अमेरिकी सांसदले पछिल्लो समय बढ्दो क्रममा रहेको चिनियाँ प्रभाव नियन्त्रणको लागि ताइवानलाई सैन्य सहयोग बढाउने प्रस्ताव अघि सारेका छन्।
शुक्रबार अमेरिकाको माथिल्लो सदन सिनेटका सांसदहरुले ताइवानलाई रक्षा सहयोग बढाउने प्रस्ताव पेश गरेका हुन्।
पछिल्लो समय चीनले ताइवानमाथि बढाइरहेको दवाव नियन्त्रणका लागि पनि अमेरिकाले आवश्यक कदम चाल्नुपर्ने भन्दै माग भइरहेको समयमा अमेरिकी संसदमा उक्त प्रस्ताव आएको हो।
रुसले गत फेब्रुअरीमा युक्रेनमाथि आक्रमण सुरु गरेसँगै भविष्यमा चीनले पनि ताइवानमाथि आक्रमण गर्न सक्ने आशंका बढेको हो।
यस्तो अवस्थामा ताइवानका नागरिक र उनीहरुको प्रजातन्त्रको पक्षमा उभिनु जरुरी रहेको सांसदहरुले बताएका छन्। सांसदहरुले ताइवानलाई रक्षा सहयोग दिनु चीनलाई रुसले जस्तो गल्ती नगर्न पनि चेतावनी पुग्ने बताएका छन्।
अहिलेको प्रस्ताव पारित भएको अवस्थामा ताइवानले अमेरिकाबाट ४ अर्ब ५० करोड अमेरिकी डलरबराबरको सुरक्षा सहयोग प्राप्त गर्नेछ।
चीनले भने यसअघि नै अमेरिकालाई ताइवानको मामिलामा दखल नदिन चेतावनी दिइसकेको छ।
उसले ताइवानको मुद्दालाई चालाउनु चनेको आगोसँग खेल्नुजस्तै भएको बताउँदै आएको छ।
Shares
प्रतिक्रिया