गण्डकी प्रदेश सरकारअन्तर्गत रहेको गण्डकी प्रदेश प्रशिक्षण प्रतिष्ठानको कार्यकारी निर्देशकमा सुरेन्द्रबाबु तिवारी नियुक्त भएका छन्। यस्तै प्रदेश सरकार मातहत नै रहेको गण्डकी प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम प्रतिष्ठानको कार्यकारी निर्देशकमा डा सोमनाथ सापकोटालाई नियुक्त गरेको छ।
बुधबार बसेको मन्त्रिपरिषद् बैठकले तिवारी र सापकोटालाई कार्यकारी नियुक्त गर्ने निर्णय गरेको गण्डकीका सामाजिक विकास तथा खेलकुदमन्त्री विन्दुकुमार थापाले जानकारी दिए।
तिवारीको कार्यकाल ५ र सापकोटाको ४ वर्षको हुनेछ। तिवारी सत्तारुढ गठबन्धन नेपाली कांग्रेस र सापकोटा एमाले निकट हुन्। गण्डकी प्रदेश प्रशिक्षण प्रतिष्ठान ऐन, २०७५ अन्तर्गत स्थापित प्रतिष्ठानले प्रदेश र स्थानीय तहमा निर्वाचित, मनोनित तथा नियुक्त पदाधिकारी एवं कर्मचारीको क्षमता विकास, प्रदेश सरकार र स्थानीय तहका कार्यक्रम कार्यान्वयनमा सहजीकरण, प्रदेश अन्तर्गतका सरकारी तथा अर्धसरकारी निकाय र स्थानीय तहको संस्थागत सुधार एवं शासकीय क्षमता अभिवृद्धिका लागि काम गर्छ।
गण्डकी प्रदेश नीति तथा योजना आयोगका उपाध्यक्ष डा कृष्णचन्द्र देवकोटाको संयोजकत्वमा गठित समितिको सिफारिसमा सरकारले तिवारीलाई कार्यकारी निर्देशक नियुक्त गरेको हो। सो समितिमा न्यायाधिवक्ता चिरञ्जीवी शर्मा पौडेल तथा मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका बैठक प्रशासन हेर्ने सचिव बाबुराम गौतम सदस्य सचिव रहेका थिए।
समितिले तिवारीसँगै अन्तिम तीनमा परेका भानु पराजुली र श्रीकृष्ण पौडेलको नाम मन्त्रिपरिषद्मा सिफारिस गरेको थियो। तीमध्येमा तिवारीलाई कार्यकारी निर्देशक बनाइएको हो। तिवारीसँग पोखरा महानगपालिकाको सहरी योजना आयोगको सदस्य भएर काम गरेको अनुभव छ।
मुख्यमन्त्री कार्यालयले १५ दिने म्याद राखेर कार्यकारी निर्देशकको माग गरेकोमा विजयभक्त उपाध्याय, झपेन्द्रश्वर भुसाल, योगेन्द्रराज रिजाल, भानु पराजुली, लिलाधर सुवेदी, कुमारकञ्चन जिसी, डा होमनाथ गैरे, श्रीकृष्ण पौडेल, विजय वाग्ले थिए। यसैगरी बाबुराम केसी, डा गोविन्दबहादुर लामिछाने, सुरेन्द्रबाबु तिवारी, प्रभात अर्याल, प्राडा कुसुमाकर न्यौपाने दरखास्त परेको थियो।
कार्यकारी निर्देशकको लागि मान्यता प्राप्त विश्वविद्यालयबाट स्नातकोत्तर तह उत्र्तीण गरेको र कम्तिमा १० वर्षको अनुभव भएको वा स्नातक तहपछि १५ वर्षको अनुभव भएको हुनुपर्ने प्रावधान राखिएको थियो।
छनोट समितिले दुईजनाको आवेदन योग्यता नपुगेको भन्दै रद्द गरेको थियो भने बाँकी १२ मध्ये ६ जनालाई अर्को सूचीमा समावेश गरी उनीहरुसँग व्यावसायिक कार्ययोजना मागेको थियो। त्यसबाट तीनजनालाई समितिले सिफारिस गरेको हो।
गण्डकी प्रदेशका लागि आवश्यक प्राविधिक तथा व्यावसायिक तालिम प्राप्त जनशक्ति उत्पादन गर्ने योजनासहित ऐन बनाएर २०७७ सालमा प्राविधिक तालिम केन्द्र तथा व्यावसायिक तालिम प्रतिष्ठान खोलिएको थियो।
गण्डकीका संस्थापक मुख्मयन्त्री पृथ्वीसुब्बा गुरुङले २०७८ वैशाखमा प्रतिष्ठानमा डा। सापकोटालाई नियुक्त गरेका थिए। उनको कार्यकाल सकिएपछि त्यो पद खाली थियो।
हालै प्रतिष्ठानको संरचना निर्माण गर्न कोरिया अन्तर्राष्ट्रिय सहयोग नियोग (कोइका) ले आर्थिक सहयोग गरेको छ। कोइकाले स्याङ्जाको फेदीखोला गाउँपालिका वडा नम्बर १ गुर्धुममा प्रतिष्ठानलाई प्राप्त भएको १ सय ६० रोपनी जग्गामा संरचना र प्राविधिक शिक्षाका आवश्यक पर्ने प्रयोगशालादेखि अन्य भौतिक निर्माण गर्नेछ।
Shares

प्रतिक्रिया