अमेरिकी विदेशमन्त्री एन्टोनी ब्लिन्केनले चीनले आर्थिक विकासको लागि विश्वव्यापी सन्तुलन बिगार्ने काम गरेको आरोप लगाएका छन्।
जसको कारण अमेरिकाले आफ्ना सहयोगी मुलुकहरुसँग मिलेर चीनको प्रभाव नियन्त्रणको लागि काम गर्नुपर्ने आवश्यकता देखिएको ब्लिन्केनले बताएका छन्। बिहीबार अमेरिकी नीतिको विषयमा सम्बोधन गर्दै ब्लिन्केनले चीन यति धेरै विकसित हुनुमा विश्वव्यापी सन्तुलन नै मुख्य कारण रहेको पनि उल्लेख गरेका छन्।
ब्लिन्केनले विश्वको कुनै पनि मुलुकलाई विश्वव्यापी सन्तुलनले चीनलाई जति फाइदा नपुगेको बताएका हुन्।
यद्यपि चीनले विश्वव्यापी सन्तुलनलाई कायम राख्ने किसिमका नियम, सिद्धान्त र संस्थालाई बलियो बनाउन प्रयास गर्नेभन्दा पनि त्यसलाई बेवास्ता गर्न थालेको ब्लिन्केनको आरोप छ।
उनले भने, ‘राष्ट्रपति सी चिनफिङको कार्यकालमा चीन घरभित्र दमनकारी र बाहिर झन् आक्रामक बन्दै गएको छ।’
पछिल्लो समय अमेरिकाले चीनको प्रभाव नियन्त्रणको लागि भन्दै इन्डो प्यासिफिक क्षेत्रमा आफ्नो ध्यान केन्द्रित गरेको छ। विगत दुई सातामा अमेरिकी राष्ट्रपति जो बाइडेनले पनि दक्षिण पूर्वी एसियाका मुलुकका नेताहरुसँग भेटवार्ता गरिरहेका छन्।
गत फेब्रुअरी महिनामा अमेरिकी राष्ट्रपति जो बाइडेनले इन्डो प्यासिफिक रणनीति अघि सारेका थिए। जसको उद्देश्य अमेरिकाको आर्थिक र सुरक्षा प्रतिबद्धतालाई बलियो पार्नु थियो।
Shares
प्रतिक्रिया