बढ्दो अमेरिकी दबाबका बीच रुस र चीनले सैन्य सहकार्य बढाउँदै लगेका छन्। मंगलबार रुस र चीनका रक्षामन्त्रीहरुले सन् २०२१ देखि २०२५ सम्मको सैन्य सहकार्यको मार्गचित्रमा हस्ताक्षर गरेका छन्।
अमेरिकाले सैन्य तनाव बढाएर अस्थिरता निम्त्याउन खोजेको आरोप लगाउँदै त्यसलाई रोक्न सो सम्झौता गरिएको रुसी रक्षामन्त्री सेर्गेइ सोइगु जनाएका छन्।
सोइगु र चिनियाँ रक्षामन्त्री वेई फेङहेले भिडिओ कलका दौरान सो सम्झौतामा हस्ताक्षर गरेका थिए। जसअनुसार रणनीतिक सैन्य अभ्यास बढाउने, संयुक्त सैन्य गस्ती गर्नेलगायतका प्रावधान छन्।
‘थुप्रै वर्षदेखि चीन र रुस रणनीतिक साझेदार रहँदै आएका छन्,’ सोइगुले भने, ‘बढ्दो भूराजनीतिक व्यवधान र विश्वका अनेक स्थानमा द्वन्द्वको सम्भावना बढिरहेको आजको स्थितिमा दुई मुलुकबीचको अन्तर्क्रिया झनै सान्दर्भिक छ।’
पछिल्लो समय रुसको सीमानजिक अमेरिकाले रणनीतिक बमवर्षक विमान बारम्बार उडाउने गरेको पनि सोइगुले बताए। गएको महिना मात्र अमेरिकाले ३० पटकभन्दा बढी त्यस्ता विमान सीमानजिक ल्याएको उनको भनाइ थियो।
‘यस्तो वातावरणमा रुस–चीन सहकार्य स्थिरताको कारक बन्छ,’ सोइगुले भने।
चिनियाँ रक्षामन्त्री वेइले भने अमेरिकी दबाब र सैन्य धम्कीलाई रोक्न सकेकोमा रुसको प्रशंसा गरे।
गत शुक्रबार दुई रुसी र दुई चिनियाँ रणनीतिक बमवर्षक विमानले जापान सागर र पूर्वी चीन सागरमा संयुक्त गस्ती गरेका थिए।
अगस्टमा संयुक्त सैन्य अभ्यासमा सहभागी हुन सोइगु चीन पुगेका थिए। त्यसबेला पहिलो पटक चिनियाँ भूमिमा रुसी सेनाले युद्ध अभ्यास गरेको थियो। एपी
Shares
प्रतिक्रिया