पोखरा महानगरको वडा नम्बर २ मा रहेको बागलुङ बसपार्क क्षेत्र लागुऔषध तथा वेश्यावृत्तिका लागि चर्चित थियो।
केही वर्षअघि प्रहरीले सो क्षेत्रमा हुने वेश्यावृत्ति अन्त्यको लागि अभियान नै चलायो। अघोषित ‘रेड लाइट एरिया’मा कास्की प्रहरीका तत्कालीन प्रमुख वसन्तकुमार लामा नेतृत्वमा चलाइएको अभियानमा कयौं रेष्टुराँ संचालकहरू पक्राउ परे।
प्रहरीको कडाइपछि त्यहाँ हुने अवैध यौनजन्य धन्दा अन्त्य भयो। तर, पछिल्लो समय पुनः सो क्षेत्रमा यौनधन्दा फस्टाएको कास्की प्रहरीले पुष्टि गरेको छ।
कास्की प्रहरीले सोही अभियानको क्रममा बालिकालाई ललाइ–फकाइ यौनधन्दामा लगाउने गरेको आरोपमा बागलुङ बसपार्क क्षेत्र नजिकै रहेको नालामुखमा सिन्दु खाजाघर सञ्चालक २३ वर्षीय सिन्धु किसानलाई पक्राउ गरेको छ।
किसानविरुद्ध मानव बेचबिखनको मुद्दा चलाइएको छ भने कारवाहीको क्रममा १९ वटा खाजघर संचालकलाई पक्राउ गरेको छ।
खाजा घरहरूमा अनैतिक गतिविधि भइरहेको, लागुऔषध सेवनकर्ताको अखडा बनेको सूचनाको आधारमा गरिएको कारबाहीको क्रममा उनलाई पक्राउ गरिएको कास्की प्रहरीका निमित्त प्रवक्ता प्रहरी निरीक्षक अविनाशदीप जिसीले जानकारी दिए।
पक्राउ परेकाहरुलाई जिल्ला प्रशासन कार्यालय कास्कीबाट सार्वजनिक हित, स्वास्थ्य, सुरक्षा, सुविधा र नैतिकताविरुद्धको कसूरमा दिन पाँच (५) म्याद थप गरी अनुसन्धान प्रक्रिया अगाडि बढाइएको उनको भनाइ छ।
Shares

प्रतिक्रिया