हङकङ नेपाली महासंघले पायो सरकारी भवन, क्लव हाउस कहिले?

हङकङ नेपाली महासंघले पायो सरकारी भवन, क्लव हाउस कहिले?

नेपालखबर
भदौ ११, २०७७ बिहिबार ४:२२,

हङकङ नेपाली महासंघले याउमातेइमा सरकारी भवन निशुल्क पाएको छ। कोरोना महामारी नियन्त्रणमा आएपछि हङकङका गृहमन्त्रीबाट उद्घाटन गराएर आफ्नै भवनमा सर्ने तयारी महासंघले गरेको छ।

नेपालीको घना बसोबास रहेको याउमातेइस्थित नाथन रोडमा रहेको नाथन बिल्डिङको १५ तलामा करिब सात सय स्क्वायर फिटको हल हङकङ सरकारले महासंघलाई निशुल्क उपलब्ध गराएको हो।

महासंघका एक जना सल्लाहकार कुलप्रसाद गुरुङले यो भवन पाएसँगै अब घर भाडा तिर्नु नपर्ने र नेपाली समुदायका गतिविधि सञ्चालन गर्न सहज हुने बताए।

‘हङकङ सरकारले उपलब्ध गराएको यो भवन करिब सात सय स्क्वायर फिट होला, जहाँ ४०–५० जना भेला भएर कार्यक्रम गर्न मिल्छ’, गुरुङले भने, ‘अहिले रेनोभेसनको काम सकिएको छ, कोरोनो अलि नियन्त्रणमा आएपछि उद्घाटन गर्न गृहमन्त्री नै आउने कुरा छ।’

हङकङ नेपाली महासंघ हङकङका नेपाली संघ संस्थाहरूको छाता संगठन हो, जसमा अहिले ३२ वटा संस्था आवद्ध रहेका छन्।

महासंघमा अहिले टंक राना अध्यक्ष रहेका छन्। यसअघि प्रदिप थापा, हेजेन राई, हेम लिम्बू, रिता गुरुङले महासंघको नेतृत्व गरेका थिए।

महासंघले तीन वर्षदेखि नेपाली समुदाय केन्द्रित हङकङको गृह मामिला मन्त्रालयको दश लाख डलरको परियोजना सञ्चालन गरिरहेको छ।

HKnepali house3

हङकङमा सरकारी भवन पाउने महासंघ दोस्रो नेपाली संस्था हो, यसअघि याउमातेइमै हङकङ एकीकृत नेपाली समाज– हिन्सले सरकारी भवन पाएको थियो। तर यी दुवै भवनको क्षेत्रफल ४०–५० जनाभन्दा ठूलो समूहमा कार्यक्रम गर्न सक्ने क्षमताको छैन।

हङकङमा भारतीय, पाकिस्तानी लगायत अल्पसंख्यक समुदायका आफ्नै क्लव हाउस छन्, जहाँ ठूला ठूला सामुदायिक कार्यक्रम गर्न सहज छ। तर नेपाली समुदायसँग आफ्नो क्लव हाउस नहुँदा सामुदायिक गतिविधि सञ्चालन गर्न कि भाडा तिरेर भवन लिनु पर्ने, नत्र डाँडा वा समुद्री किनारका सार्वजनिक स्थलमा जानु पर्ने बाध्यता छ।

हङकङको सरकार समर्थक पार्टीमा आवद्ध भएर सरकारसम्म राम्रो पहुँच बनाएपनि नेपाली समुदायका अगुवाहरूले नेपाली क्लव हाउस निर्माण गर्न जग्गाका लागि एकीकृत पहल गर्न सकेका छैनन्।

 

प्रतिक्रिया

Danfe Global Hong Kong Pvt. Ltd.

Ground Floor 9, Keybond Commercial Building,
No. 38 Ferry Street, Kowloon, Hong Kong

[email protected]
[email protected]

Hong Kong Team

Correspondent
Purna Gurung (Macau)

Radio Correspondent
Santosh Tamang
HK News Coordinator
Magendra Rai

Editor in Chief
Purna Basnet
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed by Curves n' Colors. Powered by .