ad ad

ग्लोबल


को हुन् भारतको पहिलो आदिवासी राष्ट्रपति बन्न लागेकी महिला?

को हुन् भारतको पहिलो आदिवासी राष्ट्रपति बन्न लागेकी महिला?

नेपालखबर
असार ८, २०७९ बुधबार १९:३४, काठमाडौँ

भारतको सत्तारुढ भारतीय जनता पार्टीले द्रौपदी मुर्मुलाई आगामी राष्ट्रपतीय निर्वाचनको उम्मेदवार बनाएको छ। मुर्मु सो पदमा उठ्ने पहिलो आदिवासी राजनीतिकर्मी हुन्।

उडिसाकी ६४ वर्षीया मुर्मु पूर्वशिक्षक पनि हुन्। भाजपाको राजनीतिमा दशकौँ बिताएकी उनी राज्यपाल समेत भएकी थिइन्। 

निर्वाचित भए उनी भारतको सर्वोच्च पदमा पुग्ने पहिलो आदिवासी हुनेछिन्। भारतमा राष्ट्रपमुखले कार्यकारी अधिकार भने अभ्यास गर्दैनन्।

संसदको दुवै सदनका सदस्य तथा विधानसभा सदस्यहरुले राष्ट्रपति चुन्ने गर्छन्। विश्लेषकहरुका अनुसार मुर्मुलाई निर्वाचित गराउन आवश्यक मत भाजपासँग छ।

प्रधानमन्त्री नरेन्द्र मोदीले मुर्मु ‘महान राष्ट्रपति’ बन्नेमा आफू विश्वस्त रहेको बताएका छन्।

मंगलबार भाजपाको संसदीय बोर्डको बैठकपछि उनको मनोनयन घोषणा गर्दै भाजपा अध्यक्ष जेपी नड्डाले २० जनाको नाममा विस्तृत छलफलपछि मुर्मुलाई छानिएको बताए।

मुर्मुले सो खबर टेलिभिजनबाट थाहा पाएको र त्यसबाट आफू चकित र खुसी बनेको बताएकी छन्।

‘दुर्गम मयुरभञ्ज जिल्लाकी आदिवासी महिला मैले शीर्ष पदको उम्मेदवार बन्ने कुरा कहिल्यै सोचेकी थिइनँ,’ उनले भनेकी छन्।

उडिसाका सबै राजनीतिक दलले उनको मनोनयनको स्वागत गरेका छन्। राज्यका सबै निर्वाचित सांसद तथा विधान सभा सदस्यबाट साथ पाउनेमा विश्वस्त रहेको मुर्मुले बताएकी छन्।

चुनावमा मुर्मुले विपक्षी उम्मेदवार यशवन्त सिन्हासँग प्रतिस्पर्धा गर्नेछिन्। पुराना नेता सिन्हा पहिले भाजपामै थिए। १९९० र २००० को दशकमा भाजपाका अटलबिहारी बाजपेयी नेतृत्वको सरकारमा वरिष्ठ मन्त्री रहेका सिन्हा अहिले भाजपा र मोदीका कट्टर आलोचक हुन्।

पुराना विपक्षी नेताहरु शरद पवार, फारुक अब्दुल्लाह र महात्मा गान्धीका नाति गोपालकृष्ण गान्धीले विपक्षी उम्मेदवार बन्न अस्वीकार गरेपछि सिन्हाको मनोनयन भएको हो। 

राष्ट्रपतिको निर्वाचन १८ जुलाईका दिन हुनेछ भने नतिजा २१ जुलाईमा आउनेछ। विजेताले रामनाथ कोविन्दको ठाउँ लिनेछन्। जसको कार्यकाल २४ जुलाईमा सकिँदैछ।

को हुन् द्रौपदी मुर्मु?
२०१७ मा भाजापाले राष्ट्रपतिको उम्मेदवार बनाउन उनको नाममाथि विचार गरिरहेको हल्ला चलेपछि मुर्मु चर्चामा आएकी हुन्। त्यतिबेला उनी झारखण्डको राज्यपाल थिइन्।

मयुरभञ्ज जिल्लाको बैदापोसी गाउँमा २० जुन १९५८ मा उनको जन्म भएको थियो। मुर्मु सन्थाल समुदायकी हुन्, जो भारतको सबैभन्दा पुरानो र सबैभन्दा ठूलोमध्येको एक आदिवासी समूह हो।

गाउँ प्रधानकी छोरी मुर्मुले राज्यको राजधानी भुवनेश्वरस्थित रामदेवी महिला कलेजमा अध्ययन गरिन्।

उनले आफ्नो करिअर उडिसा सरकारको कर्मचारीका रुपमा सुरु गरेकी थिइन्। १९७९ देखि १९८३ सम्म उनी सिँचाइ तथा उर्जा विभागमा कनिष्ठ सहायकका रुपमा कार्यरत थिइन्।

१९९४ देखि १९९७ सम्म उनले श्री अरविन्दो एकीकृत शिक्षा तथा अनुसन्धान केन्द्र रायरंगपुरमा पढाइन्। १९९७ मा रायरंगपुरको स्थानीय चुनावमा काउन्सिलर चुनिएपछि उनको राजनीतिक यात्रा सुरु भयो।

भाजापा सदस्य उनी सो क्षेत्रबाट २००० र २००९ मा गरी दुई पटक विधान सभामा चुनिइन्। 

२००० देखि २००४ सम्म उनी नवीन पटनायक नेतृत्वको गठबन्धन सरकारमा मन्त्री थिइन्। २०१५ पछि उनले सक्रिय राजनीति छाडिन् र झारखण्डको पहिलो महिला राज्यपाल नियुक्त भइन्।

२०२१ सम्मको ६ वर्षीय कार्यकालमा उनले झारखण्डमा प्रशंसा कमाएकी थिइन्। बीबीसी
 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .