भारतीय प्रहरीले तथ्याजाँच गर्ने एक वेबसाइट अल्टन्युजका सहसंस्थापक मोहम्मद जुबेरलाई पक्राउ गरेको छ। चार वर्षअघि गरिएको एउटा ट्विटमा हिन्दु धर्मावलम्बीको भावनालाई ठेस पुर्याएको भन्दै उनलाई पक्राउ गरिएको हो।
जुबेरले केही समयअघि भारतीय जनता पार्टीकी प्रवक्ता नुपुर शर्माले टेलिभिजन बहसमा गरेको अभद्र टिप्पणीले पैगम्बर मोहम्मदको अपमान गरेको भन्दै ट्विट गरेका थिए।
सो ट्विट भाइरल भएपछि कयौँ मुस्लिम मुलुकहरुले भारतसँग चर्को असन्तुष्टि जाहेर गरेका थिए। लगत्तै सत्तारुढ भाजपाले शर्मालाई पदबाट हटाएको थियो।
२०१८ मा जुबेरले ट्विटरमा एउटा फोटो सेयर गरेका थिए। जसमा एउटा होटलको साइनबोर्डलाई ‘हनिमुन होटल’ बाट बदलेर ‘हनुमान होटल’ बनाइएको थियो।
वास्तवमा सो फोटो १९८३ को एक फिल्मको स्क्रिनसट थियो।
हालै हनुमान भक्त नामक एक ट्विटर अकाउन्टले जुबेरको सो ट्विटले हिन्दुहरुको अपमान गरेको दाबी गर्दै दिल्ली प्रहरीलाई ट्याग गरेको थियो।
गत अक्टोबरमा मात्र बनाइएको सो अकाउन्टको मंगलबार बिहानसम्म मात्र एक जना फलोअर थियो। त्यसयता फलोअर्स संख्या १५ सय पुगिसकेको छ।
सोही उजुरीका कारण जुबेरलाई सोमबार पक्राउ गरिएको एएनआई समचार संस्थाले दिल्ली प्रहरीका अधिकारीलाई उधृत गर्दै जनाएको छ।
अल्टन्युजका सहसंस्थापक प्रतीक सिन्हाले भने उजुरीको प्रति जुबेरका वकिललाई प्रहरीले उपलब्ध नगराएको बताएका छन्।
यो गिरफ्तारीको विपक्षी नेताहरु, अल्पसंख्यकहरुको हितमा काम गरिरहेका अभियन्ता, मानवअधिकारकर्मी, प्रेस स्वतन्त्रतासम्बन्धी संस्थाहरुले विरोध गरेका छन्।
को हुन् जुबेर?
पत्रकार मोहम्मद जुबेरले पूर्वइन्जिनियर प्रतीक सिन्हासँग मिलेर २०१७ मा तथ्यजाँच गर्ने वेबसाइट अल्टन्युज सुरु गरेका थिए।
झुटा सूचना र मिथ्या समाचारको तथ्यजाँच गर्ने काम थालेपछि यो वेबसाइट चाँडै चर्चित भयो। ट्विटरमा जुबेरका ५ लाखभन्दा बढी फलोअर्स छन्।
उनी तथ्यजाँच गरिएको सामग्री सेयर गरिरहन्छन्। त्यसका साथै ट्विटर पोस्टमा व्यक्त घृणाजन्य अभिव्यक्तिहरुलाई पनि उनी देखाइरहन्छन्। एजेन्सी
प्रतिक्रिया