गण्डकी


राज्यले परिचय दिन मानेन सुरजलाई, तर ‘भाइरल’ फोटोले चिनायो

राज्यले परिचय दिन मानेन सुरजलाई, तर ‘भाइरल’ फोटोले चिनायो

वाशुदेव मिश्र
साउन २५, २०८० बिहिबार १९:४५, पोखरा

 भारतीय पिता र नेपाली आमाका जेठा सन्तान सुरज हजारे दाहालसँग ‘नेपाली परिचय’ छैन। अर्थात् उनी नागरिकताबाट बञ्चित छन्। प्रयास नगरेर हैन, राज्य अनुदार हुँदा उनी ३३ वर्षदेखि ‘अनागरिक’ बनेका हुन्। 

सुरजकी आमा मैया दाहाल दोलखा चरिकोटकी हुन्। वंशजको आधारमा नेपाली नागरिकता भएकी उनी भारतीय नागरिक नितिन हजारेको प्रेममा परिन्। दोलखा घुम्न आएका नितिनसँग बिहेवारी भयो। सो दम्पतीले पोखरालाई कर्मथलो बनायो। सन्तान जन्मे। 

बढ्दै र पढ्दै जाँदा उनीहरुलाई नागरिकता चाहियो। तर, पिता भारतीय भएको कारण देखाउँदै सुरजलाई नागरिकता दिइएन। उता, मुम्बइका नितिनसँग भारतीय नागरिकता पनि थिएन। 

सुरजले १७ वर्षको हुँदा नै नागरिकताको लागि प्रयास गरे। तर, २०४७ सालको संविधानले विदेशी पिता र नेपाली माताबाट जन्मेको सन्तानलाई नागरिता दिने व्यवस्था गरेको थिएन। सुरजले नागरिकता पाएनन्। 

२०७२ सालको संविधानले चाहिँ आमाको नामबाट पनि सन्तानले नागरिकता पाउने प्रावधान राख्यो। आमाको नामबाट नागरिकता पाउनको लागि उनले वडादेखि जिल्ला प्रशासनसम्म चहारे। नेपालको संविधानको धारा १२ मा यो संविधान बमोजिम वंशजको आधारमा नेपालको नागरिकता प्राप्त गर्ने व्यक्तिले निजको आमा वा बाबुको नामबाट लैंगिक पहिचानसहितको नेपालको नागरिकताको प्रमाण पत्र पाउन सक्नेछ’ भन्ने व्यवस्था गरिएको छ। 

तर, सुरजलाई त्यस्तो नागरिकता दिइएन। उनले अंगीकृत नागरिकता प्राप्तिको बाटो खोजे। नेपाल नागरिकता ऐन, २०६३ को दफा ५ ले ‘विदेशी नागरिकसँग विवाह गरेकी नेपाली नागरिक महिलाबाट जन्मिएका छोराछोरी (निजको नेपालमा जन्म भई नेपालमा स्थायी बसोबास गरेको र बाबुको नागरिकताको आधारमा निजले विदेशी मुलुकको नागरिकता लिएको रहेनछ भने)’ निजलाई नेपाली नागरिकता दिन सकिने व्यवस्था गरेको छ। 

तर, यो प्रक्रिया झन्झटिलो भएको र आफूले अहिलेसम्म नागरिकता नपाएको सुरजको गुनासो छ। नेपाली नागरिकले विदेशीसँग विवाह भई जन्माएका सन्तानको नागरिकता प्राप्तिको लागि नेपालमा जन्म भई स्थायी बसोबास गरेको व्यहोरा खुल्ने सम्बन्धित पालिकाको सिफारिस तथा आमाको नागरिकता र बाबुको  नागरिकताको आधारमा कुनै विदेशी मुलुकको नागरिकता नलिएको निस्साका साथ प्रमुख जिल्ला अधिकारीसमक्ष निवेदन दिनुपर्छ। 

प्रमुख जिल्ला अधिकारीले निवेदनमा संलग्न प्रमाणहरू तथा सम्बन्धित स्थानीय निकायका प्रतिनिधिसँग आवश्यक जाँचबुझ गरी आफ्नो रायसहित गृह मन्त्रालय पठाउने प्रावधान पनि त्यसमा राखिएको छ। जिल्ला प्रशासनले पठाएको पत्रलाई गृहले छानबिन गर्छ र सही ठहरिए नागरिकता प्राप्त गर्ने व्यक्तिलाई नेपाली नागरिक बनाउन शपथ गराउँछ र बल्ल नागरिता प्रदान गर्छ। 

सुरजले अंंगीकृत नागरिकताको लागि गृह मन्त्रालयमै निवेदन दिएका छन्। 

‘म नेपालमै जन्मेको हो, मेरी आमा नेपाली हुन्, बुबाको १३ वर्षअगाडि निधन भयो, म नेपालमै छु तर म अनागरिक भएँ,’ उनले भने, ‘नागरिकता प्राप्तिको लागि गृह मन्त्रालयलाई निवेदन दिए पनि त्यहाँ हामीलाई छिर्न दिइँदैन।’

सुरज नेपाली नागरिकले पाउने सेवा–सुविधाबाट बञ्चित छन्। उनका भाइ र बहिनीहरुको व्यथा पनि उस्तै छ। उनको व्यथाबारे संसदमा पनि कुरा उठ्यो। सांसद कलिला खातुनले संसदमा यो विषय उठान गरेकी थिइन्। तर, सुरज अहिले पनि अनागरिक हुनुको व्यथा बोकेर पोखराको सडक नाप्छन्। 

राज्यले परिचय नदिए र के भो त? पोखरामा उनले शिक्षकसँगै फोटो पत्रकारको परिचय बनाएका छन्। उनी फुर्सदमा फोटो खिच्छन्। उनको फोटो पोखराबाट प्रकाशित हुने आदर्शसमाज दैनिकका प्रकाशन हुन्छ। 

चर्चामा उनकै फोटो 
भर्खरै पोखराको न्युरोडमा सडक बत्ती र सिमेन्टको डिभाइडर राखिएको छ। २०३१ सालमा तत्कालीन अञ्चलाधीश शंकरराज पाठकको अगुवाइ र इञ्जिनियर पदमबहादुर क्षेत्रीको योजनामा बनेको न्युरोड १८ मिटर चाक्लो न्युरोडको डिभाइडरमा फूल र वृक्षहरु रोपिएका छन्। बत्ती भने बलेको छैन। 

यता, ‘ग्रिन पोखरा, क्लिन पोखरा’ भन्ने नारासहित त्यहाँ रहेको बुटिक चौतारामा मेयर धनराज आचार्यले पनि साउन १९ गते बिरुवा रोपेका थिए। पोखरा ९ का वडाध्यक्ष दीपेन्द्र मर्सानीले बुटिक चौताराको वृक्षरोपणको लागि स्थानीयको ३ र वडाको ७ लाख खर्च भएको जानकारी गराएका थिए।

१० लाख खर्चेर तामझामका साथ वृक्षरोपण त गरियो तर बारबेर गरिएन। अनि त के थियो? छाडा चौपायाले बिरुवाहरु खान थालिहकाले। सुरज साउन २२ गते लेकसाइडबाट महेन्द्रपुलतिर जाँदै थिए। पोखराको सभागृह चोकबाट न्युरोडतिर लाग्नासाथ उनलाई एउटा दृश्यले तान्यो। एउटा माउ गाई र बाच्छोले डिभाइडरमा रोपिएको फूल र बिरुवा खाँदै थिए। उनले हत्तपत्त स्कुटर साइड लगाए। क्यामेरा थिएन, मोबाइलबाटै सिंगो न्युरोडको दृश्य समेटिने गरी माउ चाहिँले विरुवा खाँदै गरेको फोटो खिचे। 

‘मलाई गाई र न्युरोडको दुवैको दृश्य देखाउनु त थियो नै, विरुवा रोपिएको तर संरक्षण नभएको सन्देश पनि दिनु थियो,’ उनले भने, ‘मैले जे गर्नुपर्ने थियो, त्यो काम गरेँ, फोटो आदर्श समाज दैनिकको अनलाइन संस्करणमा छापियो।’

फोटो सार्वजनिक भएसँगै प्रतिक्रियाहरु आउन थाले। धेरैले सो फोटो राखेर महानगर, मेयर र वडाध्यक्षमाथि प्रश्न उठाए। महानगरले बिरुवा रोपेको तर संरक्षणको पहल नगरेको, दुई साइडमा फेन्सिङ बार नलगाएर कमजोरी गरेकोजस्ता आरोप लगाए। यसै त पोखराको सडकको फोहोर नउठेको बेला, त्यसमाथि संरक्षणमा देखिएको लापर्वाही, मेयर र वडाध्यक्षलाई लक्षित गरी टिप्पणीहरु बर्सिन थाले। तस्बिर ‘भाइरल’ बन्यो। तस्बिर भाइरल बनेसँगै वडा नम्बर ८ का वडाध्यक्ष दीपेन्द्र मर्सानी प्रतिरक्षामा उत्रिए। उनले आफ्नो फेसबुकमा त्यही फोटो राख्दै लेखे, ‘खाएको टुलुटुलु हेर्ने कि लखेट्न जाने?’

उनको त्यो प्रतिक्रियामा सयभन्दा बढी कमेन्ट आएका छन्। तस्बिरमा एकातिर मात्र तारजाली लगाइएको र गाईले खुलातिरबाट बिरुवा खाएको प्रष्ट देखिन्छ। बालीको सुरक्षाको लागि बार बार्नुपर्छ। बार नबारेपछि पशुले त खाने नै भयो। त्यसैले त्यहाँ वडाध्यक्ष मर्सानीको समर्थनभन्दा आलोचना बढी भएको छ। केहीले छाडा पशु नियन्त्रण गर्न सुझाएका छन्। धेरैले भने लापर्वाही र गाई धपाउने काम फोटो पत्रकारको नभएको भन्दै आलोचना गरेका छन्।

वडाध्यक्षले नबुझेको सत्य 
फोटो पत्रकारको काम गाई धपाउने हैन। आफ्नो कमजोरी छोप्न उनी प्रतिकारमा उत्रेको प्रष्ट देखिन्छ उसको काम फोटो खिच्ने नै हो। सन् १९९३ मा दक्षिण अफ्रिकी फोटो पत्रकार केभिन कार्टरले खिचेको विश्वप्रसिद्ध तर विवादित फोटो नै उदाहरणको लागि काफी छ। खानाको खोजीमा भौँतारिरहेकी बालिका र बालिकालाई नै सिकार बनाउन खोज्ने गिद्धको सो फोटोले विश्व हल्लायो। पुलित्जर प्राप्त तस्बिरले सुडानको समस्यालाई विश्वव्यापी बनाउँदा फोटो पत्रकारको पनि आलोचना चाहिँ भयो। तर, त्यो बेला पनि पत्रकारको पहिलो काम फोटो खिच्नु नै हो भन्ने मत बलियो बन्यो। भलै, केभिनले आलोचनाकै बीच मृत्यु रोजेकै किन नहुन्! 

भियतनाम युद्ध अर्थात् सन् १९७२ मा आगोले पोलेको पीडामा नाङ्गै र चिच्याउँदै भागिरहेकी किम फुक फान्टीको फोटोबारे पनि त्यस्तै टिप्पणी गरिएको थियो। त्यो फोटो निक युट नामक पत्रकारले खिचेका थिए। उनले पनि यो विवादित फोटोबाट पुलित्जर पुरस्कार जिते। 
फान्टी बाँचिन्, युद्धको तस्बिरले संसारको ध्यान तान्यो। पत्रकारले उपचारमा सघाउनुपर्ने र बालिकाको नग्न फोटो छाप्न हुने कि नहुने भन्ने विवाद त्यो बेला पनि उठेको थियो। 

अग्रज फोटो पत्रकार सुदर्शन रञ्जितका अनुसार विपत्तिको बेला फोटो खिच्ने कि मानवता प्रदर्शन गर्ने भन्ने प्रश्नको पक्ष र विपक्षमा बहस कायमै छ। तर, रञ्जितको विचारमा पत्रकारको पहिलो काम सत्य–तथ्य बाहिर ल्याउनु नै हो। 

‘पोखराको सन्दर्भमा पनि त्यही हो, यो फोटो विवादित पनि छैन। पत्रकारले फोटो खिचेपछि फूल रोपिएको र बार नलगाइएको तथ्य बाहिर आयो, छाडा चौपायाको समस्या पनि उजागर भयो,’ उनले भने, ‘त्यसैले पत्रकारको कामलाई सकारात्मक तरिकाले नै लिनुपर्छ, किन फोटो खिचिस् र गाई किन धपाइनस् भन्ने प्रश्न व्यर्थ छ।’ 

भाइरल फोटो खिचेका सुरजको मत पनि उस्तै छ। उनी भन्छन्, ‘मैले त फोटो खिचेँ। विभिन्न टिकाटिप्पणी भएको थाहा पाएँ, गाई थपाउने हाम्रो काम हैन, सम्बन्धित निकायले गर्ने काम हो।’ 

सामाजिक सञ्जालमा आएको कमेन्ट पढ्दा बिरुवा रोपिएको क्षेत्रमा फेन्सिङ र छाडा चौपाया नियन्त्रण दुवै हुनुपर्ने महसुस गरेको उनले बताए। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .