ad ad

गण्डकी


नेपाली नयाँ वर्षमा फेवा किनारमा महोत्सव

नेपाली नयाँ वर्षमा फेवा किनारमा महोत्सव

नेपालखबर
चैत २२, २०७९ बुधबार १९:३७, पोखरा

होटल संघ पोखरा नेपालको आयोजनामा पोखराको लेकसाइडमा यही चैत २९ गतेबाट सुरु हुने तीन दिने १८औँ फेवा नव वर्ष महोत्सको तयारी अन्तिम चरणमा पुगेको छ। 

नयाँ वर्षको अवसरमा पोखराको लेकसाइडस्थित फिस्टेल गेटदेखि हल्लन चोकसम्मको सडकमा यो महोत्सव हुन लागेको हो। उद्घाटनका दिन खहरे चोकबाट सांस्कृतिक झाँकी र ¥याली सुरु भइ अम्मटमा पुगेर उद्घाटन सभामा परिणत हुने संघका अध्यक्ष एवं महोत्सवका संयोजक लक्ष्मण सुवेदीले पत्रकार सम्मेलनमा जानकारी दिए। 

लाइभ संगीत, ख्यातिप्राप्त कलाकारको गायन प्रस्तुती, सांस्कृतिक झाँकी र खानाका परिकार महोत्सवमा रहने उनले बताए। महोत्सवलाई लक्षित गरी संघ अन्तर्गतका होटलहरुले प्रकाशित दररेटमा २० प्रतिशत छुट प्रदान गर्ने संघले जनाएको छ। 

थला परेको पर्यटन क्षेत्रलाई पुनरुत्थान गर्दै आन्तरिक र वाह्य पर्यटन प्रवद्र्धन गर्ने मुख्य उदेश्यका साथ पर्यटन, संस्कृति र खानालाई जोड दिएर महोत्सव हुन लागेको हो। 

नेपाली नयाँ वर्षलाई राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा समेत प्रचारप्रसार गरी हर्ष, उल्लासका साथ मनाउँदै गण्डकी प्रदेशको पर्यटन प्रवद्र्धन गर्ने उदेश्यले संचालन हुने महोत्सवले गण्डकी प्रदेशको जातीय भेषभुषा, रहनसहन, खानपान, सांस्कृतिक पक्षहरुको उजागर र प्राकृतिक सम्पदाहरुको प्रर्वद्धन गर्ने संघले जनाएको छ। 

पछिल्लो क्रममा पोखरामा भएको यति एयरलाइन्सको विमान दुर्घटना र पृथ्वीराजमार्गको अव्यवस्थित तथा सुस्त गतिको स्तरोन्नतिले यस क्षेत्रको पर्यटन आगमनदरमा प्रत्यक्ष मार परेको अध्यक्ष सुवेदीले जानकारी दिए। बाटो स्तरोन्नति हुनु राम्रो भए पनि काम सुस्त गतिमा हुँदा असर परेको उनको गुनासो छ। 

बैंक तथा वित्तीय संस्थाका तर्फबाट एकतर्फी रुपमा बढाइएको ब्याजदरका कारण होटल क्षेत्र अहिले उकुसमुुकुसको अवस्थाबाट गुज्रनु परेको संघले जनाएको छ। पर्यटन क्षेत्र समस्यामा परे पनि आफूहरु धैर्यताका साथ आसावादी भएर बसेको अध्यक्ष सुवेदीले सुनाए।

व्यवसायीले कोभिडअघि कमाएको पैसा र केही सुन तथा जग्गाको सहयोगमा बीचमा बैंकको ऋण तिरिए पनि अहिले बैंकको साँवा र व्याज तिर्न सक्ने अवस्थामा व्यवसायी नभएको उनले बताए।

नेपाल राष्ट्र बैंकले पुनर्कर्जा, पुनर्तालिकीकरण र राहतका कार्यक्रम ल्याउनुपर्ने माग उनले गरे। व्यवसायी बचाउने कार्यक्रम ल्याए मात्र पर्यटन बाँच्ने धारणा उनले राखे। नीति मार्फत् राष्ट्र बैंकले पर्यटनमा बैंक तथा वित्तीय संस्थाले १० देखि १५ प्रतिशत लगानी गर्नै पर्ने वाध्येकारी नीति ल्याउनु पर्ने सुझाव उनले दिए।

अर्कोतर्फ अहिलेको पर्यटकीय सिजनको ८० देखि ९० प्रतिशत वरपर अकुपेन्सी हुनुपर्ने त्यस्तो अकुपेन्सी २० देखि २५ प्रतिशत मात्र भएको सुवेदीले बताए। होटल टिक्न पनि ५० प्रतिशत अकुपेन्सी चाहिने उनले भनाइ छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .