ad ad

ग्लोबल


भारत र अमेरिकाको विरोधका बाबजुद श्रीलंका पुग्यो चिनियाँ जहाज

भारत र अमेरिकाको विरोधका बाबजुद श्रीलंका पुग्यो चिनियाँ जहाज

नेपालखबर
साउन ३१, २०७९ मंगलबार १७:३०, काठमाडौँ

केही दिनको कूटनीतिक खिचातानीपछि चिनियाँ सर्वे जहाज युआन वाङ ५ श्रीलंकाको हम्बनटोटा बन्दरगाहमा रोकिएको छ। सो जहाजलाई श्रीलंकाको जलक्षेत्रमा प्रवेश गर्न नदिन भारत र अमेरिकाले प्रयास गरेको बताइएको छ।

मंगलबार बिहान सो जहाज हम्बनटोटा बन्दरगाहमा रोकिएको हो। जसलाई चिनियाँ कूटनीतिज्ञ र बन्दरगाहका अधिकारीहरुले स्वागत गरेका थिए।

सो जहाज अगस्ट ११ मै हम्बनटोटा आइपुग्ने तय भएको थियो। तर, नयाँ दिल्ली र वासिङ्टनले विरोध गरेपछि श्रीलंका सरकारले त्यसमा पाँच दिन ढिलाइ गरिदिएको समाचारहरुमा जनाइएको छ। 

सरकारी स्रोतलाई उधृत गर्दै रोयटर्सले जनाएअनुसार २२२ मिटर लामो यो जहाज जासुसी गर्ने भारतको चिन्ता थियो। पेन्टागनका अनुसार यो जहाज स्याटलाइट, रकेट र ब्यालिस्टिक क्षेप्यास्त्र प्रक्षेपणको निगरानीमा प्रयोग हुन्छ।

यद्यपि भारतले सो जहाजलाई फिर्ता पठाउन श्रीलंकालाई दबाब नदिएको भारतको विदेश मन्त्रालयले जनाएको छ।

द वासिङ्टन पोस्टका अनुसार अमेरिकी अधिकारीहरुले पनि जहाज फिर्ता पठाउन जोडबल लगाएका थिए।

एक श्रीलंकाली अधिकारीलाई उधृत गर्दै वासिङ्टन पोस्टले लेखेअनुसार चिनियाँ नौसेनाको जहाज हम्बनटोटामा आउनु रणनीतिक हिसाबले महत्वपूर्ण छैन। तर, यसबाट आर्थिक संकटको माझमा पनि ‘श्रीलंकाले चीनलाई विशेष स्थान दिएको देखिने’ तर्क भारतीय र अमेरिकी अधिकारीहरुले गरेका थिए।

समुद्रमा जहाज रोकिएपछि चिनियाँ विदेश मन्त्रालयले चीन र श्रीलंकाबीचको सम्बन्ध र सहकार्य बिगार्ने नियतले निश्चित मुलुकले श्रीलंकालाई दबाब दिएको आरोप लगाएको थियो। 

श्रीलंकाको जलक्षेत्रमा कुनै अनुसन्धान नगर्ने सर्तमा सो जहाजलाई २२ अगस्टसम्म रहने अनुमति सरकारले दिएको छ। एजेन्सी
 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .