ad ad

कला


डा.सन्दुक रूइतको जीवनी आउँदै

डा.सन्दुक रूइतको जीवनी आउँदै

नेपालखबर
असोज १, २०७६ बुधबार ८:१,

विश्वविख्यात आँखा सर्जन डा. सन्दुक रूइतको जीवनी ‘सन्दुक रूइत’ असोज ११ गते सार्वजनिक हुने भएको छ। अस्ट्रेलियन पत्रकार अली ग्रिपरले लेखेको पुस्तक लेखक खगेन्द्र सङ्ग्रौलाले नेपालीमा अनुवाद गरेका हुन्।

म्यागासेसे, पद्मभूषणजस्ता प्रतिष्ठित पुरस्कार पाएका डा. रुइतले  भने, ‘अङ्ग्रेजीमा लेखिएको मेरो जीवनीको नेपाली अनुवाद आउँदै गर्दा म एकदम हर्षित भएको छ। मेरो पुस्तकले कसैलाई परोपकार वा सत्कर्मको बाटोमा लाग्न प्रेरित गर्यो भने मेरो जीवनी सार्थक भयो भन्ने म ठान्नेछु।’

पुस्तक अनुवादक खगेन्द्र सङ्ग्रौला भन्छन्, ‘सन्दुक रूइतको जीवन जिज्ञासा र अन्वेषण, सङ्घर्ष र सङ्कल्प, साहस र सेवाभाव, करूणा र परोपकार तथा त्याग र समर्पणले ओतप्रोत एवम् सादा जीवन, उच्च विचारको आदर्शले शोभित सानदार जीवन हो। रूइतको नागबेली जीवनयात्रा बहुआयामिक विशिष्टतायुक्त, प्रेरणादायी एवम् अनुकरणीय छ । यस्ता उत्कृष्ट मानिसको भव्य जीवन कथा अनुवाद गर्दाका क्षण मेरो जीवनका सुखद र सार्थक क्षणहरु हुन्।’

प्रकाशक फाइन प्रिन्टका प्रमुख कार्यकारी अधिकृत निरज भारी भन्छन्, ‘विनयशीलता र परोकारका प्रतीक डा. रूइतको जीवनी प्रकाशन गर्न पाउनु हाम्रा लागि ठूलो सौभाग्य हो। यो हामीले उनलाई गर्न सक्ने सम्मान पनि हो। मलाई लाग्छ, जोन उडको 'माइक्रोसफ्टदेखि बाहुँनडाँडासम्म'ले जस्तै यो पुस्तकले पनि वैभव र विलासको जीवन त्यागेर संसारलाई असल बनाउने उदात्त कर्ममा लाग्न हामीलाई प्रेरित गर्छ।’

उक्त पुस्तक अस्ट्रेलियन प्रकाशन गृह एलेन एन्ड अनविनले पहिलो पटक अङ्ग्रेजीमा प्रकाशन गरेको हो। उक्त प्रकाशन गृहसँग अनुवाद अधिकार लिएर फाइनप्रिन्टले नेपालीमा छापेको हो।

डा. रूइतको जीवनी लाखौं मानिसलाई आँखाको ज्योति प्रदान गर्ने एक नेत्र चिकित्सकको प्रेरणादायी कथा हो। संसारका चिकित्सकीय संस्थापन पक्षसँग निरन्तर जुध्दै सबैभन्दा गरिब र असहाय मानिसलाई नेत्रज्योति उपहार दिएर तिनको जीवनलाई अँध्यारोबाट उज्यालोतिर मोडिदिने अद्भूत डा. रूइतको जीवन्त कथा पुस्तकमा उल्लेख छ।

विभेदकारी जातप्रथाको सबैभन्दा तल्लो तहमा दुर्गम हिमाली गाउँमा जन्मिएर कठिन प्रयत्न एवम् अथक सङ्घर्षका अनेक घुम्ती पार गर्दै संसारकै सबैभन्दा आदरणीयमध्ये एक बनेका नेत्रविशेषज्ञको जीवनवृत्तको रोमाञ्चक गाथा सम्मोहनयुक्त रुपमा लेखिएको छ । 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .