्। 

त्यसबाहेक पार्टी सम्मेलनले चीनको विकासका लक्ष्यहरु र आगामी पाँच वर्षका लागि प्रमुख नीतिहरुको टुंगो पनि लगाउनेछ। जुलाईमा सीले दिएको भाषणका अनुसार २०३५ सम्ममा चीनले सामाजवादी आधुनिकीकरण प्राप्त गर्न खोजिरहेको छ।

चीनले जटिल बाह्य परिस्थितिको सामना गरिरहेका बेला यो सम्मेलन हुन लागेको छ। अमेरिकासँग चीनको प्रतिद्वन्द्विता चर्किंदो छ। युक्रेनमा रुसी आक्रमण जारी छ र ताइवान जलसन्धिमा तनाव चुलिँदो छ।

आन्तरिक रुपले चीन सरकार आर्थिक मन्दीसँग जुधिरहेको छ। जसलाई एक हदसम्म कोभिड महामारी र शून्य कोभिड नीतिले प्रभावित तुल्याएको छ।

गतसाता पार्टीको जर्नल चुसीमा प्रकाशित एक आलेखमा सीले पार्टीलाई ‘ऐतिहासिक अभियान’मा केन्द्रित हुन र ‘महान संघर्ष’ का लागि तयार रहन आह्वान गरेका छन्।

सीले मुलुक राष्ट्रिय कायाकल्पको असाध्यै निकट रहेको तर अन्तिम माइल खतरा र चुनौतीले भरिपूर्ण रहेको बताएका छन्। -एससीएमपीबाट
 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .