ad ad

ग्लोबल


दार्जीलिङ र सिक्किममा उत्साहका साथ मनाइयो भानु जयन्ती

दार्जीलिङ र सिक्किममा उत्साहका साथ मनाइयो भानु जयन्ती

शैलेन्द्र समदर्शी
असार २९, २०७८ मंगलबार २१:४८,

नेपाली भाषाका आदिकवि भानुभक्त आचार्यको जन्मजयन्तीका अवसर पारेर दार्जिलिङ र सिक्किम भानुमय बने। आज दुवै स्थानका ठाउँ–ठाउँमा भानु जयन्ती कार्यक्रमहरू आयोजन गरिए। 

कोरोना भाइरसको महामारीका कारण सधैँ झैँ यसपालि भव्य रूपमा कार्यक्रम गर्न सम्भव नबने पनि दार्जिलिङ र सिक्किमले सामान्य कार्यक्रम आयोजन गरेरै भए पनि भानुलाई सम्झना गरे। उल्लेखनीय छ, दार्जिलिङ र सिक्किममा भानु जयन्तीलाई पर्वकै रूपमा पालन गर्ने गरिन्छ।

गाउँ–बस्ती, शहर–बजार सबै ठाउँमा विशेष उत्साहसँग धुमधाम भानुजयन्ती कार्यक्रम आयोजन गरिन्छ। रामायण पाठ, कविता पाठ प्रतियोगिता राखिन्छ। भानुको नाममा स्थापित पुरस्कार आजकै दिन अर्पण गरिन्छ।
आज दार्जिलिङमा भानु जयन्तीको मुख्य कार्यक्रम चौरस्तामा आयोजन गरिएको थियो। दार्जिलिङको चौरस्ता, जहाँ विश्वमै सबैभन्दा पहिला भानुको सालिक स्थापित गरिएको हो।

पश्चिम बङ्गाल सरकारको सूचना एवं संस्कृति विभागले यहाँ आयोजन गरेको भानु जयन्ती कार्यक्रममा पश्चिम बङ्गाल सरकारका पछौटे वर्ग विकास एवं जनजाति मन्त्री बुलुचिक बराइक मुख्य अतिथिका रूपमा उपस्थित थिए।
उनले कोरोना भाइरसका कारण यसपटक सामान्य प्रकारले भानु जयन्ती कार्यक्रम गर्न परे पनि आगामी दिनमा सरकारको तर्फबाट भानु जयन्ती भव्य रूपमा पालन गरिने बताए।

दार्जिलिङलगायत खरसाङ, कालेबुङ, सिलगढ़ी, डुवर्सका ठाउँ ठाउँमा पनि कोरोना प्रोटोकल्सलाई ध्यानमा राखेर भानु जयन्ती पालन गरिएको थियो।

अर्कोतर्फ सिक्किमका पनि विभिन्न ठाउँमा आज भानु जयन्ती पालन गरियो।

मुख्य कार्यक्रम राजधानी गान्तोकस्थित भानु उद्यानमा आयोजन गरिएको थियो। यद्यपि कोरोनाका कारण कार्यक्रम संक्षिप्त गरियो।

यसअवसरमा सिक्किमका राज्यपाल गङ्गा प्रसाद, मुख्यमन्त्री प्रेम सिंह गोले, सांसद इन्द्रहाङ सुब्बालगायत राज्यका मन्त्रीगण, विधायकगण एवं अन्य अधिकारीहरू उपस्थित थिए।

यसैबिच पत्रकारहरूलाई सम्बोधन गर्दै राज्यपाल गङ्गा प्रसादले नेपालीभाषी समुदाय भानुभक्तको योगदान अमूल्य रहेको बताउँदै उनीद्वारा अनूदित रामायण अध्ययन गरी सबैले ज्ञानार्जन गर्नुपर्ने सुझाए।

मुख्यमन्त्री पीएस गोलेले कोरोना महामारीका कारण गत वर्ष र यस वर्ष भानुजयन्ती भव्य रूपमा पालन गर्न नपाएको बताए। यद्यपि आगामी वर्षहरूमा भानु जयन्ती भव्य रूपमा पालन गर्ने मुख्यमन्त्री जनाए।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .