गण्डकी


सूर्यदर्शन सहकारी ठगी प्रकरण : एमालेकी पूर्वप्रदेश सभा सदस्य मीना गुरुङ पक्राउ

सूर्यदर्शन सहकारी ठगी प्रकरण : एमालेकी पूर्वप्रदेश सभा सदस्य मीना गुरुङ पक्राउ

नेपालखबर
पुस ९, २०८१ मंगलबार २०:३३, पोखरा

सूर्यदर्शन सहकारी ठगी काण्डमा पूर्वउपाध्यक्ष मीना गुरुङ पक्राउ परेकी छन्। उनलाई मंगलबार कास्की प्रहरीले घरबाटै पक्राउ गरेको हो।

कास्की प्रहरीले गरेको अनुसन्धानपछि गएको शुक्रबार र आइतबार गरी जिल्ला अदालत कास्कीमा पेश गरिएको अभियोजनपत्रमा मीनालाई पनि फरारको सूचीमा राखेर अभियोजन दर्ता गरिएको थियो।

उनलाई जिल्ला प्रहरी कार्यालयको हिरासतमा राखिएको र अदालत खुल्नासाथ अदालत पेश गरिने कास्की प्रहरी प्रमुख प्रहरी उपरीक्षक श्यामबाबु ओलियाले जानकारी दिए।

सूर्यदर्शन सहकारी ठगीमा संस्था र व्यक्ति गरेर ६३ जनाविरुद्ध अभियोजन दर्ता भएको छ।

मीना पूर्वप्रदेशसभा सांसद पनि हुन्। अघिल्लो गण्डकी प्रदेशसभामा मीना एमालेको तर्फबाट समानुपातिक सांसद बनेकी थिइन्।

नेटवर्किङ धन्दा चलाउने क्रममा पोखरा आएका गितेन्द्रबाबु राईकै योजनामा २०६६ सालतिर पोखरामा सूर्यदर्शन सहकारी खोल्ने योजना बनेको थियो। पोखराका चर्चित र पैसावाल मान्छेलाई सहकारीमा ल्याउने उनको योजना अनुसार नै मीनालाई पहिलो संचालक समितिको उपाध्यक्ष बनाइएको थियो।

सो समितिमा ज्ञानबहादुर बम्जन अध्यक्ष थिए। सूर्यध्वज न्यौपाने सचिव र आरती गुरुङ कोषाध्यक्ष बनाइएको थियो। २०६८ सालमा नयाँ कार्यसमिति बन्दा भने जीबी नै सहकारीको अध्यक्ष बने। मीनाले सहकारी छाडिन्। कोषाध्यक्षमा आरती दोहोरिइन्। मीनाको ठाउँमा देवकुमार नेपालीलाई उपाध्यक्ष बनाइयो। सचिवमा सुरेशचन्द्र पहारी ल्याइयो।  

छविको बयान सकियो, रविको शुक्रबार
सहकारी ठगी प्रकरणमा पक्राउ परेका पूर्वडीआइजी तथा गोर्खा मिडियाका पूर्वसंचालक छविलाल जोशीको बयान सकिएको छ। कास्की जिल्ला अदालतका न्यायाधीश नितिज राईको इजलासमा सोमबार र मंगलबार उनको बयान गराइएको हो।

न्यायाधीश राईले अभियोजन पत्रमा भएका विषयसँग सम्बन्धित प्रश्नहरु नै गरेका जोशीका वकिल जगन्नाथ ढकालको भनाइ छ। उनका अनुसार न्यायाधीशबाट दुई दिन गरी जम्मा २३ वटा प्रश्न सोधिएका थिए भने जोशीले सबै प्रश्नको जवाफ दिएका छन्।

‘मुल आरोपसँग जोडिएका क्रस क्वेसन गर्नुभएको छ। उहाँले सबै प्रश्नको उत्तर दिनुभयो। श्रीमानसमक्ष आफूमाथि लगाइएका आरोपहरु झुटो भएको बताउनुभयो,’उनले भने।

जोशीमाथि जिल्ला सरकारी वकिलको कार्यालयमार्फत् सूर्यदर्शन सहकारी ठगी, संगठित अपराध र सम्पत्ती शुद्धीकरण मुद्दा दायर गरिएको छ। जोशीको बयान सकिएपछि मंगलबार नै अर्का प्रतिवादी लिला पछाइसँग बयान लिने काम भएको अदालतले जनाएको छ। लीलाले गोर्खा मिडियाका अध्यक्ष गितेन्द्रबाबु राई (जीबी) सँग मिलेर सहकारीको रकम हिनामिना गरेको, सोही रकम विदेश पठाएको अभियोग छ।

लीलाको बयान सकिएपछि राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति एवम् पूर्वगृहमन्त्री रवि लामिछानेको बयान लिने तयारीमा अदालत छ। बुधवार सार्वजनिक बिदा परेकाले अदालत बन्द हुने र विहीबारबाट मात्रै रविको बयान लिइने पनि अदालतका सूचना अधिकारी सुरज अधिकारीले जानकारी दिए।

लामिछाने, जोशी, नेचर हर्ब्सका रामबहादुर खनाल, लीला पछाइँ र सूर्यदर्शन सहकारीका सञ्चालक कृष्ण गुरुङविरुद्ध आइतबारमात्रै मुद्दा  दायर गरिएको र सोमबारदेखि अदालतले बयान लिन थालिएको थियो। उनीहरूसँग बयान लिएपछि थुनछेकको बहस हुनेछ। बहस सकिएपछि अदालतले पुर्पक्षका लागि थुनामा राख्ने, धरौटी माग्ने वा सामान्य तारिखमा छाड्ने भन्ने विकल्पमध्ये एउटा आदेश गर्नेछ।

बयानका लागि मंगलबार छवि, लीलासहित राष्ट्रिय स्वतन्त्र पार्टीका सभापतिसमेत रहेका गोर्खा मिडियाका पूर्वप्रबन्ध निर्देशक रवि लामिछाने, जीवीका साझेदर नेचर हर्ब्सका सञ्चालक रामबहादुर खनाललाई अदालतमा उपस्थित गराइएको थियो। तीमध्ये बिरामी रहेका सञ्चालक कृष्ण गुरुङलाई भने अदालत लगिएको थिएन। 

जिल्ला सरकारी वकिलको कार्यालले शुक्रबार जीवीसहित १९ जनाविरुद्ध थप अभियोजन दर्ता गराएको थियो भने आइतबार ८ कम्पनी, ३१ जना व्यक्ति, ८ संस्था र ५ जनाको सम्पत्ति जफतको माग सहित अभियोजन दर्ता गरिएको थियो।

सूर्यदर्शन सहकारी ठगीमा संस्था र व्यक्ति गरेर ६३ जनाविरुद्ध अभियोजन दर्ता भएको छ। उनीहरुबाट करिब १ अर्ब ५१ करोड रुपैयाँ बिगो मागदावी गरिएको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad