ad ad

गण्डकी


वीरेन्द्रको वंशनाशसँगै वैभव गुमाएको रत्नमन्दिर, जसले महेन्द्र र बीपीको मित्रता पनि सम्झाउँछ

वीरेन्द्रको वंशनाशसँगै वैभव गुमाएको रत्नमन्दिर, जसले महेन्द्र र बीपीको मित्रता पनि सम्झाउँछ

रत्नमन्दिर


वाशुदेव मिश्र
जेठ १९, २०८० शुक्रबार १५:२४, पाेखरा

जनताबाट प्रत्यक्ष निर्वाचित पहिलो प्रधानामन्त्री बीपी कोइरालालाई एकदिन तत्कालीन राजा महेन्द्रले पोखरामा रहेको रत्नमन्दिरमा पाहुना हुन निम्तो दिएछन्। 

राजाले बीपीलाई भनेछन्, ‘मेरो एउटा सानो घर बनेको छ, बंगलो छ- फेवाताल किनारामा। त्यहाँ तपाईं जानुपर्‍यो, मसँगै बस्नुपर्छ अलि दिन मेरो पाहुना भएर।’ 

‘मलाई पनि सरकारसँग बस्न मन लागेको छ’, बीपीको उत्तर थियो। 

‘तर उहाँ (बीपीकी धर्मपत्नी सुशीला) लाई पनि लिएर आउनुहोला नि’ भनेर राजा पहिल्यै रत्नमन्दिर गएछन्। 

तर, बीपी एक्लै पोखरा आइपुगे। पोखरा एयरपोर्टमा राजाका मिलिटरी सेक्रेटरी बीपीलाई लिन आएका थिए रे। बीपीका अनुसार बंगलाको पोर्टिकोमा पुग्दा राजा त्यहाँ उभिइरहेका थिए। रानी पनि सँगै थिइन्, उभिइरहेकी। 

‘खोइ त सुशीलाजी आउनुभएनछ! हामीलाई थाहा थियो’, भनेर रानीले गुनासो गरिछन्। 

बीपीले भनेछन्,‘छोरी बिरामी परी ऊ आउन सकिन।’

रत्न मन्दिर

बीपीले आत्मवृत्तान्तमा लेखेका छन्,‘ल तपाईंको कोठा देखाऊँ’ भनेर रानीले मलाई कोठा देखाइन्।  सारा कुरा गरिन्। त्यसपछि अब खाना लगाउने कुरा भयो। त्यस बखतमा राजाको परिवार र सुरेन्द्रबहादुर शाहको भाइ थिए, जो रुजु लगाएर स्वास्नीमान्छेजस्तो अनुहार लगाएर हिँड्थे। ती पनि थिए। एक/दुईजना राजाका नातेदारहरू पनि थिए। मामाहरू, त्यहाँ मेरो विचार पुर्‍याएका राजारानीले। खाने बेलामा राजाले भने,‘यो बडामहारानीले बनाएको हो तपाईंको लागि स्पेसल। यो त तपाईंले लिनुभएन!’ त्यसपछि म पनि रानीले काम गरिरहेको बेलामा भान्छामा फुत्त पसिदिन्थेँ। ‘यो स्वास्नीमान्छेको ठाउँमा किन आएको नि’ भन्थिन् रानी। 

ऊ पिर्कामा बसीकन एउटा मध्यम वर्गकी स्वास्नीमान्छेले –खास्टो–त्यो पनि धेरै महँगो हैन–ओढीकन तरकारी काट्ने, तरकारी केलाउने गरेको मैले देखेको छु। मैले रानी रत्नलाई त्यस्तो काम गरेको देखेको छु। म बडो, अत्यन्त प्रभावित भएको छु। तिनी कुनै टस्सावाल होइनन्। अनि,‘तपाईंलाई कस्तो कुरो मीठो लाग्छ, तपाईं भनुहुन्न’ भनेर भन्थिन्। मैले भनेँ,‘सरकारबाट जे बक्सिन्छ,त्यो सबै मीठो लाग्छ नि।’त्यसरी उनीहरूले मलाई सम्मान दिए, सम्मानमात्र हैन, स्नेह पनि दिए। त्यो एक किसिमले आदर पनि माया पनि दिए।’

रत्नमन्दिरमा बीपीले ५–६ दिन बिताएका थिए। त्यहाँ उनीप्रति व्यक्तिगत व्यवहार नै भएको थियो रे!  

उनले अगाडि लेखेका छन्, ‘म त्यहाँ ६/७ दिन बसेँ। माथि छतमा बसेको बेला मैले भनेँ, ‘सरकार ! सरकारले संगीतको ट्रेनिङ पनि लिएको छ, एकदिन गाना पनि सुन्न मन लागेको छ। होइन, त्यो मेरो केही होइन, मेरो त बडो ल... हिँडुनुहोस् माथि भनेर राजाले भने। माथि दुईवटा कोठाहरू थिए। एउटा कोठामा संगीतका सामानहरू थिए। हार्मोनियम, तबला र अरु के–के। अर्को कोठामा के थियो कुन्नि? उनले महारानीलाई बोलाएर भने कि ‘अलिकति ड्रिङ्सहरू राखिदेऊ र तिमीहरू अहिले जाऊ।’ बडामहारानीले ड्रिङ्सहरू राखिदिइन्।

बाहिर छतमा पनि बस्ने इन्तजाम थियो तर हामी कोठैमा बस्यौँ। अनि राजाले भने, ‘मेरो त बडो एक्लो जीवन थियो। हामीहरू दुईजनामात्र बस्यौँ त्यस कोठामा। राजाले मलाई लाग्दछ- धेरै घनिष्ठ भएर कुरा गरे। उनले भने,‘मेरो बाल्यकाल त एक्लो बितेको हो। मेरो कोही मित्र थिएन। कसैसँग मेरो मित्रता भएन। नोकर/चाकरहरूको बीचमा म हुर्किएँ। बुबुले मलाई हुर्काइन्। दरबारमा गाउने मानिसहरू आउँथे। तिनीहरूबाट मैले अलिकति गाउन सिक्ने कोसिस गरेँ।

मैले सोधेँ, ‘होइन, सरकारको बारेमा सुन्दछु, पढ्नमा खुब अभिरुचि छ। यो मैले किन सोधेँ भने नारायण बाँस्कोटा भन्ने मान्छे थिए, तिनी धेरै किताबहरू पनि राख्दथे। उनी प्रगति भन्ने मासिक पत्रिका निकाल्थे। योग्य र विद्वान् मान्छे थिए। तिनी कामुहरूका र अरु पनि धेरै गम्भीर आधुनिक किताबहरू मगाउँथे। म उनीसँग किताबहरू लिएर पढ्थेँ। उनी कहिलेकाहिँ भन्थे,‘त्यो किताब चाहियो, राजालाई पढ्न।’ म भन्थेँ,‘राजाले यो कामु बुझ्छन् र?  म प्रधानमन्त्री हुनुभन्दा अघिका ती कुराहरू थिए। मैले त्यसो भन्दा,‘होइन, बुझ्छन्, बडो अभिरुचि लिन्छन्’ भनेका थिए उनले। त्यही कुरा मैले राजालाई भनेँ। उनले भने,‘अहँ मैले कामु पढेको छैन, शास्त्र पढेको छैन। र, अलिकति मैले हिन्दीका सामान्य किताबहरू हेरेको छु। त्यसो हुनाले, मैले पढ्ने मौका कहाँ पाएँ र?’ 

बीपीलाई राजाको कुरा बडो इमान्दारजस्तो लाग्यो रे।  

आत्मवृत्तान्तमा बीपी लेख्छन्, ‘अनि उनले संगीत सुनाए आफ्नो। गाए, हार्मोनियम लिएर अलिकति गाए।’  

तर, गीत त्यति प्रभावकारी लागेन रे बीपीलाई।

बीपीले भनेका छन्,‘उनको गलाले त्यति धेरै रियाज गरेजस्तो लागेन।’ 

‘छोडेको धेरै भयो, अहिले तपाईंले आग्रह गरेको हुनाले धेरैपछि गरेको’, राजाको भनाइ उधृत गर्दै बीपीले लेखेका छन्। 

उनी अगाडि लेख्छन्, ‘मैले राजालाई भनेँ- ‘यत्रो एउटा सुगमता रहेछ सरकारलाई आत्माभिव्यक्तिको माध्यमबाट। यो त सरकारले कविता पनि लेखिबक्सिन्छ। यसलाई पनि सरकारले अघि बढाइबक्सिनुपर्‍यो।’ 

‘त्यो गरुँजस्तो लाग्छ’,राजाले भने।

‘कुनै शिक्षक राखीकन यसलाई विकसित गर्नुपर्‍यो। सरकारलाई अभिरुचि छ। मलाई त उति छैन। संगीत मलाई मनपर्छ तर म बुझ्दिनँ।’

त्यसपछि राजाले बीपीलाई भनेका थिए रे,‘मेरो निजी पाहुना तपाईंमात्र हो, मेरो कोही निजी पाहुना भएनन्, अरु सबै सरकारी पाहुना भए।’

अहिले मुलुकमा राजतन्त्र छैन। त्यसैले तत्कालीन राजा महेन्द्रले हिउँदे दरबारका रुपमा निर्माण गरेको रत्नमन्दिरमा हिजोआज राजाहरू आउँदैनन्। २०५९ जेठ १५ गते भएको दरबार हत्याकाण्डपछि सुनसान बनेको रत्नमन्दिरको ढोका पहिलोपटक सर्वसाधारणका लागि खुला गरिएको छ।

महेन्द्र यो संसारमा छैनन्। रानी रत्न नारायणहिटीकै एउटा कुनामा एकान्त जीवन बिताउँदै छिन्। अक्सर रत्नमन्दिर आइरहने राजा वीरेन्द्रको वंशनाश भइसकेको छ। उनको अवसानपछि राजा बनेका ज्ञानेन्द्रले श्रीपेचमात्र गुमाएनन्, देशबाट राजतन्त्र नै बिदा भयो।

संयोग कस्तो भने जुन दिन नारायणहिटीमा वीरेन्द्रको वंशनाश भएको थियो, त्यस दिन ज्ञानेन्द्र रत्नमन्दिरमै थिए। दरबार हत्याकाण्डको जानकारी पाएलगत्तै उनी पोखराबाट गाडीमै काठमाडौं लागेका थिए। वीरेन्द्रको वंशनाशपछि रत्नमन्दिरले वैभव गुमायो। दरबारको हरियो रंगको ढोका बन्द भयो। वीरेन्द्र रत्नमन्दिरमा रहँदा यहाँका कवि–कलाकार, गन्यमान्यलाई निम्तो दिन्थे। सांगीतिक माहोल गर्माउँथ्यो। तर, ती सब कुरा अहिले विगत बनेका छन्। रत्नमन्दिर अहिले त्यो इतिहास सम्झाउने ठाउँ बनेको छ। नेपाल ट्रस्टको स्वामित्वमा आएको रत्नमन्दिर परिसर खुला गरिए पनि दरबारको चोटाकोठामा अझै प्रवेश निषेध छ।

दरबारका कोठामा के–के छन् भनेर सर्वसाधारणले तत्काल जानकारी पाउने अवस्था छैन। 

बीपीले आत्मवृत्तान्तमा रत्नमन्दिरको वर्णन गर्दै भनेका छन्,‘बंगला टाइपको घर छ, कटेज टाइपको। त्यसमा फर्निसिङ पनि कटेजजस्तो हुन्छ ,त्यस्तै किसिमको थियो। दक्षिण भारतबाट  बेतको पलङ, कुर्सी र ड्रेसिङ टेबुलहरू सारा आएको थियो। त्यस किसिमको सादा। तर, जति आवश्यकता हुनसक्छ एउटा पाहुनालाई, त्यो सबै कुरा थियो, आफ्नो निजी छनोटबाट। रानीले सबै ठीक गरेर राखेको थियो।’

नेपाल ट्रस्ट्रका कर्मचारीहरूका अनुसार तीनतले रत्नमन्दिरमा ११ कोठा छन्। भुइँतलामा अतिथि कक्ष, भोजनालय, राजाका सुरक्षा अधिकृत (एडीसी) बस्ने कोठा र आराम कक्ष छन्। दोस्रो तलामा पाँचवटा कोठा छन्। कोठाबाहिरको मुख्य हलमा बैठक कक्ष छ। जसमा राजपरिवारका सदस्यमात्र बैठक बस्ने गर्थे। राजपरिवारले क्यारेमबोर्ड, चेस, तास आदि खेल्ने कोठा पनि सोही तलामा छ। त्यो बेलाका खेल सामग्री सुरक्षित छन्। दोस्रो तलामा युवराजको शयन कक्षसहित तीनवटा पाहुना कोठा छन्। राजपरिवारका निकटस्थ नातेदार र आफन्तका लागि ती कोठा प्रयोग गरिन्थे। बीपी पनि सायद त्यही कोठामा पाहुनाका रुपमा बसेका थिए। दरबारको पछाडिपट्टि भान्छा, कर्मचारी र सुसारेका लागि बनाइएका ससाना कोठा छन्। सुरक्षाका लागि नेपाली सेनाको छुट्टै भवन छ। 

सबैभन्दा माथिल्लो तलामा राजारानीका शयनकक्ष र पूजा कोठा छन्। बाहिरपट्टि आरामकक्ष र दृश्यावलोकनका लागि कौसी छ। दरबारभित्र राजाहरूले प्रयोग गर्ने सामग्री अहिले पनि सुरक्षित छन्। माथिल्लो कोठामा रहेका संगीतका सामानदेखि टेलिभिजनहरू पनि छन्।

२०१३ सालमा रत्नमन्दिर बनाउन थालिएको थियो। प्रसिद्ध कवि भूपी शेरचनका पिता अनङ्गमान शेरचनले भवन बनाउने ठेक्का पाएका थिए। २०१५ सालमा भवन निर्माण सम्पन्न भएको थियो। काठ र ढुंगाबाट बनेको यो दरबारमा नेपाली सीप नै प्रयोग गरिएको छ। 

लामो समय रत्नमन्दिरको कर्मचारी रहेकी ८३ वर्षीया प्रतापकुमारी अधिकारीका अनुसार राजाका पालामा दरबार परिसरको बगैँचा निकै मनमोहक थियो। 

‘यो इतिहास हो। यहाँ त्यो बेला राजाको सवारी हुँदा गेटबाट मान्छेको स्वागत लाइन हुन्थ्यो। गुनासा सुन्ने र विकासका कामका लागि भेटघाट यहीँ हुन्थ्यो,’ अधिकारीले भनिन्,‘हामीले काम गर्दा यहाँको बगैंचा नै फरक थियो। यहाँ काम गर्ने मालीहरूलाई काठमाडौंमा लगेर तालिम समेत दिनुहुन्थ्यो, राजाले। अहिले त यहाँ भएका सजावटको कटाइसमेत मिलेको छैन। त्यो बेला यहाँ प्रवेश गर्दा नै अर्कै हुन्थ्यो।’

प्रतापकुमारीजस्तै दरबारका सुसारे र कर्मचारीबाहेक त्यहाँका चोटाकोठाबारे अरुलाई जानकारी छैन।

गत सोमबार दरबार परिसर खुला गर्दै संस्कृति, पर्यटन तथा नागरिक उडड्यनमन्त्री सुदन किराँतीले रत्नमन्दिर अहिले हेर्दा सामान्य लागे पनि तत्कालीन समयमा यो आलिसान महलका रुपमा रहेको बताए। इतिहासको कालखण्डमा रत्नमन्दिरको विशेषता छुट्टै रहेकाले परिसर अवलोकन गर्दा समयसँग तुलना गर्न उनले अनुरोध गरे।

रत्नमन्दिर परिसर खुला गर्दै पर्यटनमन्त्री सुदन किराँती।

‘कतिपयले रत्नमन्दिर परिसर घुमेर हेर्दा साधारण रहेछ- हाम्रो रानीको दरबार भनेर पनि भन्नुहोला। कुनै पनि घटनालाई समयसँग तुलना गरेर हेर्नुपर्छ’, मन्त्री किराँतीले भने, ‘आजभन्दा ६०/७० वर्षअगाडि पोखरा कस्तो थियो होला? अर्थात् २०१३ देखि २०१५ सालमा नेपाली जनता कहाँ थिए, के गर्दै थिए र कसरी बाँचेका थिए होलान्? जनताको जीवनस्तर, हाम्रो देशको भौतिक विकास त्यो बेलाको र आजको तुलना गरेर हेर्दा राजारानी बस्ने ठाउँ धेरै नै राम्रो थियो।’

बीपीचाहिँ पाहुना बनेर २०१५/०१६ सालतिर रत्नमन्दिर छिरेका थिए। प्रधानमन्त्री छँदै। 

२१ रोपनी क्षेत्रफलमा रहेको रत्नमन्दिर परिसरभित्र अब सामान्य नागरिकले सय तथा विद्यार्थी र ज्येष्ठ नागरिकले ५० रुपैयाँ शुल्क तिरेर पस्न पाउँछन्। पोखरा महानगरपालिका मेयर धनराज आचार्यले २०७२ सालको भुइँचालोका कारण दरबार जीर्ण बनेकाले चोटाकोठा पनि खुला गर्न भने समय लाग्ने बताए। त्यहाँ रहेका ऐतिहासिक सामग्रीको सुरक्षालाई ध्यानमा राख्दै तत्काल पूर्ण रुपमा खुला नगरिएको जिकिर उनले गरे। 

यहाँका पर्यटन व्यवसायीहरूले भने सक्दो छिटो रत्नमन्दिरका सबै कोठाहरू खुला गरिनुपर्ने माग गरिहरेका छन्।

‘दरबार परिसर खुलेर कुनै अर्थ रहँदैन, दरबारका कोठाहरू खुला गरिनुपर्छ, पर्यटन व्यवसायी टीकाराम सापकोटाले भने, ‘मुख्य कुरा त दरबार आफैँ बोल्दैन। दरबारको ऐतिहासिकता, त्यहाँ भएका सामग्रीहरूको महत्त्व तथा हिजाका दिनलाई तथ्यगत रुपमा व्याख्या गर्नसक्ने ‘सिटी टुर गाइड’को तत्काल व्यवस्था हुनुपर्छ। दरबारबारे जानकारी दिएर पर्यटकको बसाइ लम्ब्याउन पनि रत्नमन्दिरको उपयोग गरिनुपर्छ।’ 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .