गण्डकी


२८ तोला सुनको बिस्कुटसहित पोखरा बसपार्कबाट महिला पक्राउ

काठमाडौंका एक व्यक्तिले रकम दिएर सुन पोखरा लैजान भनेको बयान
२८ तोला सुनको बिस्कुटसहित पोखरा बसपार्कबाट महिला पक्राउ

पोखरामा बरामद सुन र पक्राउ परेकी महिला


वाशुदेव मिश्र
साउन २५, २०८० बिहिबार १०:५०, पाेखरा

कास्की प्रहरीले आज (बिहीबार) बिहान एक महिलाले  भित्री वस्त्र (ब्रा) भित्र लुकाएको २८० ग्राम २९ मिलिग्रामको सुनको बिस्कुट र औंठी बरामद गरेको छ।

बैदाम प्रहरी प्रमुख डीएसपी वेदप्रकश जोशीका अनुसार काठमाडौंबाट पोखरा आएको ग १ ख ९९४४ नम्बरको बसमा यात्रारत काठमाडौं जोरपाटी बस्ने ४५ वर्षीया कल्पना गुरुङबाट सो सुन बरामद गरेको हो।

विशेष सूचनाका आधारमा पोखरा बसपार्क पुगेर बसबाट झर्नासाथ ती महिलाको शरीर खानतलासी गर्दा ‘सुनजस्तो देखिने’ धातु भेटिएको उनले बताए। 

 डीएपी जोशीका अनुसार महिलाले प्रारम्भिक बयानका क्रममा काठमाडौंको एक व्यक्तिले निश्चित रकम दिएर सुन पोखरा लैजान भनेको र सोहीअनुसार आफू सुन बोकेर पोखरा आएको बताएकी छन्।

‘पोखरा पुगेपछि एउटा फोन आउँछ, उसैलाई सुन दिनू भनेका थिए,’ती महिलालाई उधृत गर्दै डीएसपी जोशीले भने,‘हामीले फोन कुर्‍यौंँ तर ती महिलाको मोबाइलमा फोनचाहिँ आएको छैन। अब हामी यो धातु राजश्व अनुसन्धान विभागलाई सुम्पन्छौँ।’

महिलाबाट बरामद सुन पोखराको कुनै सुनचाँदी व्यवसायीका लागि कसैले पठाएको र यो उपक्रम लामो समयदेखि चलिरहेको हुनसक्ने प्रहरी स्रोतको भनाइ छ। पोखरामा सुनको माग अत्यधिक छ। तर, नेपाल राष्ट्र बैंकले दैनिक १० किलोग्राम सुनमात्र बजार पठाउँछ। त्यसको थोरै मात्रा मात्र पोखरा आइपुग्छ।

त्यसैले पोखराका व्यवसायीहरुले एक तोला अर्थात् १० ग्राममै ६ हजार रुपैयाँभन्दा बढी मूल्य तिरेर सुन किन्ने गरेको व्यवसायीहरु अनौपचारिक कुराकानीमा बताउँछन्। ‘अहिले भने हामीले तोलामा ३ हजार रुपैयाँ मात्र बढी तिरेर सुन किनिरहेका छौं,’ ती व्यवसायीले अनौपचारिक कुराकानीमा भनेका छन्,‘बजार एक क्विन्टल सुनको चर्चा छ, बाहिरी बजारमा धेरै सुन भएर नै यो अवस्था आएको हुनुपर्छ।’

प्रहरीले यसअघि पनि बसयात्रीबाट पटकपटक सुन बरामद गरेको छ।  तीजलगायतका चाडबाडमा सुनको माग अत्यधिक हुन्छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .