ad ad

ग्लोबल


भूतपूर्व गोर्खा सैनिकका मागबारे लन्डनमा त्रिपक्षीय बैठक, ‘सधैँका लागि समस्या समाधान-उन्मुख’

भूतपूर्व गोर्खा सैनिकका मागबारे लन्डनमा त्रिपक्षीय बैठक, ‘सधैँका लागि समस्या समाधान-उन्मुख’

लन्डनमा सम्पन्न त्रिपक्षीय बैठकको तस्बिर : गेसो अध्यक्ष कुष्णकुमार राईबाट।


नेपालखबर
भदौ २४, २०७८ बिहिबार ७:३०, काठमाडौँ

भूतपूर्व गोर्खा सैनकिहरूको माग सम्बोधन गर्ने विषयमा लन्डनस्थित नेपाली दूतावासमा त्रिपक्षीय बैठक सम्पन्न भएको छ।

संयुक्त अधिराज्यका रक्षामन्त्री बेन वालेस, रक्षा राज्यमन्त्री लियो डोचेर्टी, नेपाली राजदूत लोकदर्शन रेग्मी र भूपू ब्रिटिस गोर्खा संगठनहरूबीच बुधबार छलफल भएको हो।

बैठकमा भूपू गोर्खाको माग सम्बोधन गर्न गोर्खा प्रतिनिधिहरू सम्मिलित नेपाल सरकार र संयुक्त अधिराज्य सरकारबीच डिसेम्बर महिनामा सुरु गरिने भनिएको वार्ताका लागि वार्ता समिति गठन, वार्ता समितिको कार्यादेश एवं अन्य आवश्यक तयारीका विषयमा छलफल भएको दूतावासले जानकारी दिएको छ। तर यसभन्दा बढी जानकारी दूतावासले दिएको छैन। 

गोरखा भूतपूर्व सैनिक संघ (गेसो) का अध्यक्ष कृष्णकुमार राईले भने छलफल सधैंका लागि समस्या समधान गर्नेतिर उन्मुख भएको बताएका छन्। 

सम्पूर्ण भूपू सैनिक र तिनका परिवारको हित तथा अधिकार प्राप्तिका लागि सुरु गरिएको आन्दोलनका कारण यहाँसम्म आइपुग्न सफल भइएको भन्दै उनले खुसीसमेत व्यक्त गरेका छन्।  

‘बेलायत, नेपाल सरकार र गोर्खाहरूको प्रतिनिधिसहित वार्ता गरेर सधैँका लागि समस्या समधान गर्नेतिर उन्मुख भएको छ’, उनले भने, ‘यो अवस्थासम्म ल्याइपु-याउन गेसोले धेरै उकाली–ओराली पार गरेको छ। पछिल्लो समय अन्य संस्थाले पनि आआफ्ना ठाउँबाट ठूलो येगदान गर्नुभएको छ।’

अध्यक्ष राईले बुधबारको बैठकपछि आफूहरूको आन्दोलन अर्काे आयाममा प्रवेश गरेको बताउँदै सबै गोर्खा एकजुट भई अघि बढ्ने कुराले आशा जगाएको उनले जानकारी दिए।

‘मिल्नुको विकल्प छैन, सबै मिलेर जाऊँ भन्ने अनुरोध गर्छु’, उनले भने। 

दूतावासका अनुसार बैठकमा भूपू गोर्खा संगठनका तर्फबाट गोर्खा सत्याग्रह संयुक्त संघर्ष समितिका प्रमुख संयोजक कृष्णबहादुर राई, गेसो सभापति कृष्णकुमार राई, बीजीडब्लूएसका अध्यक्ष टिकेन्द्र दल देवान, नेसाका अध्यक्ष केशबहादुर गुरुङ, गोर्खा पेन्सन इन्जस्टिस ग्रुपका अध्यक्ष उदयबहादुर गुरुङ, यूबीजीएनका अध्यक्ष राम राई, आमरण अनशनमा बसेका गोरखा सत्याग्रहका ३ जना प्रतिनिधि ज्ञानराज राई, पुष्पा राणा घले, धन बहादुर गुरुङ, गोरखा सत्याग्रहका प्रवक्ता जुद्धबहादुर गुरुङ एवं राजदूतावासका उपनियोग प्रमुख रोशन खनाल तथा सैनिक सहचारी रत्‍न बहादुर गोदारको सहभागिता थियो।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .