५० करोड डलर खर्च भएको विमान एक वर्षजति मात्र उड्यो। ८ करोड ५० लाख डलर खर्च गरेर होटल बनाइयो, जुन कहिल्यै खुलेन। अफगान सेनाको बर्दीमा भएका टाटापाटामा मात्रै २ करोड ८० लाख डलर अतिरिक्त खर्च भयो।
अफगानिस्तानको पुनर्निर्माण गर्ने भनेको अमेरिकाले गरेको मनपरी खर्चका केही विवरण हुन् यी। गएको २० वर्षमा पुनर्निर्माणका नाममा अमेरिकाले १४५ अर्ब खर्च गर्यो। तीमध्ये थुप्रै रकम अनियमितता र फजुलखर्चीमा उडाइएको अमेरिकाले गठन गरेको स्पेसल इन्सपेक्टर जनरल फर अफगान रिकन्स्ट्रक्सन (सिगर)को रिपोर्टमा जनाइएको छ।
त्यसमध्ये पनि फजुलखर्ची र अनियमितताका सबैभन्दा निकृष्ट १० उदाहरण यसप्रकार छन्ः
१. काबुलको विद्युत केन्द्र
उज्बेकिस्तानबाट विद्युत आपूर्ति बन्द भइहाले ब्याकअपका रुपमा भन्दै काबुलमा २००७ मा ताराखिल पावर प्लान्ट बनाइयो। यो विशाल संरचनाका टर्बाइन डिजेलले चल्छन्। तर, समस्या के थियो भने अफगानिस्तानमा एकदमै थोरै डिजेल आपूर्ति हुन्थ्यो। र, यो विद्युत केन्द्र चलाउन ट्याङकरमा डिजेल ओसार्नुपर्थ्यो। जसका कारण यो अत्यधिक महंगो हुन गयो।
यो संरचना बनाउन मात्रै ३३.५ करोड डलर खर्च भयो। त्यसमाथि इन्धनका लागि वार्षिक २४.५ करोड डलर। त्यसैले सरकारले खर्च धान्न नसकेपछि बढीमा क्षमताको २.२ प्रतिशत मात्रै विद्युत उत्पादन गरियो।
२. एक वर्ष उडेका विमानमा आधा अर्ब डलर खर्च
अफगानिस्तानको वायु सेनालाई कार्गो विमानको आवश्यकता थियो। २००८ मा पेन्टागनले १६ वटा जी२२२ विमान किनिदियो। इटलीमा डिजाइन गरिएको यो विमान खराब धावनमार्गमा पनि उडान र अवतरण गर्न सक्थ्यो। पहिलो वर्ष यी विमान अत्यन्त व्यस्त रहे।
तर, ती टिकाउ थिएनन्। सिगरका प्रमुख जोन सोप्कोले काबुल विमानस्थलमा पार्किङ गरिराखिएका ती विमानबारे सोधीखोजी गरेपछि मात्रै त्यसबारे खुलासा भयो।
किनेको ६ वर्षपछि ती १६ विमानलाई मात्र ४० हजार डलरमा बेचियो। जबकि विमान किन्दा करिब ५३ करोड डलर खर्च भएको थियो।
३. मरुभूमिको त्यो खर्चिलो सैन्य मुख्यालय
हेल्मन्ड प्रान्तमा ६४ हजार वर्गफुट क्षेत्रमा सेनाको एउटा मुख्यालय बनाइयो। २०१० मा हेलमन्डमा नौसैनिकहरुको संख्या बढ्दो थियो। त्यसैले लेदरनेक शिविरमा एउटा कमान्ड एन्ड कन्ट्रोल सेन्टर बनाउन थालियो। तर, सोप्कोका अनुसार जर्नेलहरुले नै त्यो संरचना आवश्यक नपर्ने बताएका थिए।
अन्ततः संरचना बन्यो। तर, त्यो कहिल्यै प्रयोगमा आएन। किनभने लेदरनेक शिविर नै अमेरिकाले अफगानिस्तानलाई जिम्मा लगायो। अफगान सेनाले सो संरचना प्रयोग गरेन। यसमा ३.६ करोड डलर खर्च भएको थियो।
४. बर्दीको बेकार टाटापाटामा २ करोड ८० लाख खर्च
२००७ मा अफगान सेनाका लागि नयाँ बर्दी अर्डर गरिँदै थियो। रक्षामन्त्री अब्दुल रहिम वार्दकले क्यानडेली कम्पनी हाइपरस्टिल्थले तयार पारेको बर्दी आफूले चाहेको बताए। जसमा जंगलमा लुक्न सजिलो हुने दुर्लभ खालको टाटापाटा थिए।
१३ लाख बर्दी मगाइयो। जसको मूल्य प्रतिगोटा ४३ देखि ८० डलरसम्म पर्न गयो। जबकि अन्य बर्दी २५–३० डलरमा आउँथे। यो बर्दीको प्रभावकारिता कहिल्यै परीक्षण भएको थिएन। त्यसमाथि अफगानिस्तानमा जंगल क्षेत्र मात्र २.१ प्रतिशत थियो।
यसका कारण २ करोड ८० लाख डलर ज्यादा खर्च भएको सोप्कोले बताएका छन्।
५. अफिम उत्पादन रोक्न दैनिक १५ लाख डलर खर्च
लागुऔषधविरुद्धको कारबाहीमा अमेरिकाले अफगानिस्तानमा २००२ देखि २०१८ सम्म दैनिक १५ लाख डलर खर्च गरेको थियो। तर, २००२ को तुलनामा २०१७ मा अफिम उत्पादन चार गुणाले बढेको थियो।
२०२० मा मात्रै अफिम उत्पादन अघिल्लो वर्षभन्दा ३७ प्रतिशतले वृद्धि भएको छ।
६. अपुरो सडकमा २५ करोड डलर
अफगानिस्तानको ठूलो रिङरोड बनाउन अनेक दाताहरुले पैसा खन्याए।
परियोजनाको अन्त्यतिर उत्तरतर्फको २३३ किलोमिटर खण्ड सडक ठेक्का लगाइयो, २४.९ करोड डलरमा। तर, त्यसको १५ प्रतिशत हिस्सा मात्रै सडक बन्यो।
२०१४ देखि २०१७ सम्म त्यो खण्डमा निर्माणको कुनै काम भएन। बनेको पनि बिग्रिँदै गयो। यसबारे यूएसएडले कुनै टिप्पणी गर्न मानेन।
७. खुल्दै नखुलेको होटेलमा ८ करोड ५० लाख डलर
काबुलस्थित अमेरिकी दूतावासको छेवैमा विशाल होटेल र अपार्टमेन्ट बनाइने भयो। त्यसका लागि अमेरिकी सरकारले ८.५ करोड डलर ऋण दियो।
२०१६ मा सिगरले दिएको रिपोर्टअनुसार ८.५ करोड खर्च भयो। भवन कहिल्यै पुरा भएनन् र बस्नलायक पनि छैनन्। त्यसमाथि सो निर्माणस्थलमा थप सुरक्षा दिन अमेरिकी दूतावास बाध्य भयो। जसमा करदाताको पैसा खर्च भयो।
८. अफगानिस्तानमा भन्दा विभागमा बढी खर्च
पेन्टागनले टास्क फोर्स फर बिजनेस एन्ड स्ट्याबलिटी अपरेसन्स नामक विभाग बनाएको थियो। इराकपछि २००९ मा त्यसमा अफगानिस्तान पनि सम्मिलित गराइयो।
विभागको सञ्चालनका लागि संसदले ८२.३ करोड डलर छुट्याएको थियो।
त्यसमध्ये ६७.५ करोड डलर विभागले खर्च गर्यो। तर, खर्चमध्ये आधाभन्दा बढी अर्थात् ३५.९ करोड डलर भने आफैँमा खर्च गर्यो। १५ करोड त आफ्ना स्टाफलाई भिल्ला बनाउनमै सकियो।
९. समुद्रमा अस्पताल
यूएसएडले अफगानिस्तानका स्वास्थ्य सेवा पूर्वाधारमा गरेको खर्चसम्बन्धी २०१५ को एउटा रिपोर्टले यसमा व्यापक अनियमितता भएको औँल्याएको छ। यूएसएडले बनाएको भनेका ५१० परियोजनामध्ये एक तिहाइभन्दा बढी त भनिएको स्थानमा अस्तित्वमै छैन।
रिपोर्टअनुसार १३ वटा स्वास्थ्य केन्द्र अफगानिस्तानभित्र थिएनन्। एउटा भूमध्यसागरमा थियो। ३० वटा यूएसएडले भनेभन्दा अर्कै प्रान्तमा थिए। १८९ वटाको भनिएको स्थानमा कुनै भौतिक संरचना भेटिएन।
१०. अनियमितता १९ अर्ब डलरको
अक्टोबर २०२० सम्म अफगानिस्तान पुनर्निर्माणका लागि अमेरिकी सरकारले १३४ अर्ब डलर खर्च अनुमति दिएको थियो। सिगरले त्यसमध्ये ६३ अर्ब डलरको समीक्षा सकेको छ। जसमा १९ अर्ब डलर खेर फालिएको, ठगिएको र अनियमितता गरिएको बताइएको छ।
(सीएनएनबाट)
Shares
प्रतिक्रिया