चीनले पछिल्लो समय बढ्दो सुरक्षा चुनौतीलाई ध्यानमा राख्दै थप तीन लाख सेनालाई अग्रपंक्तिमा खटाउने तयारी गरेको छ। साउथ चाइना मर्निङ पोस्टका अनुसार गत नोभेम्बरको मध्यमा सार्वजनिक गरिएको पुस्तकमा सैन्य संरचना परिवर्तन गरिने उल्लेख छ।
चिनियाँ कम्युनिष्ट पार्टीको मुखपत्र पिपुल्स डेल्ली चाइनाका अनुसार आफ्नो सैन्य क्षमता बढाउन चीनले नयाँ योजना ल्याएको हो।
चिनियाँ सेनाका कमेन्टेटर झोङ सिनका अनुसार अहिले चनियाँ सैनिकको संख्या २० लाख छ। यो संख्या सन् १९५० दशकको कोरियाली युद्धकोभन्दा निकै कम हो। त्यतिबेला ६० लाख चिनियाँ सैनिक थिए।
सन् २०१५ मा चिनियाँ राष्ट्रपति सी चिनफिङले सैन्य आधुनिकीकरणको नयाँ योजना अघि सारेका थिए। यद्यपि सैन्य महत्वाकांक्षा हासिल गर्न अझै धेरै काम गर्न बाँकी रहेको झोङले बताएका छन्।
अहिले चिनियाँ सेनामा युद्धको अग्रपंक्तिमा रहने सेनाको संख्या कति छ भन्ने झोङले खुलाएका छैनन् तर स्रोतका अनुसार चीनले थप तीन लाख सेनालाई युद्धको अग्रपंक्तिको भूमिकामा खटाउने भएको छ।
त्यस्तै चीनले पछिल्लो समय आफ्नो जलसेनाको क्षमता पनि निरन्तर अभिवृद्धि गरिरहेको समाचारमा उल्लेख छ। अहिले चीनले निरन्तर युद्धको चुनौतीको सामना गरिरहेको कारण सोही चुनौतीबारे सतर्क रहनका लागि पनि सेनाको आधुनिकीकरणमा ध्यान दिनुपर्ने जरुरी रहेको चिनियाँ सेनाका अर्का कमेन्टेटर लिउ यान्टोङले बताएका छन्।
Shares
प्रतिक्रिया