ad ad

ग्लोबल


चीनले आक्रमण नगरी ताइवानलाई वशमा पार्न सक्छ : चिनियाँ र अमेरिकी विज्ञ

चीनले आक्रमण नगरी ताइवानलाई वशमा पार्न सक्छ : चिनियाँ र अमेरिकी विज्ञ

नेपालखबर
साउन २३, २०७९ सोमबार २०:३, काठमाडौँ

ताइवानलाई नियन्त्रण गर्न चीनले सो टापुमा आक्रमण गर्न नपर्ने बरु त्यसलाई घेरेर वशमा पार्न सक्ने बेइजिङको सैन्य अभ्यासले देखाएको चिनियाँ र अमेरिकी विश्लेषकहरुले बताएका छन्।

गत बिहीबारदेखि सुरु भएको जनमुक्ति सेनाको अभ्यास ताइवानवरिपरिका ६ स्थानमा केन्द्रित थियो। जसले ताइवानलाई घेरेरे गैरसैनिक जहाज र विमानको पहुँचलाई ठप्प पारिदिएको छ। चिनियाँ सेनाले त्यहाँ क्षेप्यास्त्र तथा गोला प्रहार गरेको छ।

चीनले कसरी ताइवानलाई घेराबन्दी गरेर बन्दरगाहसँगको सम्बन्ध टुटाउन सक्छ, ताइवानको प्रमुख सैन्य केन्द्रहरुमा कसरी आक्रमण गर्न सक्छ र विदेशी सेनालाई ताइवान आउनबाट कसरी रोक्न सक्छ भन्ने देखाउन ताइवानवपरिपरिका ती ६ स्थान रोजिएको पीएलए नेसनल डिफेन्स युनिभर्सिटीका प्राध्यापक मेङ सियाङचिङले बताएका छन्।

ताइवानलाई मुख्यभूमिसँग एकीकरण गर्नु चिनियाँ कम्युनिस्ट पार्टीको नीतिको आधारशिला हो। राष्ट्रपति सी चिनफिङको त्यसका लागि बलप्रयोगको सम्भावना समेत रहेको संकेत गरेका छन्।

मेङका अनुसार ताइवानभन्दा उत्तरतिर गरिएको सैन्य अभ्यासले जापानको ओकिनावा टापु पुग्ने मार्ग बन्द गरिदियो। जहाँ अमेरिकी र जापानी फौजको अखडा छ। त्यस्तै दक्षिणी क्षेत्रमा पीएलएले ‘दक्षिण चीन सागरमा प्रवेश गर्ने एक मात्र बाटो’ बासी च्यानल पनि बन्द गरिदिएको मेङले बताए। 

अर्कोतिर, पूर्वी क्षेत्रबाट चिनियाँ सेनाले प्रहार गरेको क्षेप्यास्त्रले ताइवाननजिक आउन खोज्ने विदेशी जहाजहरुलाई रोक्नसक्ने देखाएको उनको भनाइ छ।

‘यो ताइवान टापुको अभूतपूर्व घेराबन्दी हो,’ उनले सीसीटीभीसँग भनेका छन्।

र, सोमबार सो अभ्यासलाई अझै निरन्तरता दिने घोषणा चीनले गरेको छ।

गतसाता अमेरिकी सभामुख न्यान्सी पेलोसीको भ्रमणपछि सो सैन्य अभ्यास सुरु भएको थियो। बेइजिङले ताइवानपरिपरि जहाज र विमान पठाएको थियो। आइतबार पनि ताइवानवपरिपरि ८० चिनियाँ विमान र जहाज देखिएको ताइवानले जनाएको छ।

त्यसअघि चिनियाँ सेनाले ताइवानको नियन्त्रणमा रहेको र मुख्यभूमि नजिकका साना टापुहरुमा रकेट प्रहार गरेको थियो। त्यस्तै ताइवानको आकाशमाथिबाट जानेगरी क्षेप्यास्त्रहरु पनि प्रहार गरेको थियो। त्यसमध्ये पाँच वटा जापानको आर्थिक क्षेत्रमा खसेका थिए। 

‘ताइवानलाई रणनीतिक रुपले धम्क्याउन कुन क्षेत्रमा सैन्य परिचालन गर्न ठिक हुन्छ भन्ने चीनको सोच उसले अभ्यासका लागि रोजेको ६ क्षेत्रले स्पष्ट पार्ने अस्ट्रेलियाली सेनाका पूर्वजर्नेल मिक रायनले ट्विटरमा उल्लेख गरेका छन्।

सैन्य अभ्यास हुँदै गरेको क्षेत्रमा प्रवेश नगर्न व्यावसायिक जहाज र विमानलाई चेतावनी दिइएको थियो। त्यसैले तिनले वैकल्पिक मार्ग रोजे। 

यी ६ स्थानको नाकाबन्दीले ताइवान कब्जा गर्ने कुनै पनि प्रयास सो टापुलाई एक्ल्याउने रणनीतिबाट सुरु हुनसक्ने अमेरिकाको प्यासिफिक कमान्डको ज्वाइन्ट इन्टेलिजेन्स सेन्टरका पूर्व कार्यनिर्देशक कार्ल सुस्टरले बताए।

‘यो अभ्यासले के देखायो भने द्वन्द्वको अवस्थामा समुद्रमा नौसैनिक उपस्थिति सधैँ रहनुपर्छ भन्ने छैन। बरु, पानी जहाज र हवाई मार्गलाई विमान र क्षेप्यास्त्रको भरमा रोक्न सकिन्छ,’ सुस्टरले भने, ‘अभ्यासले के देखाउँछ भने पहिले बेइजिङले ताइवानलाई एक्लाउनेछ र ताइवानको राजनीतिक इच्छाशक्ति तोड्न हवाई तथा क्षेप्यास्त्र आक्रमणको सहयोग लिनेछ। खर्चिलो आक्रमण सम्भवतः अन्तिम उपायका रुपमा मात्रै अपनाइनेछ।’

सुस्टरले बेइजिङले प्रदर्शन गरेको धेरैजसो कुरा पहिलेदेखि नै तयारीमा रहेको देखिएको बताए। तर, पेलोसीको भ्रमणका कारण चीनले महत्वका साथ त्यसको प्रदर्शन गर्ने मौका पायो।

‘आकार, भौगोलिक विस्तार र जटिलता हेर्दा यो अभ्यासमा महिनौँको तयारी देखिन्छ,’ उनले भने।

पीएलएले ताइवानमाथि दबाब जारी राख्ने उनले बताए। ताइवानको उत्तरतिर थप अभ्यास गरेर चीनले जापानलाई पनि सन्देश दिनसक्ने उनको भनाइ छ। त्यस्तै १३ लाख वर्गमाइल क्षेत्रफल भएको दक्षिण चीन सागरमा पनि अभ्यास हुनसक्ने उनले बताए। 

यो अभ्यासले ताइवान नियन्त्रणमा लिने प्रतिबद्धताबाट सी पछि नहट्ने स्पष्ट भएको सुस्टरको भनाइ छ। सीएनएन

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .