अफगानिस्तानका पूर्वसरकारी शान्ति वार्ता प्रतिनिधिमण्डलका सदस्य तथा महिला अधिकारकर्मी फवजिया कोफिले अफगानिस्तानका किशोरीहरूले आफ्नो विद्यालय जान पाउने अधिकारका लागि पुनः संघर्ष गर्नुपर्ने बताएकी छन्।
पढ्न पाउने अधिकार स्थापना गर्न किशोरीहरूले सङ्घर्ष जारी राख्नुपर्ने र यसमा उनीहरूका शिक्षकले पनि साथ दिनुपर्नेमा उनले जोड दिइन्। ‘तालिबानले महिला अधिकारको संरक्षण गर्ने प्रतिज्ञा गरेको थियो तर उक्त समूहले आफ्ना प्रतिज्ञाहरू पूरा गरिरहेको देखिएको छैन। त्यसैले किशोरीहरुले पढ्न पाउने अधिकारको लागि संघर्ष गर्नुको विकल्प छैन।’
यसैबीच संयुक्त राष्ट्र सङ्घीय बाल कोष (युनिसेफ)ले अफगानिस्तानमा शनिबारदेखि विद्यालय पुनः सञ्चालन गर्ने कदमको स्वागत गरेको छ तर त्यसमा किशोरीहरू छुट्न नहुनेमा जोड दिएको छ। ‘हामी निकै चिन्तित छौँ,’ युनिसेफकी प्रमुख हेन्रिता फोरले शुक्रबारको एक वक्तव्यमा भनेकी छन्, ‘धेरै केटीहरूलाई यस समयमा फेरि विद्यालय जाने अनुमति नहुन सक्छ।’
युनिसेफले पुराना र नयाँ सबै राजनीतिक नेतृत्वसँग बालबालिकाको शिक्षाको अधिकारका लागि दबाब जारी राख्ने जनाएको छ। ‘जसबाट सबैले अफगान भूमिमा शान्तिपूर्णरूपले प्रगतिपथमा लम्कन मौका पाउन सकून्,’ युनिसेफले भनेको छ। एजेन्सी
Shares
प्रतिक्रिया