ad ad

ग्लोबल


चीनले ताइवानमाथि आक्रमणको पूर्वाभ्यास गरिरहेको छः अमेरिकी रक्षामन्त्री

चीनले ताइवानमाथि आक्रमणको पूर्वाभ्यास गरिरहेको छः अमेरिकी रक्षामन्त्री

नेपालखबर
मंसिर १९, २०७८ आइतबार १८:१२, काठमाडौँ

चीनले ताइवाननजिक लडाकु विमान र बमवर्षक उडाएर युद्धको अभ्यास गरिरहेको हुनसक्ने अमेरिकी रक्षामन्त्री लोयड अस्टिनले बताएका छन्। 

‘यो आफ्नो वास्तविक क्षमता तौलिएजस्तो देखिन्छ र निश्चय नै यो पूर्वाभ्यासजस्तो देखिन्छ,’ शनिबार अस्टिनले रिगन नेसनल डिफेन्स फोरममा भाषणका क्रममा भने।

दक्षिण कोरियाबाट अमेरिका फर्केलगत्तै क्यालिफोर्नियामा अस्टिनले यस्तो बताएका हुन्। भाषणमा अस्टिनले पेन्टागनसँग मिलेर प्रविधिका क्षेत्रमा काम गर्न अमेरिकाको निजी क्षेत्रलाई पनि आह्वान गरे।

यो वर्ष ताइवानको हवाई प्रतिरक्षा पहिचान क्षेत्रमा चीनले दर्जनौँ पटक लडाकु विमान उडाइसकेको छ। जनमुक्ति सेनाको गतिविधि र तीव्र गतिमा विकसित भइरहेको प्रविधिका कारण ताइवानमाथि चीनले चाँडै आक्रमण गर्नसक्ने भन्दै चिन्ता व्यक्त गर्न थालिएको छ। 

पछिल्लो समय चीनले आणविक हतियार संख्या पनि बढाएको बताइन्छ। ताइवानमा युद्ध हुँदा अमेरिकाले हस्तक्षेप गर्न नसकोस् भनेर चीनले सो कदम चालेको कतिपय विश्लेषकको भनाइ छ। 

अमेरिकी विदेशमन्त्री एन्टोनी ब्लिन्केनले शुक्रबार रोयटर्ससँग चीनले ताइवानमाथि आक्रमण गरे भयानक नतिजा निस्किने चेतावनी दिएका थिए। उनले ताइवानको रक्षामा अमेरिका प्रतिबद्ध भएको पनि दोहोर्याए। 

गत महिना अमेरिकी समकक्षी जो बाइडेनसँगको भर्चुअल वार्तामा चिनियाँ राष्ट्रपति सी चिनफिङले ताइवानको स्वतन्त्रता पक्षधर शक्तिलाई समर्थन गर्नु भनेको आगोसँग खेल्नु भएको चेतावनी दिएका थिए। एजेन्सी

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .