ad ad

गण्डकी


फेवातालका डुंगा चालकको पनि मापसे जाँच

फेवातालका डुंगा चालकको पनि मापसे जाँच

नेपालखबर
चैत ५, २०७९ आइतबार १४:३८, पाेखरा

ट्राफिक प्रहरीले सडक र राजमार्गमा सवारी कुदाउने चालकहरूले मादक पदार्थ सेवन (मापसे) परीक्षण गर्ने काम अनौठौ हैन। तर, पोखरामा ट्राफिक प्रहरीले त्योभन्दा फरक गरेको छ। ट्राफिक प्रहरीले यहाँ फेवातालमा डुंगा चलाउने चालकहरुकै मापसे चेक थालेको छ। 

तालमा डुंगा चलाउनेहरुले मादक र लागुपदार्थ सेवन (लापसे) गरेको गुनासो बढ्न थालेपछि हल्लनचोकको डुंगाघाटमा पुगेर मापसे र लापसे परीक्षण गरेको हो। सामुदायिक प्रहरी सेवा केन्द्र बैदाम, जिल्ला ट्राफिक प्रहरी कार्यालय कास्की, वडा प्रहरी कार्यालय बैदाम र फेवा डुंगा व्यवसायी समितिको संयुक्त टोलीले शुक्रबार त्यहाँका करीब ५० जना चालकहरुको परीक्षण गरेको हो।

सामुदायिक सेवा केन्द्र बैदामका अध्यक्ष नेत्रलाल भण्डारीका अनुसार चेकजाँचको क्रममा मापसे र लापसे सेवन गरेका चालक भने भेटिएनन्। बरु, सवारी गुडाउँदा जस्तै चालकहरुले लापर्वाही भने गरेको भेटियो।

‘सुरक्षाको लागि डुंगा चालक र यात्रु दुवैले लाइफ ज्याकेट अनिवार्य रुपले लगाउनुपर्छ,’ उनले भने, ‘७० जना जतिलाई चेकजाँच गर्दा केही चालकले ज्याकेट लगाउने तर टाँक नलगाउने, तालको बीचमा गएपछि ज्याकेट नै फुकाल्ने गरेको पाइयो।’ 

नियम उल्लंघन गर्नेहरुलाई सम्झाइ–बुझाइ छाडिएको उनले बताए। उनले चालकहरुलाई मादक पदार्थ निषेध गरिएको र सेवन गरिएको पाइए प्रहरी एवं डुंगा व्यवसायी संघको समन्वयमा कारबाही गरिने पनि बताए। 

फेवा र बेगनास तालमा डुंगा दुर्घटना भइरहन्छन्। केही समयअघि भएको दुर्घटनामा एक महिलाको निधन भयो। फेवा डुंगा व्यवसायी समितिका अध्यक्ष बलराम गिरीका अनुसार पछिल्ला ९ वर्षमा भएका ८ वटा डुंगा दुर्घटनामा ९ जनाको ज्यान गएको छ।

केहीलाई उद्धार गरिएको छ। उनका अनुसार हावाहुरी चल्ने चैत–वैशाखको समयमा डुंगा दुर्घटनाको जोखिम बढी हुन्छ। दुर्घटनाबाट बँच्नको लागि चालक र यात्रु दुवैलाई लाइफ ज्याकेट अनिवार्य गरिए पनि लापर्वाही हुने गरेको उनले स्वीकारे। 

‘हाम्रै चालकहरुले मापसे गरेको गुनासो आयो, चालकलाई मापसे गर्न बन्देज छ, यात्रुको सुरक्षा हुनुपर्छ भन्नेमा हामी प्रष्ट छौँ,’ फेवा डुंगा व्यवसायी संघका अध्यक्ष गिरीले भने, ‘चालकले मात्र हैन, यात्रुले पनि डुंगा चढ्दा मापसे नगरेको राम्रो हुन्छ।’ 

उनका अनुसार फेवा डुंगा व्यवसायी समितिमा आवद्ध ७६७ वटा डुंगा चल्छन्। केही व्यक्ति र संस्थाले निजी डुंगा चलाउने गरेको पनि उनले बताए। 

सामुदायिक सेवा केन्द्रका अध्यक्ष भण्डारीले आउँदा दिनमा पनि डुंगा चालकहरुको चेकजाँच गरिने जानकारी गराए।

‘चालक जिम्मेवार हुनैपर्छ,’उनले भने,‘यात्रुको हकमा भने बन्देज लगाउन असजिलो हुँदो रहेछ, हाम्रो निगरानी सवारी चालकमाथि मात्रै हो। यात्रुलाई संयम हुन, डुंगाको छेउमा नबस्न, लाइफ ज्याकेट नफुकाल्न अनुरोध गर्नेसम्म रहेको छ।’ 

पर्यटकहरु रमाउनकै लागि घुम्न आउने धारणा राख्दै उनले थपे,‘जसरी बाटोमा मोटरसाइकल पछाडि बस्नेको हैन, चालकको चेकजाँच हुन्छ, हामीले गरेको पनि त्यस्तै हो।’

उनले अनुगमनको क्रममा यात्रुहरुले लाइफ ज्याकेटमात्र हैन, कपडा नै खोलेर टिकटक बनाउने, पौडन खोज्ने गरेको देखिएको पनि बताए। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .