विश्वका मुलुकहरु सन् २०३० सम्म विश्वभर वनविनाश रोक्नका लागि सहमत भएका छन्।
बेलायतको ग्लासगोमा जारी जलवायु सम्मेलन कोप२६ को क्रममा विश्वभरका नेताहरु वन विनाश रोक्नका लागि तयार भएका हुन्। यो महत्वपूर्ण सम्झौतामा मंगलबार हस्ताक्षर हुन सक्ने बीबीसीले उल्लेख गरेको छ।
जलवायु परिवर्तन न्यूनीकरणको लागि रुखबिरुवा प्रशस्त मात्रामा हुनु जरुरी मानिन्छ। बिरुवाले हरित गृह प्रभाव निम्त्याउने ग्यास लिने भएकाले वनविनाश रोक्नु जरुरी देखिएको हो।
वृक्षारोपणलगायतका कार्यक्रमको लागि यो सम्मेलनमा विश्वका मुलुकले केही रकम छुट्याउने प्रतिबद्धता जाहेर गरेका छन्।
मंगलबार वनविनाश रोक्ने सम्झौतामा विश्वका एक सयभन्दा धेरै मुलुकले हस्ताक्षर गर्नेछन्। यी मुलुकले समग्र विश्वको वनजंगलको ८५ प्रतिशतको हिस्सा ओगट्छन्।
बेलायती प्रधानमन्त्री बोरिस जोन्सनले यसलाई विश्वको महत्वपूर्ण सम्झौता भएको बताएका छन्। उनले यसले पृथ्वीको जलवायुमा सुधारको लागि महत्वपूर्ण भूमिका निर्वाह गर्ने विश्वास व्यक्त गरेका छन्।
यसैबीच भारतले सन् २०७० सम्म भारतको औसत कार्बन उत्सर्जन शून्यमा झार्ने लक्ष्य लिएको छ। यसअघि चीनले सन् २०६० सम्म औसत कार्बन उत्सर्जन शून्यमा झार्ने बताएको थियो भने अमेरिकाले २०५० सम्म औसत कार्बन उत्सर्जन शून्यमा झारिने बताएको थियो।
प्रतिक्रिया