अवैध बाटो हुँदै अमेरिका जान लागेका नेपालीसहित १२६ जना ग्वाटेमालामा पक्राउ परेका छन्।
बीबीसीका अनुसार ग्वाटेमाला प्रहरीले १२६ जना आप्रवासीलाई सडकछेउको कन्टेनरबाट उद्धार गरेको हो। तीमध्ये केही नेपाली नागरिक पनि छन्।
बीबीसीको समाचारअनुसार ग्वाटेमालाको नुएभा कन्सेप्सन र कोकालेस सहरको बीचमा उनीहरू भेटिएका हुन्। ट्रेलरभित्र चिच्याएको सुनेपछि स्थानीय प्रहरीले उनीहरूको उद्धार गरेको हो।
मेक्सिको हुँदै अमेरिका लैजाने भनेर एजेन्टले उनीहरूलाई बीचमै अलपत्र पारेको त्यहाँका अधिकारीले बताएका छन्।
तीमध्ये धेरैजसो संकटग्रस्त मुलुक हैटीका नागरिक छन्। साथै नेपाल र घानाका नागरिक पनि अवैध बाटो हुँदै अमेरिका प्रयासमा रहेको बताइएको छ। तर नेपाली कति जना छन् भन्ने एकिन भएको छैन।
कन्टेनरभित्र कराइरहेको सुनेर ढोका खोल्दा कागजात नभएका १२६ जना व्यक्ति भेटिएको त्यहाँका प्रहरी अधिकारीले जानकारी दिएका छन्।
ग्वाटेमालाको आप्रवासन प्राधिकरणका प्रवक्ता अलेजान्ड्रा मेनाका अनुसार उनीहरू होन्डुरसबाट जोखिमयुक्त र अवैध बाटो हुँदै अमेरिका गइरहेका थिए। अब उनीहरूलाई होन्डुरस सिमानामै फिर्ता गरी अधिकारीहरूको जिम्मा लगाइने बीबीसीले जनाएको छ।
Shares
प्रतिक्रिया