ग्लोबल


शिवसेनाका विधायक मुम्बईबाट किन पुगे ३ हजार किलोमिटर टाढाको गुवाहटी?

भारतको सबैभन्दा धनी राज्यमा राजनीतिक संकट
शिवसेनाका विधायक मुम्बईबाट किन पुगे ३ हजार किलोमिटर टाढाको गुवाहटी?

मुख्यमन्त्री उद्धव ठाकरे


नेपालखबर
असार १० , काठमाडौँ

भारतको सबैभन्दा धनी राज्य महाराष्ट्रमा चुलिएको राजनीतिक संकटले राज्य सरकारको भविष्य अप्ठेरोमा पारिदिएको छ। 

राज्यका एक प्रभावशाली मन्त्री एकनाथ सिन्देको नेतृत्वमा करिब ३५ विधायकहरु महाराष्ट्र छाडेर गुजरात हुँदै हजारौँ किलोमिटर टाढा आसामको गुवाहटीस्थित एक होटलमा पुगेर बसेका छन्।

ती विधायकहरु शिव सेना पार्टीका हुन्। त्यही पार्टीले अहिले कंग्रेस र क्षेत्रीय दल नेसनल कंग्रेस पार्टीसँग मिलेर महाराष्ट्रको सरकार चलाइरहेको छ।

यसरी विधायक लिएर हिँडेका सिन्देले पार्टीको हितका लागि यस्तो कदम चालेको दाबी गरेका छन्। तर, उनको व्रिदोहले राज्य सरकार ढल्ने स्थितिमा पुगेको छ।

बुधबार बेलुका शिव सेनाका प्रमुख तथा मुख्यमन्त्री उद्धव ठाकरेले भावुक सम्बोधन गर्दै विद्रोही विधायकहरुलाई फर्केर आउन र आफूसँग कुरा गर्न आग्रह गरे। 

महाराष्ट्र भारतको ठूलोमध्येको एक राज्य हो। सबै राष्ट्रिय पार्टीका लागि यो राज्य राजनीतिक रुपले महत्वपूर्ण छ। भारतको वित्तीय राजधानी तथा बलिउडको केन्द्र मुम्बई यहीँ छ। 

यो राज्यमा हुने घटनाक्रमले राष्ट्रिय राजनीतिमा सोझै प्रभाव पार्ने गर्छ। २०१९ देखि अमिल्दो गठबन्धनले यहाँ सरकार चलाइरहेको छ। जसमा दक्षिणपन्थी शिवसेना, मध्यपन्थी एनसीपी र कंग्रेस तथा स्वतन्त्र विधायक पनि सामेल छन्।

यसरी उनीहरुले २८८ सदस्यीय विधानसभामा बहुमत पुर्याएका छन्। जसका कारण विधानसभामा सबैभन्दा धेरै सिट भइकन भाजपाले सरकार बनाउन पाएन।

पद बाँडफाँटमा कुरा नमिल्दा शिवसेनाले लामो समयदेखिको आफ्नो साझेदार भाजपासँग छुट्टिने निर्णय लिएपछि यो गठबन्धन बनेको हो। छुट्नुअघि एउटै हिन्दु राष्ट्रवादी विचारधारा बोक्ने भाजपा र शिवसेनाबीच लामो समय खटपट चलेको थियो।

मुम्बईका मराठीभाषीहरुलाई सहयोग गर्ने हेतुले एक जातीय र स्थानीय पार्टीका रुपमा शिवसेनाको गठन भएको थियो। आफ्नो भोट ब्यांक भत्किएपछि शिवसेना हिन्दुवादी पार्टीका रुपमा उदायो। उसको आधार परम्परागत रुपमा कंग्रेसविरोधी रहँदै आएको छ।

त्यसैले कंग्रेससँग उसले गरेको गठबन्धनबाट धेरै आश्चर्यमा परेका थिए। थुप्रैले सरकार केही समय पनि नटिक्ने दाबी गरेका थिए। तर, ठाकरे र उनका सहयोगीले हालसम्म अनेकौँ संकट टार्दै आएका थिए। 

रिपोर्टहरुका अनुसार सिन्दे भाजपासँगको गठबन्धन ब्युँताउन चाहन्छन्। यदि उनले शिव सेनाका थप विधायकको समर्थन जुटाए भने सरकारले बहुमत गुमाउनेछ।

एकनाथ सिन्दे (दायाँ)

कसरी सुरु भयो संकट?
सोमबारको विधायन परिषदको चुनावपछि सिन्दे गायब भएका थिए। शिवसेना र उसका सहयोगी दलले १० मध्ये ६ सिट जित्ने अनुमान गरेका थिए। तर, उनीहरुले पाँच सिट मात्र जिते। चार सिट जित्ने आकलन गरिएको भाजपाले बाँकी पाँच सिट जित्यो। शिवसेनाका विद्रोहीले भाजपालाई मत दिएको चर्चा छ।

त्यसपछि सिन्दे ११ विधायक लिएर भाजपाको सरकार रहेको गुजरातस्थित सुरत सहर पुगेको खबर आयो। बदलामा ठाकरेले सिन्देलाई सचेतक पदबाट हटाए।

त्यसपछि सिन्देले ट्विटरको बायोबाट शिव सेना हटाए र उनी होटलमा भाजपा नेताहरुसँग भेट गरिरहेका देखिए।

मंगलबार राति सिन्दे र उनका समर्थक विधायक आसामको गुवाहटी पुगे। त्यहाँ पनि भाजपाको सरकार छ।

इन्डियन एक्सप्रेसले स्रोतहरुलाई उधृत गर्दै गुजरात महाराष्ट्रको नजिकै भएको र त्यहाँ पुगेका विधायकहरु फर्किने डरले उनीहरुलाई गुवाहटी पुर्याइएको जनाएको छ।

बुधबार फर्किएका एक विधायकले आफूलाई जबर्जस्ती गुजरात लगिएको र आफूले विरोध गर्दा अस्पताल भर्ना गराइएको आरोप लगाएका छन्। अर्का विधायकले झुटो बोलेर गुजरात पुर्याइएको र आफू भागेर फिर्ता भएको बताएका छन्।

विधायक पदबाट बर्खास्त नहुनका लागि सिन्देलाई ३७ विधायकको साथ आवश्यक छ। उनले शिवसेनाका ४० र ६ स्वतन्त्रको समर्थन आफूलाई भएको दाबी गरेका छन्। यद्यपि यो संख्या स्वतन्त्र रुपमा पुष्टि हुन बाँकी छ।

सिन्देले आफू शिवसेनाबाट नहटेको र आफूले पार्टीका संस्थापक बालासाहेब ठाकरेको विरासतलाई अघि बढाउने दाबी गरेका छन्।

शिवसेनाका नेता सञ्जय राउतले सरकार ढाल्न भाजपाले चलखेल गरेको आरोप लगाएका छन्। तर, भाजपा नेताहरुले त्यसलाई अस्वीकार गरेका छन्।

बुधबार राति झरीमा शिव सेनाका सयौँ समर्थक मुख्यमन्त्री ठाकरेको समर्थनमा जम्मा भएका थिए। बीबीसी 

असार ९, २०७९, बिहीबार

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 4240505 / 4241389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क

+977 9851081116
[email protected]

जीवन बस्नेत
कार्यकारी निर्देशक
सुरेन्द्र रिजाल
निर्देशक, अटो संस्करण
सविन पोखरेल
लेखा तथा प्रशासन प्रमुख
ललिता तामाङ
कार्यालय सहयोगी

नेपालखबर टीम


Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by.